रेन्ज रोभर जस्तै देखिने जेइको जे ५ ईभी नेपाली बजारमा, एक्स्पो गएर किन्नेलाई ४ लाख रुपैयाँ छुट
साउन २१, २०८२ १६:१७
काठमाडौँ । एसपीजी अटोमोबाइल्सले प्रिमियम एसयूभी ‘जेइको जे-५’ नेपाली बजारमा भित्र्याएको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जेइको जे-५ सार्वजनिक गरिएको हो ।
कम्पनीले ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ नेपाली बजारमा प्रिमियम एसयुभीको रूपमा भित्र्याएको छ । रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता विशेषताले गाडीलाई विशेष बनाएको कम्पनीको दाबी छ ।
जेइको जे-५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिए पनि नाइमा एक्स्पो विशेष अफरअन्तर्गत गाडी ५६ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सकिनेछ ।
त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलहरूमा समेत विशेष अफर ल्याएको छ । जस अनुरूप सुरुवाति मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको ओमोडा ई ५ नाइमा विशेष अफरको रूपमा ५४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । त्यस्तै सुरुवाति मूल्य ६९ लाख ९९ रुपैयाँ रहेको जेइको जे ६ अफरको रूपमा ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ ।
नाइमा एक्स्पोमा ओमोडा र जेइकोका कुनै पनि मोडेल बुक गर्दा अफर तथा छुट पाइने कम्पनीले जनाएको छ । एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक हो ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १६:३७
