close

गुगल फोटोजमा नयाँ फिचरः अब स्क्रिनशट, स्क्यान गरेका कागजात तथा रसिद ट्याक्कै फेला पार्न सकिने

टेकपाना टेकपाना

जेठ २२, २०८२ १९:५८

गुगल फोटोजमा नयाँ फिचरः अब स्क्रिनशट, स्क्यान गरेका कागजात तथा रसिद ट्याक्कै फेला पार्न सकिने

काठमाडौँ । गुगल फोटोजले आफ्ना प्रयोगकर्ताका लागि फोटो ग्यालरीमा सर्च गर्ने प्रक्रियालाई अझ सहज र सटीक बनाउने एउटा महत्त्वपूर्ण अपडेट रोलआउट सुरु गरेको छ । प्रयोगकर्तालाई तस्बिरभित्र रहेका निश्चित शब्दको आधारमा खोज्न मिल्ने सुविधाको रूपमा यो नयाँ फिचर ल्याइएको हो । 

अपडेटमार्फत गुगल फोटोजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तस्बिरमा भएको टेक्स्ट पहिचान गर्ने क्षमतामा अझ सुधार गरेको छ । अब प्रयोगकर्ताले कुनै निश्चित शब्द खोज्नका लागि त्यसलाई कोटेसन मार्क अर्थात् उद्धरण चिन्ह (" ") भित्र राखेर सर्च गर्न सक्नेछन् । उदाहरणका लागि, यदि तपाईँले "passport" भनेर उद्धरण चिन्ह भित्र राखेर खोज्नुभयो भने गुगल फोटोजले तपाईँलाई तस्बिरमा स्पष्ट रूपमा "passport" शब्द देखिएका फोटोहरू मात्र देखाउनेछ ।

यो परिवर्तन विशेष गरी स्क्रिनशट, स्क्यान गरिएका कागजातहरू, रसिदहरू वा अन्य कुनै पनि टेक्स्ट भएका तस्बिरहरू राख्ने व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी हुनेछ । त्यसो त यसअघि पनि गुगल फोटोजले सामान्य किवर्डहरूबाट तस्विरमा रहेका टेक्स्ट पत्ता लगाउन सक्थ्यो । तर सर्चमा देखिने रिजल्टहरूमा प्रायः असम्बन्धित फोटोहरू पनि देखिने गर्थे । अब उद्धरण चिन्हको प्रयोगले रिजल्टलाई स्पेसिफिक तथा फोकस्ड बनाउनेछ । जसले स्क्रोलिङमा बिताउनु पर्ने घण्टौँको समय बचाउन मद्‍दत गर्नेछ । यसले विशिष्ट किसिमका फोटोहरू पत्ता लगाउन धेरै छिटो र सटीक बनाउनेछ ।

सानो सुधार जस्तो लागे पनि यो फिचर गुगलले गत महिना गुगल फोटोजको दसौँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेका महत्त्वपूर्ण अपग्रेडहरू मध्ये एक हो । यस अपडेटले प्रयोगकर्ताहरूलाई आफ्ना फोटोहरू झन् सजिलैसँग फेला पार्न र व्यवस्थित गर्न मद्दत गर्नेछ । 

यद्यपि, यो फिचर पूर्ण रूपमा त्रुटि रहित भने छैन । गुगलका अनुसार, यो फिचरले तस्बिरमा भएको टेक्स्ट स्पष्ट रूपमा चिन्न सकेको अवस्थामा सबैभन्दा राम्रो काम गर्छ । यदि शब्द पढ्न गाह्रो छ, कुनै विशेष किसिमको फन्टमा लेखिएको छ, वा आंशिक रूपमा अस्पष्ट छ भने सर्चले त्यसलाई पत्ता लगाउन नसक्ने सम्भावना हुन्छ । साथै, यसले सबै भाषाहरूमा समान किसिमले सटीकताका साथ टेक्स्ट पहिचान गर्न सक्दैन ।

गुगल सपोर्टका अनुसार यो फिचर क्रमशः रोलआउट भइरहेको छ र सबै प्रयोगकर्ताका लागि तत्कालै उपलब्ध नहुन सक्छ । यदि तपाईँको अकाउन्टमा यो अपडेट आइसकेको छैन भने गुगलले चाँडै उपलब्ध हुने बताएको छ । एक पटक यो सुविधा उपलब्ध भएपछि, तपाईँले उद्धरण चिन्हभित्र कुनै विशिष्ट शब्द टाइप गरेर यो फिचरको उपयोगिता परीक्षण गर्न सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १९:५८