काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषणको अवस्था तत्कालै बुझ्न सकिने ड्यासबोर्ड सार्वजनिक गरेको छ । ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ नाम दिइएको उक्त प्रणाली बिहीबार विश्व वातावरण दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
ड्यासबोर्डमार्फत काठमाडौँ महानगर क्षेत्रका १८ स्थानमा जडान गरिएका सेन्सर उपकरणबाट प्राप्त पीएम २.५ र वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) का विवरण वास्तविक समयमा हेर्न सकिने बताइएको छ ।
महानगरको वेबसाइटमा रहेको ‘वायु गुणस्तर निगरानी’ (kathmandu.gov.np/kmc-air-quality-monitoring) आइकनमा क्लिक गरेपछि ड्यासबोर्डमा पुग्न सकिन्छ । यसमा स्थानको नाम, सूचकांक, नक्सा र स्वास्थ्यका लागि चेतावनी दिने रङ्ग संकेत समावेश छन् ।
हरियो रङ्ग राम्रो, पहेँलो मध्यम, सुन्तला संवेदनशील वर्गका लागि सचेत रहनुपर्ने, रातो सबैका लागि अस्वस्थ्य, बैजनी गम्भीर असर र गाढा खैरो अत्यधिक जोखिमपूर्ण अवस्थाको सूचक हो ।
वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार प्रणालीले नागरिकलाई वायु प्रदूषणको अवस्था हेरेर जीवनशैली अनुकूल बनाउने सन्देश दिन्छ ।
स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले यस ड्यासबोर्डबाट प्राप्त तथ्याङ्कले सहरी स्वास्थ्य नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास राखे ।
छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा लगायत स्थानमा जडान गरिएका क्ल्यारिटी नोड–एस नामका सेन्सरहरू सौर्य ऊर्जाबाट सञ्चालनमा छन् । यी सेन्सरले पीएम २.५ को स्तर मापन गर्छन् ।
महानगरको ‘हेल्दी सिटी नेटवर्क’ परियोजनाअन्तर्गत ल्याइएको यो प्रणालीले जनचेतनामूलक सामग्री, सूचकांक बुझ्न सहयोग गर्ने जानकारी, सावधानी अपनाउने सन्देश, सवारी प्रदूषण चेकजाँचको विवरण तथा विगत सात दिनको तथ्यांकसमेत देखाउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पीएम २.५ कणहरू फोक्सो र रक्तप्रवाहमा प्रवेश गरी दीर्घरोग उत्पन्न गर्न सक्छन् । यसैले, महानगरले वायुको गुणस्तर मापनमार्फत नागरिक स्वास्थ्य जोगाउने प्रयासलाई सशक्त बनाएको जनाएको छ ।