close

व्यायाम गर्न अल्छी मान्नेहरूका लागि नेपाली विद्यार्थीले बनाए शरीरको चालबाटै खेल्न मिल्ने गेम

टेकपाना टेकपाना

साउन २४, २०८२ १८:१४

व्यायाम गर्न अल्छी मान्नेहरूका लागि नेपाली विद्यार्थीले बनाए शरीरको चालबाटै खेल्न मिल्ने गेम

काठमाडौँ । डेस्कटप तथा कुर्सीमा दिनभर व्यस्त रहने र शारीरिक व्यायाम नगर्नेहरूका लागि स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले एक गेम बनाएका छन् । शरीरको चालबाट मोबाइल तथा डेस्कटपमार्फत खेल्न मिल्ने गरी उनीहरूले ‘किक एन्ड क्रस’ नामक गेम तयार पारेका हुन् ।

इस्टलिङ्टन कलेजमा हालै आयोजित ‘फ्युचरमा २०२५’ प्रदर्शनीमा विद्यार्थीहरूले उक्त गेम प्रदर्शनमा राखेका थिए । इस्टलिङ्टन कलेजको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले यो गेम तयार पारेका हुन् ।

सत्यम दुलाल, विवेक पौडेल, आदित्य अर्याल, अपिल घिमिरे र सुबिन खड्काको समूहले तयार पारेको यो प्रोजेक्टको नेतृत्व सत्यम र विवेकले गरेका छन् । यो गेम चर्चित मोबाइल गेम ‘फ्रुट निन्जा’ बाट प्रेरित भएर तयार पारिएको सत्यम बताउँछन् ।

‘फ्रुट निन्जा’मा स्क्रिनमा आउने केरा, खरबुजा, स्याउ जस्ता फलफूललाई हातले स्लाइड गरेर काटिन्छ । सोही अवधारणामा ‘किक एन्ड क्रस’ मा पनि ल्यापटपको स्क्रिनमा फलफूलहरू देखिन्छन्, तर यसलाई औँलाले नभई शरीर चलाएर काट्नुपर्छ । गेमले मानिसको शरीरको चाललाई ट्र्याक गर्छ । गेम खेल्दा आउने आवाज र डेस्कटपमा देखिने भिजुअलले यसलाई झनै मनोरञ्जनात्मक बनाएको छ ।

यो गेम निर्माणका लागि एआई प्रविधि ‘कम्प्युटर भिजन’ प्रयोग गरिएको छ । १० हजारभन्दा धेरै मानिसका विभिन्न आसनका तस्बिरहरू प्रयोग गरेर एआई मोडेललाई तालिम दिइएको छ । त्यसैले यसले वेब क्यामेराबाटै मानिसको हात, खुट्टा र शरीरको ‘स्केलेटन’ (ढाँचा) कहाँ छ भनेर चिन्न सक्ने सत्यमले जानकारी दिए ।

उनका अनुसार डेस्कटपमा दिनभर काम गर्ने व्यक्तिहरूलाई मनोरञ्जनात्मक तरिकाले शारीरिक व्यायाम गराउने उद्देश्यले यो गेम बनाइएको हो ।“एआईको बारेमा पहिलेदेखि नै अध्ययन गरेकाले हामीसँग गेम बनाउन सक्ने क्षमता त थियो नै । यो गेमको आइडिया आएको एक हप्ताभन्दा कम समयमा नै हामीले यसलाई तयार पारेका हौँ,” सत्यमले भने ।

भविष्यमा यसलाई एउटा पूर्ण एपका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । तर, त्यसभन्दा पहिले बजारमा यसको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गर्ने उनीहरूको तयारी छ । “अहिले हामीले यो प्रदर्शनी (फ्युचरमा २०२५) का लागि मात्रै बनाएका हौँ । विद्यार्थीहरूले चाहेमा यसमा थप ‘लेभल’ पनि थप्न सकिन्छ,” उनले भने । यो गेमलाई ल्यापटपका साथै मोबाइलबाट पनि खेल्न मिल्ने गरी तयार गर्ने योजना ल्याइएको छ ।

अर्का सदस्य विवेक पौडेलले परियोजनालाई निरन्तर सुधार गरिरहेको र ‘थ्रीडी बडी मुभमेन्ट ट्र्याकिङ’ सहितको मोबाइल तथा वेब एप बनाउने योजना रहेको बताए । स्वास्थ्यसँग सम्बन्धित गेम भएकाले चिकित्सकीय परामर्शसमेत लिएर यसलाई थप परिष्कृत गर्न सकिने सत्यमको भनाइ छ । उनीहरू कसैको सहयोगबिना ‘किक एन्ड क्रस’ खेलेरै दैनिक व्यायाम पूरा गर्न सकिने गरी गेमको विकास गर्न चाहन्छन् ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १८:१७