close

ओपनएआईले माइक्रोसफ्टलाई सिध्याउँदैछः एलन मस्क

टेकपाना टेकपाना

साउन २६, २०८२ १२:५२

ओपनएआईले माइक्रोसफ्टलाई सिध्याउँदैछः एलन मस्क

काठमाडौँ । बिहीबार ओपनएआईले अहिलेसम्मकै ‘स्मार्ट र फास्ट’ दाबी गरिएको मोडेल जीपीटी-५ सार्वजनिक गर्‍यो । यससँगै एआई क्षेत्रमा प्रविधि जगतका दुई ठूला हस्तीबिचको प्रतिस्पर्धा चर्किएको छ । 

एक्सएआईका सीईओ एलन मस्क र माइक्रोसफ्टका सीईओ सत्य नडेला एआईको विषयमा बहस गर्दै आमनेसामने भएका छन् । ओपनएआईलाई आर्थिक रूपमा समर्थन गर्दै आएको माइक्रोसफ्टले जीपीटी-५ लाई आफ्ना विभिन्न प्लेटफर्ममा डिप इन्टिग्रेट गरेको घोषणा गर्‍यो । खासगरी प्रयोगकर्ताले बढी प्रयोग गर्ने माइक्रोसफ्ट ३६५ कोपाइलट, कोपाइलट, गिटहब कोपाइलट र एज्युर एआई फाउन्ड्रीमा नयाँ मोडेल समावेश गर्ने माइक्रोसफ्टको तयारी छ । 

यसै सन्दर्भमा माइक्रोसफ्टका सीईओ सत्य नडेलाले सामाजिक सञ्जाल एक्समा जीपीटी-५ लाई ‘अहिलेसम्मकै सबैभन्दा सक्षम मोडल’ भन्दै यसको तर्क, कोडिङ र कुराकानी गर्ने क्षमतामा भएको सुधारको प्रशंसा गरेका छन् । “आज जीपीटी-फाइभ हाम्रा प्लेटफर्ममा सार्वजनिक भएको छ । यो हाम्रा साझेदार ओपनएआईको सबैभन्दा सक्षम मोडल हो जसले तर्क, कोडिङ र च्याटमा उल्लेखनीय प्रगति गरेको छ ।”

नडेलाको यही पोस्टमा रिप्लाई गर्दै एलन मस्कले ओपनएआईलाई एक पटक पुनः निशाना बनाए । हुन त ओपनएआईले सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि नै मस्क ओपनएआईलाई विभिन्न तवरबाट गलत देखाउन लागिपरेका छन् । यद्यपि सन् २०१५ मा ‘गैर-नाफामुखी’ कम्पनीको रूपमा स्थापना भएको ओपनएआईमा मस्क सहसंस्थापक थिए । पछि मस्क बोर्डबाट बाहिरिए र केही समय लगानीकर्ताका रूपमा रहे । तर, ओपनएआईले च्याटजीपीटी ल्याएको, माइक्रोसफ्टबाट लगानी भित्र्याएको र नाफामुखीमा केन्द्रित बनेको भन्दै उनी रुष्ट बनेका थिए । र, निरन्तर ओपनएआईको विपक्षमा लाग्न थाले । 

ओपनएआईसँग यही पृष्ठभूमिमा जोडिएका मस्कले सत्य नडेलाको पोस्टमा रिप्लाई गर्दै लेखे, “यसले माइक्रोसफ्टलाई जिउँदै खान्छ ।” अर्थात् माइक्रोसफ्टले ओपनएआईमा लगानी गरिरहे पनि कुनै दिन त्यसैले नै उक्त कम्पनीलाई सिध्याउँछ भन्ने तर्क मस्कको छ । 

मस्कको यो चेतावनीपछि माइक्रोसफ्टका सीईओ नडेलाले पनि रमाइलो जवाफ दिए । “मानिसहरूले ५० वर्षदेखि प्रयास गरिरहेका छन् र यसको मजा यही हो ! हरेक दिन तपाईं केही नयाँ सिक्नुहुन्छ, नवीनता ल्याउनुहुन्छ, साझेदारी गर्नुहुन्छ र प्रतिस्पर्धा गर्नुहुन्छ,” नडेलाले मस्कलाई रिप्लाई दिए ।  

