close

बालेनको घरमा बम भेटियो भन्दै भ्रामक भिडिओ भाइरल

शिव बस्नेत शिव बस्नेत

बैशाख २४, २०८२ १९:२५

बालेनको घरमा बम भेटियो भन्दै भ्रामक भिडिओ भाइरल

काठमाडौँ । हालै फेसबुकलगायत सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै एउटा भिडिओ तीव्र रूपमा फैलिरहेको छ । भिडिओमा सुरक्षाकर्मीहरूले एक व्यक्तिलाई हत्कडी लगाएर लगिरहेको देखिन्छ भने भिडिओमा आवाज दिने व्यक्तिले बम भेटिएको र बम राख्ने व्यक्ति पक्राउ परेको बताएका छन् । भिडिओको क्याप्सनमा बालेनको घरमा बम भेटिएको दाबी गरिएको छ । तर, टेकपाना फ्याक्टचेकले यो भिडिओ पूर्ण रूपमा गलत र बालेनको निवाससँग कुनै पनि रूपले सम्बन्धित नरहेको पत्ता लगाएको छ ।

दाबी

२०८२ वैशाख २३ गते बिहान १०:४४ बजे ‘मेरो देश नेपाल’ नामक फेसबुक पेजले सनसनी क्याप्सनका साथ भिडिओ पोस्ट गर्‍यो- “बालेन को घरमा बम भेटिएको छ” । ५८ सेकेन्डको उक्त भिडिओमा आवाज दिने व्यक्ति आत्तिएको शैलीमा बोल्छन्, “दर्शकवृन्द यहाँ चिच्याइरहेको अवस्था छ,पक्रिएको छ दर्शकवृन्द बम राख्नेलाई... यहाँ एउटा बम भेटिएको थियो । यहाँ तपाईंले देखिरहनु भएको छ—(यसैबिच एक महिला बोल्छिन्- उल्लाई ठोक्नुस्, यसलाई ठोक्नुस् ।) दर्शकवृन्द प्रहरीले यहाँ बम राख्ने व्यक्तिलाई भेटेर हत्कडी लगाएर ल्याएको छ । दर्शकवृन्द यहाँ बिहानदेखि बम भेटिसकेपछि एक किसिमको कोला.. हानाहान भनिरहेछन्, (ब्याकग्राउन्डमा ठोक् ठोक् भनेको सुनिन्छ) …(भिडिओमा एक व्यक्ति देखिन्छन् र भन्छन्- ‘मेरो घर पनि यही हो । म ठ्याक्कै बिहान आउने क्रममा मेरो छिमेकी सुनपसलको दाइले मलाई आएर देखाउनुभयो, चिठ्ठी देखाउनुभयो ...चिठ्ठीमा के लेखिएको थियो भने खोटाङ हलेसी सुनपसलका व्यवसायी उहाँले तपाईंलाई पाँच लाख रुपैयाँ बेलुकासम्म जसरी भए पनि दिनुहोला भनेर लेखेको रहेछ।”

भिडिओमा प्रहरीले एक व्यक्तिलाई हत्कडी लगाएर लगिरहेको दृश्य देखिन्छ । घटनास्थलमा मानिसहरूको चिच्याहट र भिडभाड पनि सुन्न सकिन्छ । भिडिओमा बम भेटिएको र बिहानैदेखि हल्लीखल्ली मच्चिएको दाबी गरिएको छ । भिडिओअनुसार त्यहीँ नजिकै रहेका खोटाङ हलेसीका एक सुन पसलका व्यवसायीलाई कसैले पाँच लाख रुपैयाँ बेलुकासम्म दिनुहोला भन्दै धम्कीपूर्ण चिठी दिएको बुझ्न सकिन्छ । यसबाहेक ‘मेरो देश नेपाल’ नामक फेसबुक पेज​ले राखेको भिडिओमा घटनाको स्पष्ट विवरण दिने अन्य कुनै ठोस आधार देखिँदैन । तर, भिडिओको क्याप्सनमा उत्तेजक रूपमा ‘बालेनको घरमा बम भेटिएको छ..घरमा बसेका घरबेटी डराउँदै मिडियामा’ भनेर लेखिएको छ ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ पोस्टमा ८१५ रियाक्सन, ६४ कमेन्ट, दुई लाख २६ हजार बढी भ्युज आएको छ भने ५६० शेयर भएको छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले सामाजिक सञ्जालमा भाइरल भएको यो दाबीको सत्यता पत्ता लगाउन अनुसन्धान थाल्यो । सबैभन्दा पहिले भिडिओ कसरी फैलिरहेको छ भन्ने बुझ्न कहाँकहाँ शेयर भइरहेको छ भन्ने खोज्यौं । यसका लागि सम्भावित कीवर्डहरू ‘बालेन बम’, ‘बालेनको घरमा बम’, ‘बालेन शाहको घरमा बम’, ‘बालेनको घरमा बम’ लगायत राखी अंग्रेजी र नेपाली दुवै तरिकाबाट फेसबुक र गुगलमा सर्च गर्यौं । 

