close

‘देवर दुबईमा अपहरणमा परे, तत्काल पैसा पठाऊ’ भन्दै ह्वाट्सएपमा धम्की, भाउजूले गुमाइन् ८०,०००

टेकपाना टेकपाना

साउन १०, २०८२ १०:२८

‘देवर दुबईमा अपहरणमा परे, तत्काल पैसा पठाऊ’ भन्दै ह्वाट्सएपमा धम्की, भाउजूले गुमाइन् ८०,०००

काठमाडौँ । नेपालमा साइबर अपहरणको शैली अपनाएर एक महिलाबाट ८० हजार रुपैयाँ ठगी भएको छ । दुबईमा रहेका देवर अपहरणमा परेको भन्दै ह्वाट्सएपमार्फत धम्की दिएर उक्त रकम असुलिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पीडित महिलालाई अपरिचित नम्बरबाट ह्वाट्सएपमा सम्पर्क गरी ‘तिम्रो देवर दुबईमा अपहरणमा परेको छ, तत्काल पैसा नपठाए ज्यान खतरामा पर्छ’ भन्दै आतङ्कित बनाइएको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अपहरणकारीको धम्की र त्रासका कारण महिलाले दुई पटकमा गरी ८० हजार रुपैयाँ पठाएकी थिइन् ।

‘अपहरणकारी’ले महिलालाई फोनसमेत राख्न नदिई निरन्तर धम्की दिएकाले उनले कसैसँग सल्लाह गर्ने मौकासमेत पाइनन् । ‘फोन राखे तिम्रो देवर बाँच्दैन’ भन्ने धम्कीपछि उनी रकम पठाउन बाध्य भइन् ।

रकम पठाइसकेपछि देवरसँग सम्पर्क गर्दा मात्र आफू ठगिएको थाहा पाएपछि उनी साइबर ब्युरोमा उजुरी दिन पुगेकी थिइन् ।

अपहरणसँग सम्बन्धित घटना भएकाले ब्युरोले उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । पीडित महिलाले शुक्रबार कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।

नेपालमा यस्तो प्रकृतिको ‘भर्चुअल अपहरण’ को घटना यो पहिलो भने होइन । यसअघि एक किशोर कमेडी कार्यक्रम हेर्न गएका बेला अपहरणमा परेको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागिएको थियो । पछि प्रहरी अनुसन्धानबाट ती किशोर सकुशल कार्यक्रम हेरिरहेको अवस्थामा फेला परेका थिए । उनको मोबाइलमा रहेको मालवेयरमार्फत ह्याकरले फोन नियन्त्रणमा लिएर अपहरणको नाटक रचेको खुलेको थियो ।

पछिल्ला दुई घटनाले नेपालमा ‘भर्चुअल अपहरण’ को जोखिम बढेको देखाएको छ । यसमा अपराधीले भौतिक रूपमा कसैलाई कब्जा नगरी डर, त्रास र भ्रमको सहारामा फिरौती असुल्ने प्रयास गर्छन् । यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८२ १०:४५