close

एआई दौडमा मेटाको छलाङ, भित्र्यायो च्याटजीपीटीका एक प्रमुख निर्माता

टेकपाना टेकपाना

साउन १०, २०८२ १६:३६

एआई दौडमा मेटाको छलाङ, भित्र्यायो च्याटजीपीटीका एक प्रमुख निर्माता

काठमाडौँ । मेटाले च्याटजीपीटीका सह-निर्माता तथा ओपनएआईका पूर्व प्रमुख वैज्ञानिक शेंगजिया झाओलाई आफ्नो टिममा भित्र्याएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा आफूलाई अब्बल बनाउन मेटाले प्रतिस्पर्धी कम्पनीकै सहनिर्मातालाई टिममा तानेको हो । 

मेटाका सीईओ मार्क जुकरबर्गले शुक्रबार सामाजिक सञ्जालमार्फत झाओलाई आफ्नो ‘सुपरइन्टेलिजेन्स ल्याब्स’को प्रमुख वैज्ञानिकको रूपमा नियुक्त गरेको घोषणा गरेका छन् । जुकरबर्गले झाओलाई यस क्षेत्रका ‘पायोनियर’ भन्दै उनले पहिले नै एआईमा धेरै ठुला उपलब्धि हासिल गरिसकेको बताएका छन् ।

झाओले यसअघि ओपनएआईमा जीपीटी-फोरको निर्माणमा सहयोग गर्नुका साथै ‘सिन्थेटिक डेटा’ सम्बन्धी परियोजनाको नेतृत्व गरेका थिए । अब उनले सिधै जुकरबर्ग र मेटाका एआई अधिकारीहरूसँग मिलेर काम गर्नेछन् ।

जुकरबर्गले पछिल्लो समय एआईमा अर्बौं डलर खर्च गरिरहेका छन् । यस्तो बेला ओपनएआईको महत्त्वपूर्ण ओहदामा रहेर काम गरिरहेका वैज्ञानिकलाई नै भित्र्याउने कम्पनीको रणनीतिलाई उत्साहपूर्ण तरिकाले हेरिएको छ । 

झाओका साथै कम्पनीले ओपनएआईको जुरिच कार्यालय स्थापना गर्ने तीन प्रमुख अनुसन्धानकर्ता लुकास बायर, अलेक्जेन्डर कोलेस्निकोभ र सियाओहुआ झाईलाई पनि आफ्नो टिममा ल्याइसकेको छ । यी तीनै जनाले यसअघि गुगलको डिपमाइन्डमा पनि काम गरेका थिए ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८२ १६:४९