फ्याक्टचेकः नवलपरासीमा १० करोड टनको फलाम खानी भेटियो भन्दै भाइरल खबर पुरानै, फोटो-भिडिओ फेक
साउन १०, २०८२ २०:४८
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा नवलपरासीमा १० करोड टनको फलाम खानी भेटिएको दाबी गरिएको एउटा पोस्ट भाइरल छ । पोस्टमा उक्त खानीले १०० वर्षसम्म नेपालको फलामको माग धान्न सक्ने उल्लेख छ र त्यससँगै एउटा भिडिओ पनि राखिएको छ । तर, टेकपाना फ्याक्टचेकका क्रममा यो समाचार वर्षौं पुरानो भएको र भिडिओ नेपालको नभएको पुष्टि भएको छ ।
दाबी
१८ जुलाइ २०२५ मा ‘रुटिन अफ गैंडाकोट बन्द’ नामको फेसबुक पेजले एउटा भिडिओ पोस्ट गर्यो । भिडिओमा एक व्यक्तिले क्यामेरा बोकेर सुरुङभित्र प्रवेश गरेको देखिन्छ । तीन मिनेट ४६ सेकेन्डको उक्त भिडिको क्याप्सनमा लेखिएको छ, “नवलपरासीमा १० करोड टन फलाम भएको ठुलो फलाम खानी भेटिएको छ । यसले नेपालको १०० बर्ष सम्मको फलामको मागलाई धान्न सक्छ ।” भिडिओको स्रोत सामाजिक सञ्जाल राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १० हजार बढी रियाक्सन, २५६ बढी कमेन्ट, छ लाख ६७ हजार बढी भ्युज आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
‘रुटिन अफ गैंडाकोट बन्द’ नामको पेजले राखेको पोस्ट र भिडिओ ‘मिडिया क्लब नेपाल’ले २५ जुन २०२५ मा राख्यो । यसमा १३०० बढी रियाक्सन, ३२ कमेन्ट, एक लाख बढी भ्युज आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
‘नेपाल सोसाइटी न्युज’ नामक फेसबुक पेजले पनि यसरी नै भिडिओ र पोस्ट राखेको छ । सो पोस्टमा झन्डै पाँच हजार भ्युज छ । हेर्नुहोस् ओरिजिलन पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
यही क्याप्सन खोज्दै जाँदा ‘एनईबी रिजल्ट्स’ नामक फेसबुक पेजले २४ जुन २०२५ मा “नवलपरासीमा १० करोड टन फलाम भएको ठुलो फलाम खानी भेटिएको छ । यसले नेपालको १०० बर्ष सम्मको फलामको मागलाई धान्न सक्छ ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १४ हजार बढी रियाक्सन, ६०० बढी कमेन्ट र २०९ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
२४ जुन २०२५ मा जोक्स नेपालले हालै पत्ता लागेको फलाम खानी दाबी गर्दै सोही पोस्ट राखेको छ । उक्त पोस्टको क्याप्सनमा छ, “#WoW : नवलपरासीमा हालै पत्ता लागेको फलाम खानीमा करिब १० करोड टन फलाम रहेको अनुमान गरिएको छ। यो खानीले नेपालले आगामी १०० वर्षमा चाहिने फलाम सजिलै आपूर्ति गर्न सक्छ!” उक्त पोस्टमा १७०० बढी रियाक्सनर ६९ कमेन्ट आएका छन् भने पाँच पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
आफूलाई सामाजिक अभियान्ता भन्ने इशामाया गुरुङले पनि यही पोस्ट राखेकी छिन् । उनले लेखेकी छिन्- “Do You Know: नवलपरासीमा ठुलो फलाम खानी भेटिएको छ, जसमा करिब १० करोड टन फलाम छ। उक्त खानी नेपालको आगामी १०० वर्षको फलामको माग पूरा गर्न पर्याप्त छ तर नेता हरू लाइ यसको महत्व थाहा नहुन सक्छ , के छैन नेपालमा , सब छ तर corruption गरेर सबै नस् ट गर्छ #Nawalparasi #nepal”
यो पोस्टमा थुप्रै डोजरले खनिरहेको देखिएको छ । त्यो फोटो कहाँको हो भन्ने जानकारी तल उल्लेख गर्छौं । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
यी कुनै पनि पोस्टमा कहिले खानी भेटिएको, कसले अध्ययन गरेको, प्रतिवेदन कसले सार्वजनिक गर्यो लगायतका विवरण छैनन् । केहीले मिति नै उल्लेख गरेका छैनन् भने केहीले हालै भनेका छन् । केहीले एआई-सिर्जित फोटो राखेका छन् । तर, फोटोको स्रोत खुल्दैन ।
