देश चलाउन च्याटजीपीटीको सल्लाह लिन्छु भनेपछि स्विडेनका प्रधानमन्त्री विवादमा
साउन २४, २०८२ १४:४९
काठमाडौँ । स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आफूले निर्णय लिने क्रममा नियमित रूपमा च्याटजीपीटी जस्ता एआई टुल प्रयोग गर्ने बताएपछि आलोचित भएका छन् । स्विडेनको दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गरिरहेका क्रिस्टर्सनले आफूले च्याटजीपीटी र फ्रान्सेली एआई सेवा ‘लेच्याट’ लगायत प्रयोग गर्ने स्वीकारेपछि सार्वजनिक वृत्तमा आलोचना भएको हो ।
स्विडेनको व्यापारिक पत्रिका डागेन्स इन्डस्ट्री कुरा गर्दै उनले भनेका थिए, “म आफैँ यसलाई प्रायः प्रयोग गर्छु, कम्तीमा पनि दोस्रो रायका लागि । अरूले के गरेका छन् ? वा के हामीले यसको ठीक उल्टो सोच्नुपर्छ ? म यस्तै प्रकारका प्रश्नहरू सोध्छु ।”
“तर हामीलाई स्विडिस अनुभवमा आधारित ल्याङ्ग्वेज मोडेलहरू अझ चाहिन्छ । यो कुरा म अहिले पनि कमीका रूपमा देख्छु,”
प्रधानमन्त्रीको अभिव्यक्तिपछि प्रविधि विज्ञहरूले राजनीतिज्ञबाटै यसरी एआई टुल प्रयोग हुँदा सिर्जना हुनसक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन् । आफ्टोनब्लाडेट नामक पत्रिकाले त आफ्नो सम्पादकीयमा क्रिस्टर्सन ‘धनाढ्यहरूको एआई मनोविकृतिमा फसेको’ आरोप लगाएको छ ।
कार्लस्टाड विश्वविद्यालयकी कम्प्युटर विज्ञान अनुसन्धानकर्ता सिमोन फिसर-हबनरले संवेदनशील जानकारीका लागि च्याटजीपीटी प्रयोग नगर्न चेतावनी दिँदै भनेकी छिन्, “तपाईंले धेरै होसियार हुनुपर्छ ।”
विवाद बढेपछि प्रधानमन्त्रीका प्रवक्ता टम स्यामुएलसनले प्रधानमन्त्रीले एआई प्रयोग गर्दा कुनै जोखिम नलिने स्पष्ट पारे । उनले भने, “त्यहाँ कुनै पनि सुरक्षा-संवेदनशील जानकारी राखिँदैन । यसलाई केवल एक सामान्य दिशानिर्देशको रूपमा मात्र प्रयोग गरिन्छ ।”
तर, उमेओ विश्वविद्यालयकी जिम्मेवार आर्टिफिसियल इन्टेलिजेन्सकी प्राध्यापक भर्जिनिया डिग्नमले एआईले राजनीतिक विचारहरूमा अर्थपूर्ण राय दिन नसक्ने र यसले केवल यसलाई बनाउनेहरूको दृष्टिकोणलाई मात्र प्रतिबिम्बित गर्ने बताइन् ।
उनले डागेन्स न्येतर पत्रिकालाई भनिन्, “उहाँ (प्रधानमन्त्री) जति धेरै सामान्य कुराहरूका लागि एआईमा भर पर्नुहुन्छ, त्यति नै प्रणालीमाथि अति-आत्मविश्वासको जोखिम बढ्छ । यो एउटा चिप्लो बाटो हो ।” उनले अगाडि भनिन्, “हामीले विश्वसनीयताको ग्यारेन्टी माग गर्नुपर्छ । हामीले च्याटजीपीटीलाई भोट दिएका होइनौँ ।”
पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १५:६