उनले मस्कको एक्सएआई मोडेल ‘ग्रोक’ प्रति पनि उत्साह देखाउँदै थपे, “एज्युरमा ग्रोक ४ को लागि उत्साहित छु र ग्रोक ५ को प्रतीक्षामा छु ।”

तर मस्क यतिमा मात्रै रोकिएनन् । उनले आफ्नो कम्पनीको उत्पादन ओपनएआईको नयाँ संस्करणभन्दा राम्रो रहेको दाबी गर्दै ग्राहकको प्रतिक्रियासमेत शेयर गरे । उनले लेखे, “सत्य कुरा के हो भने ग्रोक ४ हेभी दुई हप्ताअघि नै अहिलेको जीपीटी-५ भन्दा स्मार्ट थियो र ‘जी फोर एच’ अहिले झनै राम्रो भइसकेको छ ।” 

अर्को पोस्टमा मस्कले एक्सएआईले यो वर्षको अन्त्यसम्ममा ग्रोक-५ सार्वजनिक गर्ने योजना बनाएको र त्यो ‘निकै उत्कृष्ट’ हुने पनि बताए ।

ओपनएआईले माइक्रोसफ्टलाई नै सिध्याउँछ भन्नुको अर्थ के हो ?

‘ओपनएआईले माइक्रोसफ्टलाई जिउँदै निल्दैछ’ भन्ने मस्कको भनाइलाई प्रविधि क्षेत्रका विज्ञहरूले विभिन्न तवरबाट हेरिरहेका छन् । कतिपयले त यसलाई गुगल र याहुबिचको घटनालाई पनि जोड्न थालेका छन् । याहुलाई गुगलले खरिद गर्ने प्रस्ताव गरेको‍ ‍थियो । तर, याहुले अस्वीकार गर्दा अन्तमा उसकै अस्तित्व धराशायी बन्दै गइरहेको छ । यता गुगल भने प्रविधि क्षेत्रको अग्रणी कम्पनीमा पर्छ । 

त्यही घटना अहिले ओपनएआई र माइक्रोसफ्टबिच भइरहेको केहीको तर्क छ । च्याटजीपीटी सार्वजनिक गरेसँगै एआई क्षेत्रमा ओपनएआई आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ । यता माइक्रोसफ्ट भने त्यही ओपनएआईका सेवा आफ्ना उत्पादनमा समावेश गरिरहेको छ । यसले गर्दा माइक्रोसफ्ट नै छायाँमा परेको चर्चा हुन थालेको छ । 

हुन त माइक्रोसफ्ट नै ओपनएआईको सबैभन्दा ठुलो लगानीकर्ता हो । र, ओपनएआईका सेवा आफ्ना उत्पादनमा राखेर माइक्रोसफ्टले आफूलाई कसरी अब्बल सावित गर्न लागिपरेको छ भन्ने विषय पनि प्रष्ट छ । तर, ब्रान्ड र नवीनतम खोजका हिसाबले ओपनएआई निकै अगाडि छ । यसैले गर्दा माइक्रोसफ्ट दिनानुदिन छायाँमा पर्दै गएको छ । 

यता माइक्रोसफ्टको निकटतम प्रतिद्वन्द्वी गुगल भने आफ्नै प्लेटफर्म विस्तार गर्न लागिपरेको छ । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले पनि मेटा एआईलाई अघि सारिरहेको छ । तर, माइक्रोसफ्ट चैँ ओपनएआईमै निर्भर छ । ओपनएआईप्रतिको निर्भरताले माइक्रोसफ्टको अस्तित्व नै धराशायी हुन सक्ने भन्दै यसमा मस्कको आशयलाई पनि जोडेर हेरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८२ १३:७