सबैभन्दा पहिले फोटोको विश्लेषण गरौँ । भाइरल भइरहेको फोटोको गुगलमा रिभर्स इमेज सर्च गरी हेर्यौं । द वायर डटइनले २५ अक्टोबर २०१७ मा ‘National Mineral Policy Review – A Golden Chance for Change’ शीर्षकको समाचार राखेको फेला पर्यो । तस्बिरको स्रोत प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)लाई दिएको देखियो ।
त्यसपछि ‘द न्यु इन्डियन एक्सप्रेस’ले २३ मार्च २०१८ मा प्रक्राशित गरेको ‘Supreme Court mining order: NGO files plaint against former Goa CM Laxmikant Parsekar, two officials शीर्षकको समाचारमा फेला पर्यो । उक्त सञ्चार माध्यमले तस्बिरको श्रेय प्रेस ट्रस्ट अफ इन्डिया (पीटीईआई)लाई दिएको छ । अर्थात् नवलपरासीको भन्दै भाइरल भइरहेको फोटो भारतको गोआमा रहेको फलाम खानीको रहेको खुल्यो । त्यो पनि सन् २०१७ भन्दा अगाडिको ।
त्यसपछि हामीले नेपालको भनिएको सुरुङको भिडिओ विश्लेषण गर्यौं । भिडिओलाई इनभिड टुलबाट किफ्रेम निकालेर हेर्यौं । उस्तै देखिने सयौं भिडिओ भेटिए तर त्यही भिडिओ फेला पार्न सकेनौं । भिडिओको पाँच सेकेन्डमा एक व्यक्ति टर्चलाइट देखाइरहेको अवस्थामा भेटिन्छन् । त्यही किफ्रेमलाई गुगल रिभर्स इमेज सर्च, यान्डेक्स, बिङ, टाइनीआई आदि टुलमा हेर्दा ती व्यक्ति देखिएको सुरुङको भिडिओ फेला परेन ।
भिडिओको एक मिनेट ३६ सेकेन्डमा दुई ओटा काठ राखेर बनाइएको पुल देखिन्छ । उक्त पुलको फोटो रिभर्स इमेज सर्च गरी हेर्दा आधिकरिक स्रोत फेला परेन । खानीभित्र हुने त्यस्ता पुलका थुप्रै भिडिओ भेटिए । तर नेपालको भन्दै भाइरल भइरहेको भिडिओ फेला परेन । भिडिओको बीच भागतिर व्यक्तिको हात देखिन्छ । तर, त्यो हात देखिने किफ्रेमलाई रिभर्स इमेज सर्च गर्दा केही फेला परेन । अन्तिममा बाहिरको दृश्यले ठाउँको सङ्केत गर्न सक्थ्यो । तर, उज्यालो देखिनासाथ भिडिओ बन्द हुन्छ । सुरुङको छेउछाउमा विभिन्न सङ्केत कोरिएका हुन्छन् । त्यसबाट पनि सुरुङ कहाँको हो भन्ने पत्ता लगाउन सकिन्छ । तर, यो भिडिओमा भने त्यस्ता कुनै पनि सङ्केत, लेख फेला परेनन् ।
हामीले यस्तो सुरुङ नवलपरासीमा भए/नभएको बुझ्न धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशबहादुर चन्दलाई ह्वाट्सएपमा भिडिओ पठायौं । “यो भिडिओ यहाँ (नवलपरासी)को होइन,” डा. चन्दले भने, “मैले फिल्डमा भएका सबै साथीहरूलाई पठाएँ । तर, सबैले यस्तो सुरुङ हालसम्म नवलपरासीमा फेला परेको छैन भन्नुभयो ।”
फोटो र भिडिओ भ्रामक पुष्टि भइसकेपछि अब मुख्य दाबी गरिएको विषयमा प्रवेश गरौं । त्यो हो ‘१० करोड टन फलाम भेटिएको र त्यसले नेपालको १०० वर्षको माग पूरा गर्ने’ दाबी सम्बन्धी ।
हिमाल खबरले २९ फागुन २०७५ मा ‘मुलुककै ठुलो फलाम खानी उत्खननकाे पहल’ शीर्षकको समचार प्रकाशित गरेको थियो । उक्त समाचारमा ‘प्रारम्भिक अनुमान अनुसार, यो क्षेत्रमा १० करोडभन्दा धेरै फलाम छ’ भन्ने उल्लेख गरिएको छ ।
१३ जनवरी २०२० (१ माघ २०७६) द हिमालयन टाइम्सले ‘ए-क्लास १०० मिलियन टन्सको आइरन वर इन नवलपरासी’ शीर्षकमा समाचार लेखेको थियो । उक्त समाचारमा खानी तथा भूगर्भ विभागले १० करोड टन फलाम खानी पत्ता लगाएको उल्लेख छ ।
नेपाल प्रेसले २६ माघ २०७७ मा ‘नवलपरासीमा १० करोड टन फलाम, तीन वर्षपछि व्यावसायिक उत्पादन’ शीर्षकको समाचार राखेको थियो । समाचारमा ‘प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम भएको देखिएको छ । यसलाई प्रत्येक दिन १५०० टनका दरले उत्खनन् गर्दा आगामी ४० वर्षलाई पुग्ने अध्ययन बताएको छ’ भन्ने उल्लेख छ ।
