close

थुलुङ दुधकोशी गाउँपालिकाको गल्ती, सयौं नागरिकको निजी डेटा सामाजिक सञ्जालमा सार्वजनिक

टेकपाना टेकपाना

साउन ६, २०८२ ११:३९

थुलुङ दुधकोशी गाउँपालिकाको गल्ती, सयौं नागरिकको निजी डेटा सामाजिक सञ्जालमा सार्वजनिक

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सयौं सेवाग्राहीको नागरिकता नम्बरसहित व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । राष्ट्रिय परिचयपत्र वितरणबारे जानकारी दिने उद्देश्यले फेसबुकमा राखिएको सूचनासँगै नागरिकको निजी डेटा छरपस्ट भएपछि व्यक्तिको गोपनीयता र डेटा सुरक्षामाथि प्रश्न उठेको छ । 

गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो सचिवालयको पेजमार्फत राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धमा सूचना पोस्ट गरेका थिए । काठमाडौँमा साउन १०, ११ र १२ गते आयोजना हुने शिविरमा परिचयपत्र वितरण गरिने जानकारी दिँदै उनले परिचयपत्र बन्ने व्यक्तिहरूको नामावलीसहितको सूची पनि पोस्ट गरेका छन् । 

कुल ४८ पेज (फोटो) रहेको सूचीमा सयौं नागरिकको पूरा नाम, नागरिकता नम्बर, वडा नम्बर, लिंग जस्ता संवेदनशील विवरण छन् । 

साइबर सुरक्षा विज्ञहरूका अनुसार यसरी निजी विवरण सार्वजनिक हुँदा पहिचान चोरी (आइडेन्टिटी थेफ्ट) देखि विभिन्न आपराधिक क्रियाकलापको जोखिम उच्च हुन्छ । 

यस विषयमा टेकपानाले गाउँपालिका अध्यक्ष राईको ध्यानाकर्षण गराएपछि उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । “सेवाग्राहीको डेटा दुरुपयोग हुनसक्नेबारे मैले बल्ल थाहा पाएँ । जोखिम रहेछ, म तुरुन्त हटाउँछु,” उनले भने । 

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ ११:५४