मानव अन्तरिक्ष यात्रामा भारतको अभियान, शुभांशु शुक्लाले भने- देशवासीका लागि यो साझा गौरव हो
असार ११, २०८२ १५:४४
काठमाडौँ । ४० वर्षपछि भारतले पुनः अन्तरिक्षमा मानव पठाएको छ । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्ला सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका हुन् । स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टबाट उडेका शुक्ला १४ दिने ‘एक्सियम-४ मिसन’मा सहभागी छन् । सो मिसनमा अन्तरिक्ष यात्रीहरूले माइक्रोग्राभिटी (सूक्ष्म गुरुत्वाकर्षण) मा ६० भन्दा बढी वैज्ञानिक प्रयोगहरू गर्ने बताइएको छ ।
स्पेसएक्सको फाल्कन-९ रकेट अमेरिकी अन्तरिक्ष निकाय नासाको केनेडी स्पेस सेन्टर, फ्लोरिडाबाट बुधबार बिहान १२:४६ बजे (नेपाली समयअनुसार) सफलतापूर्वक उडेको हो ।
आईएसएस पुगेपछि उनले सबै देशवासीलाई मानव अन्तरिक्ष कार्यक्रमको हिस्सा बन्न आह्वान गरेका छन् । “४० वर्षपछि हामी फेरि अन्तरिक्ष पुगेका छौँ र यो यात्रा अत्यन्त अद्भुत छ । अहिले म पृथ्वीको चारैतिर प्रति सेकेन्ड ७.५ किलोमिटरको गतिमा घुमिरहेको छु । मेरो काँधमा तिरंगा छ, जसले मलाई सम्झाइरहेको छ कि म तपाईं सबैसँग छु ।”
उनले यो यात्रा व्यक्तिगत नभइ सम्पूर्ण भारतको लागि महत्त्वपूर्ण रहेको बताए । शुभांशुले भने, “यो मेरो आईएसएससम्मको यात्रा मात्र होइन, यो भारतको मानव अन्तरिक्ष कार्यक्रमको सुरुवात हो । म चाहन्छु सम्पूर्ण देशवासी यो अभियानको हिस्सा बनून् ।”
उनले थपे, “हामी सबैको छाती गर्वले फुल्नुपर्छ । यो यात्रा हाम्रो साझा गौरव हो । आउनुहोस्, हामी सबै मिलेर भारतको मानव अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाउँ । जय हिन्द, जय भारत ।”
स्पेसएक्सको क्रु ड्रागनमार्फत उडेका उनीहरू २८ घण्टाको उडानपछि स्वतः प्रणालीमार्फत आईएसएसमा डक (Dock) हुने तालिका छ । सो समय उनीहरू पृथ्वीबाट करिब ४०० किलोमिटर माथि कक्षामा रहनेछन् । आईएसएसमा उनीहरूलाई तीन अमेरिकी, एक जापानी र तीन रुसी अन्तरिक्ष यात्रीहरूले स्वागत गर्ने कार्यक्रम छ ।
अन्तरिक्ष यात्रा सुरु भएपछि स्पेसएक्सले मिसन ट्रयाक गर्ने लाइभ मोनिटरिङ लिंक सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले ड्रागन स्पेसक्राफ्टको यात्रा र मिसनको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउन सक्नेछन् । सार्वजनिक भएको इन्टरफेसमा फ्लाइट टाइम, उचाइ, गतिको विवरणसहित अन्तरिक्ष स्टेसनसम्म बाँकी यात्रा देखिने गरी प्रोगेस बार (Progress Bar) पनि राखिएको छ ।
यो मिसन भारतको मानव अन्तरिक्ष अभियानतर्फको पुन: प्रवेशको संकेत भएको वैज्ञानिकहरुले बताएका छन् । यसले सन् २०२७ मा हुने गगनयान मिसन, २०३५ सम्म भारतीय अन्तरिक्ष केन्द्र निर्माण र २०४० मा मानवलाई चन्द्रमामा पठाउने लक्ष्यको आधार तयार गर्ने बताइएको छ ।
यस ऐतिहासिक सफलतापछि भारतका राष्ट्रपति र प्रधानमन्त्रीले शुभांशु शुक्लालाई बधाई दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उनले १.४ अर्ब भारतीयको आशा र सपना बोकेको उल्लेख गर्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिएका छन् ।
भारतीय वायुसेनाले समेत शुक्लाको यात्रालाई आकाशबाट तारातर्फको यात्रा भन्दै गौरवपूर्ण पाइला भनेको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४७