“१० करोड टन (फलाम) भेटिएको भन्ने कुरा पुरानै हो । यो लगभग तीन-चार वर्षअघिको रिपोर्ट हो, हालसालै कुनै नयाँ अनुसन्धान वा खोज भएको छैन,” डा. चन्दले भने, “खानी तथा भूगर्भ विभागले गरेको ड्रिलिङ, भूगर्भिक अध्ययन र रासायनिक परीक्षणजस्ता प्राविधिक अध्ययनपछि हामीसँग भएको डेटाका आधारमा उक्त परिमाण अनुमान गरिएको हो ।”
फलाम खानी भण्डार पूर्व पश्चिम राजमार्गको कावासोती देखि करिब २० किलोमिटर दुरी उत्तरमा गण्डकी प्रदेश, पूर्वी नवलपरासी जिल्ला, हुप्सेकोट गाउँपालिका अन्तर्गत पश्चिम नाम्जाकोटदेखि पूर्व धौवादी क्षेत्र (नक्शा-१) मा रहेको छ । यस खानीको औपचारिक अध्ययन २०६९ देखि २०७५ सम्म खानी तथा भूगर्भ विभागका विज्ञले विभिन्न चरणमा गरेका थिए । उक्त अध्ययनले नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको लगभग १० किलोमिटर भूभागमा फलामको ठुलो भण्डार रहेको तथ्य प्रमाणित गरेको थियो ।
४ भदौ २०७६ को मन्त्रिपरिषद् बैठकले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गर्ने निर्णय गर्यो । सोही वर्ष ९ असोजमा कम्पनी दर्ता भई फागुनदेखि सञ्चालनमा आएको यस कम्पनीले मुलुकमा पहिलो पटक फलाम उत्खनन र प्रशोधनको आधुनिक युगको सुरुवात गरेको थियो ।
यी विभिन्न तथ्यलाई आधार मान्दा नवलपरासीमा १० करोड टन फलाम खानी भेटिएको समाचार सत्य हो । तर, यो पछिल्ला केही महिना वा पछिल्ला केही दिनमा सार्वजनिक भएको भने होइन । पुरानो समाचारलाई हिजो आज नै भएको जसरी भ्रम फैलाउन भाइरल बनाइएको देखिन्छ । त्यस्तै पोस्टमा प्रयोग भएको फलाम खानीको फोटो पनि नेपालको होइन । यो प्रेस ट्रस्ट अफ इन्डिया पीटीआईले खिचेको भारतको गोआको हो । त्यस्तै नवलपरासीको फलाम खानी दाबी गरिएको सुरुङ पनि त्यहाँको होइन । उक्त सुरुङको आधिकारिक स्रोत वा स्थान फेला पार्न असमर्थ भयौं । तर, धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. जनकबहादुर चन्दले उक्त सुरुङको भिडिओ नवलपरासीको नभएको पुष्टि गरे ।
दाबी
नवलपरासीमा हालसालै १० करोड टनको ठुलो फलाम खानी भेटिएको छ । यो खानीले नेपालको १०० वर्षसम्मको फलामको माग धान्न सक्छ । दाबीलाई पुष्टि गर्न एउटा सुरुङको भिडिओ र खानीको फोटो प्रयोग गरिएको छ ।
दाबीकर्ता
‘रुटिन अफ गैंडाकोट बन्द’, ‘मिडिया क्लब नेपाल’, ‘नेपाल सोसाइटी न्युज’, ‘एनईबी रिजल्ट्स’, ‘जोक्स नेपाल’, इशामाया गुरुङ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
खानीको समाचार पुरानो हो । नवलपरासीमा १० करोड टन फलाम खानी भेटिएको कुरा सत्य हो । तर यो हालैको नभएर करिब ४-५ वर्ष पुरानो (वि.सं. २०७५/७६ तिरको) हो । खानी तथा भूगर्भ विभागले २०६९ देखि २०७५ सम्म अध्ययन गरेर यो तथ्य पत्ता लगाएको थियो ।
फोटो नेपालको होइन । भाइरल पोस्टमा प्रयोग गरिएको ठुलो खानीको फोटो नेपालको नभई भारतको गोवामा रहेको फलाम खानीको हो । यो फोटो सन् २०१७ भन्दा अगाडि नै प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले खिचेको थियो । त्यस्तै नवलपरासीको खानी भन्दै देखाइएको सुरुङको भिडिओ पनि त्यहाँको नभएको धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशबहादुर चन्दले पुष्टि गरेका छन् ।
निष्कर्ष
सामाजिक सञ्जालमा गरिएको दाबी भ्रामक छ । नवलपरासीमा १० करोड टनको फलाम खानी भेटिएको तथ्य सत्य भए पनि यो धेरै पुरानो समाचार हो । यसलाई हालै पत्ता लागेको भनेर भ्रम फैलाइएको छ । साथै दाबीलाई पुष्टि गर्न प्रयोग गरिएका फोटो (भारतको) र सुरुङको भिडिओ (अपुष्ट, तर नवलपरासीको नभएको) दुवै भ्रामक हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८२ २०:४८