यसअन्तर्गत सबैभन्दा पहिले ६.६ हजार फलोअर भएको ‘मेरो देश नेपाल’ नामक फेसबुक पेजले “बालेन को घरमा बम भेटिएको छ” भन्दै  वैशाख २३ गते बिहान १०:४४ बजे उक्त भिडिओ राखेको पाइयो । 

सोही दिन दिउँसो २६ हजार फलोअर ‘निरन्तर यात्रा क्रान्तिको’ नामको फेसबुक आईडीबाट ‘बालेन बसेको घरमा बम फेला पर्‍यो भन्ने कुरा आछ त !’ भन्दै ‘मेरो देश नेपाल’ पेजले अपलोड गरेकै भिडिओ राख्यो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ११ सय रियाक्सन, ९५ कमेन्ट, ८७ हजार भ्युज र २९७ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

त्यस्तै ७६ हजार फलोअर भएको ‘Ganesh Urmila Bohara’ नामको फेसबुक पेजबाट ‘बालेनको घरमा बम भेटियो 😥😭 Balen’ भन्दै सोही भिडिओ शेयर भएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१० रियाक्सन, ९ कमेन्ट र ५३ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क ।  

भिडिओ पोस्टमा कमेन्ट गर्ने अधिकांश प्रयोगकर्ताले पनि बालेनको घरमा बम भेटिएको दाबीलाई पत्याउँदै आफ्ना कुरा लेखेका छन् । 

‘Ganesh Urmila Bohara’​, ‘निरन्तर यात्रा क्रान्तिको’,  ‘मेरो देश नेपाल’ नामका फेसबुक पेजले एउटै भिडिओ पोस्ट गरेको पाइयो । सबै भिडिओ एउटै भएको र त्यसमा तल दायाँपट्टि ‘विज्ञापनका लागि जीवन पाण्डे’ भन्दै फोन नम्बर राखिएको थियो । भिडिओ भेरिफिकेसनका अन्य फ्याक्टचेक टुल प्रयोग गर्नुपूर्व उक्त नम्बरमा कल गर्ने निधोसहित जीवन पाण्डेलाई फोन गर्दा उनले आजभन्दा करिब दुई वर्ष पहिलेको अर्कै प्रसङ्गको भिडिओ अपलोड गरेको जानकारी दिए । साथै उनले उक्त भिडिओको ओरिजिनल लिङ्क पनि उपलब्ध गराए ।

अनुसन्धान गर्ने क्रममा हामीले यो भिडिओ २०७९ साउन ४ गते (Jul 19, 2023) मा ‘देश दुनियाँ खबर’ नामक युट्युब च्यानलमा ‘बोम राखेको घरका घरबेटी डराउदै मिडियामा। भन्छन झन्डै घर उड्यो। Kathmandu Sinamangal Bomb News’ शीर्षकमा ८ मिनेट ४ सेकेन्डको भिडिओ अपलोड भएको पायौं । अहिले भाइरल भइरहेको भिडिओ त्यही पुरानो भिडिओको सुरुवाती ५८ सेकेन्डको अंश रहेको पत्ता लाग्यो । जसलाई अहिले गलत र सनसनीपूर्ण क्याप्सन दिएर फैलाइएको छ । हेर्नुहोस् उक्त भिडिओकाे सुरुवाती ५८ सेकेन्डको भिडिओ ।

दाबी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटियो ।

दाबीकर्ता

‘मेरो देश नेपाल’, ‘निरन्तर यात्रा क्रान्तिको’, ‘Ganesh Urmila Bohara’ लगायतका फेसबुक पेज

तथ्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै अहिले प्रचार भइरहेको भिडिओ करिब दुई वर्ष पुरानो हो । साथै, यो भिडिओ कुनै पनि रूपमा बालेनसँग सम्बन्धित छैन । 

निष्कर्ष

‘मेरो देश नेपाल’, ‘निरन्तर यात्रा क्रान्तिको’, ‘Ganesh Urmila Bohara’ लगायतका फेसबुक पेजले मङ्गलबार (वैशाख २३) देखि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै भाइरल गराइरहेको भिडिओ गलत र भ्रामक हो । बालेनको घरमा बम भेटिएको दाबी गर्दै पोस्ट भएको भिडिओ २०७९ साउन ४ गते (Jul 19, 2023) मा ‘देश दुनियाँ खबर’ नामक युट्युब च्यानलमा ‘बोम राखेको घरका घरबेटी डराउदै मिडियामा। भन्छन झन्डै घर उड्यो’ शीर्षकको भिडिओको सुरुवाती ५८ सेकेन्डको अंश हो । यसर्थ सामाजिक सञ्जाल प्रयोगकर्तालाई भ्रम छर्ने नियतले पुरानो र असम्बन्धित भिडिओको क्लिप काटेर अहिले भाइरल गराइएको हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ २०:५२