close

प्रोटोन ईभीको नयाँ शोरुम पोखरामा, शून्य प्रतिशत ब्याजदरमा खरिद गर्ने अवसर

टेकपाना टेकपाना

साउन १३, २०८२ ११:५९

प्रोटोन ईभीको नयाँ शोरुम पोखरामा, शून्य प्रतिशत ब्याजदरमा खरिद गर्ने अवसर

काठमाडौँ । जगदम्बा मोटर्सले पर्यटकीय सहर पोखरामा प्रोटोन गाडीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । देशव्यापी रूपमा विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने अभियान अन्तर्गत कम्पनीले काठमाडौंबाहिर पोखराको बुद्ध चोकमा आफ्नो आधिकारिक शोरुम खोलेको हो ।

यो शोरुमको उद्घाटनसँगै प्रोटोनले आफ्नो फ्ल्यागशिप विद्युतीय गाडी ‘प्रोटोन इ.मास सेभेन’ (Proton e.MAS7) लाई पोखरेली ग्राहकमाझ प्रस्तुत गरेको छ । नेपालमा प्रोटोनको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले सन् २०२५ सम्ममा देशभर विद्युतीय सवारीको सञ्जाल स्थापना गर्ने बृहत् योजनाको हिस्साको रूपमा यो शोरुम स्थापना गरिएको जनाएको छ ।

शोरुम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले यस कदमले पोखराको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, होटल संघ नेपाल-पोखरा च्याप्टर, र अन्य प्रतिष्ठित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्राकृतिक सौन्दर्य र आधुनिक सोच भएको सहर पोखरामा प्रोटोनलाई भित्र्याउन पाउँदा गौरवान्वित भएको बताए । “यो विस्तारसँगै हामीले पश्चिमी क्षेत्रका परिवारहरूमा स्वच्छ र स्मार्ट मोबिलिटीलाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं । यो हाम्रो अभियानको सुरुवात मात्र हो,” उनले भने ।

कम्पनीले पोखरामा ग्राहकहरूका लागि टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श र सहज फाइनान्स तथा सरकारी अनुदानका विकल्पहरू पनि उपलब्ध गराएको छ । बिक्रीपछिको सेवालाई थप सुदृढ बनाउन पोखराभित्रै तेस्रो सर्भिस सेन्टरको निर्माण कार्य पनि सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

शोरुम उद्घाटनको अवसरमा जगदम्बा मोटर्सले एक सातासम्म पोखराका ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरको विशेष अफर समेत घोषणा गरेको छ ।

 

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ ११:५९