काठमाडौँ । ओपनएआईको च्याटबट च्याटजीपीटीमा समस्या देखिएको छ । मङ्गलबार दिउँसोदेखि च्याटबट नचल्दा सेवामा समस्या देखिएको हो । जसका कारण केही प्रयोगकर्ताले ढिलो प्रतिक्रिया पाएको र पूर्ण अवरुद्ध स्थितिको सामना गर्नुपरेको बताइरहेका छन् ।
केही प्रयोगकर्ताले च्याटबटबाट "Hmm…something seems to have gone wrong" भन्ने त्रुटि हुन पुगेको मेसेज पाइरहेका छन् । जब कि अरूलाई च्याटबट लोड हुन समस्या भइरहेको छ ।
डाउनडिटेक्टर लगायतका प्लेटफर्महरूले यो समस्या नेपाली समय अनुसार दिउँसो करिब १२ः४५ बजेदेखि सुरु भएको र विश्वभरका धेरै क्षेत्रका प्रयोगकर्ता प्रभावित भएको देखाएको छ ।
ओपनएआईले पनि सोही समयदेखि "elevated error rates and latency" अनुभव भइरहेको जनाएको छ । यी समस्याहरूले च्याटजीपीटी मात्र नभई ओपनएआईको भिडिओ तयार पार्ने टुल सोरा र एपीआई सेवामा समेत असर गरिरहेको छ ।
ओपनएआईले यस समस्याबारे अझै अनुसन्धान भइरहेको बताएको छ । सेवा अवरुद्ध हुनुको कारण के हो वा कहिले नियमित सेवा सञ्चालनमा आउँछ भन्ने बारेमा अझै स्पष्ट छैन ।