close

ह्वाट्सएपमा आयो ‘एडभान्स्ड च्याट प्राइभेसी’ फिचर, च्याट लिक नहुने दाबी

टेकपाना टेकपाना

बैशाख ११, २०८२ १२:४६

ह्वाट्सएपमा आयो ‘एडभान्स्ड च्याट प्राइभेसी’ फिचर, च्याट लिक नहुने दाबी

काठमाडौँ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि ‘एडभान्स्ड च्याट प्राइभेसी’ सार्वजनिक गरेको छ । यस फिचरमार्फत व्यक्तिगत तथा ग्रुप च्याटमा गोपनीयता थप बलियो बनाउने कम्पनीले लक्ष्य राखेको छ । 

ह्वाट्सएपले सुरक्षाका लागि मेसेज र कलहरूलाई इन्ड-टु-इन्ड इन्क्रिप्सन विधि प्रयोग गर्दै आएको छ । त्यसकै आधारमा कम्पनीले ‘डिसएपियरिङ मेसेज’, ‘च्याट लक’ जस्ता गोपनीयताका अन्य तह थपेको छ ।

पछिल्लो फिचर ‘एडभान्स्ड च्याट प्राइभेसी’ सक्रिय गरेपछि प्रयोगकर्ताले अरूलाई च्याट एक्सपोर्ट गर्न, मिडिया अटो-डाउनलोड गर्न वा च्याटमा प्रयोग भएका मेसेजहरूलाई एआई फिचरमा प्रयोग गर्न रोक लगाउन सक्नेछन् ।

ह्वाट्सएपले भनेको छ- “यो फिचरले प्रयोगकर्तालाई च्याटमा भएका कुराकानी बाहिर जाँदैन भनेर थप विश्वास दिलाउँछ ।”

यो फिचर विशेषगरी त्यस्ता व्यक्तिका लागि उपयोगी छ, जहाँ च्याट ग्रुपका सहभागीहरू एक-अर्कामा नचिने पनि संवेदनशील विषयमा छलफल गर्छन् । यसले एप प्रयोगकर्तालाई आफ्नो च्याट बाहिर जाने डर बिना कुरा राख्न सहज बनाउने कम्पनीको विश्वास छ ।

नेपालमा पनि यो फिचर चाँडै उपलब्ध हुने अनुमान छ ।

‘एडभान्स च्याट प्राइभेसी’ फिचर इनेबल गर्न प्रयोगकर्ताले सम्बन्धित च्याट खोलेर च्याट नेममा ट्याप गर्नुपर्नेछ । त्यसपछि ‘एडभान्स च्याट प्राइभेसी’ अप्सनमा ट्याप गरेर फिचर अन गर्न सकिन्छ ।

ह्वाट्सएपले यो फिचरको अहिलेको संस्करण सुरुवाती चरण भएको र भविष्यमा थप सुरक्षा सुविधा थप्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १३:१५