काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्र शाहले हम्मर र बेल्चा चलाएको फोटो भाइरल भइरहेको छ । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गर्ने क्रममा हृदयन्द्रले बेल्चा चलाएर शिलान्यास गरेका थिए । त्यही फोटोलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
त्यही क्रममा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले हृदयन्द्रलाई समर्थन गरेको भन्ने पोस्ट आइरहेको छ । टिकटकमा ‘Balen881’ युजनरनेम भएको नक्कली अकाउन्टबाट पोस्ट राख्दै बालेनले हृदयन्द्र र राजतन्त्रलाई समर्थन गरेको देखाइएको छ । टेकपाना फ्याक्टचेकले भने उक्त पोस्ट मिथ्या रहेको पुष्टि गरेको छ । बालेनले हृदयन्द्रको फोटोसहित राजतन्त्रलाई समर्थन वा विरोध गर्ने कुनै पनि पोस्ट गरेका छैनन् ।
दाबी
टिकटकमा ‘Balen881’ युजरनेम र ‘हार्ट अफ बालेन’ (heart of balen) नाम भएको अकाउन्टले सोमबार एउटा स्क्रिनशट राख्यो । स्क्रिनशटमा बालेनले आधिकारिक फेसबुक पेजबाट हृदयन्द्रले बेल्चा समाएको फोटो पोस्ट गरेको जस्तो देखाइएको छ । त्यसको माथि स्टाटस राखिएको छ ।
त्यसमा लेखिएको छ, “सामन्ती भनिएको परिवारमा हुर्किएका हृदयेन्द्र शाहले बेल्चा लगाउँदा तिनका निन्द्रा हराम भएछ । हरे कस्तो दिन आयो सामन्तीको छोराको हातमा बेल्चा, क्रान्तिकारीका छोराको हातमा सुनका बिस्कुट । हृदयेन्द्रको शालीनता, मौनता र माटोप्रतिको नम्रता हेर्दा लाग्यो, शासक होइन संस्कारी नेतृत्वको खाँचो छ देशलाई ।”
त्यही पोस्टको क्याप्सनमा लेखिएको छ, “सामन्ती भनिएको परिवारमा हुर्किएका हृदयेन्द्र शाहले बेल्चा लगाउँदा तिनका निन्द्रा हराम भएछ । हरे कस्तो दिन आयो सामन्तीको छोराको हातमा बेल्चा, क्रान्तिकारीका छोराको हातमा सुनका बिस्कुट । हृदयेन्द्रको शालीनता, मौनता र माटोप्रतिको नम्रता हेर्दा लाग्यो, शासक होइन संस्कारी नेतृत्वको खाँचो छ देशलाई ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८३ हजार बढी रियाक्सन, १४०० बढी कमेन्ट, १८०० बढी पोस्ट सेभ, ९१७ शेयर र झन्डै १० लाख भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
बालेनले पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयन्द्र शाहलाई समर्थन गर्दै पोस्ट राखेको दाबी टिकटकमा आएपछि टेकपाना फ्याक्टचेकले यसको तथ्यजाँच थाल्यो । त्यस क्रममा बालेनको आधिकारिक फेसबुक पेज र अकाउन्टमा पछिल्लो समय राजतन्त्र वा पूर्वनवयुवराज हृदयन्द्रलाई समर्थन वा विरोध गरेको कुनै पनि पोस्ट राखेको फेला परेन ।
यस विषयमा बालेनका सल्लाहकार कुमार बेनलाई सम्पर्क गरेका थियौं । उनले पनि बालेनको नामबाट खोलिएको यो अकाउन्ट ‘फेक’ भएको पुष्टि गरे । त्यही टिकटकमा राखेको स्क्रिनशटमा पनि ‘फेसबुक पोस्टको क्याप्सन’ अस्वभाविक देखिन्छ । फेसबुक पोस्टमा ट्रान्सलेट हुने समयमा बाहेक बायाँपट्टिको खैरो लाइन देखिँदैन । त्यस्तै पोस्ट पनि प्याराग्राफ पनि अलाइन भएको देखिंदैन । त्यसभन्दा तल राखिएको हृदयन्द्रको फोटो पनि पछिबाट एडिट गरी राखिएको स्पष्ट हुन्छ ।
बालेन शाहले राजतन्त्रको समर्थनमा पोस्ट गरेको भनी सामाजिक सञ्जालमा फैलिएको सामग्रीको स्रोत खोज्दा, त्यो सबैभन्दा पहिले पत्रकार राजिव खत्रीको फेसबुक पेजमा प्रकाशित भएको पाइएको थियो । पछि अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही तस्बिर र क्याप्सनलाई साभार गरेर फैलाएका थिए । तीमध्ये कतिपयले पत्रकार खत्रीलाई स्रोतका रूपमा उल्लेख गरे पनि धेरैले भने कुनै जानकारी नदिई बालेनकै आधिकारिक भनाइ जसरी प्रस्तुत गरेका थिए ।
यसैबीच बालेनकै नाममा सञ्चालित सो नक्कली टिकटक अकाउन्टले उक्त विषयलाई थप अतिरञ्जित र भ्रामक बनाएर प्रस्तुत गरेको पुष्टि हुन्छ । उक्त टिकटक अकाउन्टले सुरुदेखि नै बालेन शाहले राजतन्त्र र राजावादी आन्दोलनलाई समर्थन गरेको देखाउने खालका सामग्री पोस्ट गर्दै आएको देखिन्छ ।
यसअघि पनि सोही अकाउन्टबाट पूर्वराजालाई समर्थन गरेको जस्तो देखाउने फोटो राख्दै “आदेश देऊ, देशका लागि मर्नु परे तयार छ यो ज्यान” जस्ता राजतन्त्र समर्थक देखिने भनाइ बालेनकै नाममा पोस्ट गरिएका थिए । त्यस्तै, ‘बालेन जम्बो टोलीसहित ललिता निवास जाँदैछन्’ र ‘बालेनले रवि लामिछानेलाई मार्मिक चिठी लेखे’ जस्ता पूर्णतया कपोलकल्पित र असत्य दाबी समेत सोही अकाउन्टबाट प्रचार गरिएको थियो । यी सबै सामग्रीमा हजारौं भ्युज आएका छन् । धेरैले बालेनले नै पोस्ट गरेको ठानी आफ्नो धारणा व्यक्त गरेको कमेन्टमा देखिन्छ ।
दाबी
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्रको फोटो राख्दै राजतन्त्रलाई समर्थन गरे ।
दाबीकर्ता
बालेनकै नामबाट खोलिएको ‘balen881’ नामक नक्कली अकाउन्ट ।
तथ्य
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्र शाहले बेल्चा समाएको फोटो राख्दै राजतन्त्रलाई समर्थन वा बिरोध केही पनि गरेका छैनन् । उनको नामबाट खोलिएको टिकटक अकाउन्टबाट पत्रकार राजिव खत्रीले राखेको क्याप्सन एडिट गरी बालेनले राखेको जस्तो बनाइएको हो ।
निष्कर्ष
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्र शाहले बेल्चा समाएको फोटो राख्दै राजतन्त्रलाई समर्थन वा बिरोध केही पनि गरेका छैनन् । पत्रकार राजिव खत्रीले हृदयन्द्रले बेल्चा समाएको फोटो राख्दै उनको प्रशंसा गरेका थिए । बालेनको नामबाट खोलिएको नक्कली अकाउन्टले बने त्यही भनाइ बालेनले राखेको दाबी गर्दै एडिटेट पोस्ट राखेको हो ।