close

‘गृह मन्त्रालयको कर्मचारी हुँ’ भन्दै फोन गरेर प्रहरीलाई थर्काएको आरोपमा एक पुरुष पक्राउ

टेकपाना टेकपाना

जेठ २२, २०८२ १८:३८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । आफू गृह मन्त्रालयको कर्मचारी भएको भन्दै प्रहरी र गृह मन्त्रालयका कर्मचारीलाई फोन गरेर थर्काएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पाल्पा नैनादेवी गाउँपालिकाका ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय टेकुले बिहीबार काठमाडौँ नक्सालबाट पक्राउ गरेको हो । 

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ परेका रायमाझीले पछिल्लो दुई हप्ताभन्दा बढी समयदेखि गृह मन्त्रालयका कर्मचारी र विभिन्न प्रहरी कार्यालयमा टेलिफोन सम्पर्क गरेर थर्काउने गर्थे ।

“उनले ‘यो काम किन भएन?’, ‘यस्तो काम गर्नुपर्‍यो’ भन्दै विभिन्न प्रहरी कार्यालय र गृह मन्त्रालयकै कर्मचारीलाई पनि थर्काउने रहेछन् । गृह मन्त्रालयबाट नै पत्रादेश भएपछि अनुसन्धान थालेर पक्राउ गरेका हौँ ।”

पक्राउ परेका रायमाझी कुनै निश्चित पेसामा संलग्न नरहेको पाइएको उनले बताए । उनले भने, “कहिलेकाहीँ सिंहदरबार छिरेर गृह मन्त्रालय आसपास पनि पुग्ने गरेका रहेछन् । उनको मानसिक स्थिति पनि ठीक नभएको हुनसक्छ । त्यसरी झुटा परिचय बनाएर धम्की दिँदा कस्तो परिणाम हुन्छ थाहा नभई फोन गरेको हुनुपर्छ,” उनले भने । 

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १८:५३