कुनै समयको एउटा सानो प्रयोगशालाले यसरी एनभिडियालाई विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनायो
साउन २७, २०८२ १९:५६
काठमाडौँ । एक समय सानो अनुसन्धान प्रयोगशालाको रूपमा रहेको एनभिडियाको रिसर्च ल्याबले अहिले कम्पनीलाई ४ ट्रिलियन डलरको विशाल कम्पनीमा परिणत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सन् १९९० को दशकमा भिडियो गेम जीपीयू स्टार्टअपको रूपमा सुरु भएको एनभिडियालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्रान्तिको प्रमुख शक्ति बनाउनमा यो प्रयोगशालाको ठुलो योगदान रहेको छ ।
हाल यो प्रयोगशालाले रोबोटिक्स र एआईका लागि आवश्यक प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । जसका केही कामहरू उत्पादनको रूपमा समेत देखिन थालेका छन् ।
सन् २००९ मा बिल ड्याली एनभिडियाको अनुसन्धान प्रयोगशालामा सामेल हुँदा त्यहाँ करिब एक दर्जन मात्र कर्मचारी थिए र यसको मुख्य ध्यान कम्प्युटर ग्राफिक्समा प्रयोग हुने रे ट्रेसिङ (ray tracing) प्रविधिमा केन्द्रित थियो ।
ड्याली अहिले एनभिडियाका प्रमुख वैज्ञानिक हुन् । उनले सन् २००३ देखि स्ट्यानफोर्डमा काम गर्दादेखि नै एनभिडियालाई परामर्श दिइरहेका थिए ।
ड्यालीले सन् २००९ मा प्रयोगशालाको जिम्मेवारी सम्हालेपछि तत्कालै यसको विस्तारमा जोड दिए । उनीहरूले रे ट्रेसिङ बाहेक सर्किट डिजाइन र भीएलएसआई (एउटै चिपमा करोडौँ, अर्बौँ ट्रान्जिस्टरलाई जोडेर इन्टिग्रेटेड सर्किट तयार पार्ने काम) जस्ता क्षेत्रमा पनि काम गर्न थाले ।
यो प्रयोगशालाले अहिले ४०० भन्दा बढीलाई रोजगार दिन्छ । एनभिडिया एआईको उछालमा सुरुदेखि नै अग्रपङ्क्तिमा थियो ।
सन् २०१० मा अर्थात् हालको एआई क्रेजभन्दा एक दशकभन्दा अघि, एनभिडियाले एआई जीपीयूको अवधारणामा काम गर्न सुरु गर्यो । ड्यालीले तत्कालै यसको सम्भाव्यता देखेर कम्पनीका सीईओ जेन्सन हुआङलाई मनाए । त्यसपछि कम्पनीले जीपीयूहरूलाई एआईका लागि विशेष बनाउन र यसलाई सपोर्ट गर्ने विभिन्न सफ्टवेयरको विकास थाल्यो ।
यसरी अहिले आएर एआई जीपीयू बजारमा एनभिडियाको बलियो पकड बनेको छ । जसमा रहेर कम्पनीले एआई डेटा सेन्टरभन्दा बाहिर नयाँ बजार क्षेत्रहरू खोज्न थालेको छ, जसले उनीहरूलाई भौतिक एआई (भौतिक प्रणालीमा एआई एकीकृत गर्ने कार्य) र रोबोटिक्स तर्फ डोर्याएको छ ।
ड्यालीले रोबोटहरू भविष्यमा संसारमा प्रमुख खेलाडी बन्ने र एनभिडियाले सबै रोबोटहरूको मस्तिष्क बनाउन चाहेको बताएका छन् । सन् २०१८ मा एनभिडियाको अनुसन्धान प्रयोगशालामा सामेल भएकी सान्जा फिडलर अहिले एआई अनुसन्धानकी उपाध्यक्ष छिन् । जसले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्छिन् । उनले टोरोन्टोमा ओम्निभर्स नामक एक अनुसन्धान प्रयोगशाला स्थापना गरेकी छिन्, जसको मुख्य ध्यान भौतिक एआईका लागि सिमुलेसनहरू निर्माण गर्नु हो ।
सिमुलेटेड संसार निर्माण गर्न पहिलो चुनौती भनेकै आवश्यक थ्रीडी डेटा खोज्नु थियो । यसका लागि उनीहरूले डिफ्रेन्सिएबल रेन्डरिङ नामक प्रविधिमा लगानी गरे । जसले रेन्डरिङलाई एआईको लागि उपयुक्त बनाउँछ र तस्विरलाई थ्रीडी मोडलमा रूपान्तरण गर्न सहयोग गर्छ ।
ओम्निभर्सले सन् २०२१ मा तस्विरहरूलाई थ्रीडी मोडलमा रूपान्तरण गर्ने आफ्नो मोडल जेनभर्सथ्रिडी (GANverse3D) को पहिलो संस्करण जारी गर्यो । त्यसपछि उनीहरूले भिडिओका लागि पनि यही प्रक्रिया पत्ता लगाउने काम गरे । जसका लागि न्युरिक न्युरल रिकन्स्ट्रक्सन इन्जिन (Neuric Neural Reconstruction Engine) प्रयोग गरियो, जसको घोषणा २०२२ मा गरिएको थियो ।
यी प्रविधिहरू कम्पनीको कसमस प्लेटफर्मका वल्ड फाउन्डेसन मोडल हुन्, जुन यस वर्षको जनवरीमा सीईएसका क्रममा घोषणा गरिएका थिए । हाल प्रयोगशाला यी मोडलहरूलाई छिटो बनाउनमा केन्द्रित छ, ताकि रोबोटहरूले प्रतिक्रिया दिने समय अझ तीव्र होस् ।
एनभिडियाले हालै सिग्राफ (SIGGRAPH) कम्प्युटर ग्राफिक्स सम्मेलनमा रोबोटहरूलाई तालिम दिन प्रयोग गर्न सकिने सिंथेटिक डेटा सिर्जना गर्न डिजाइन गरिएका नयाँ एआई मोडलहरू घोषणा गरेको थियो । कम्पनीले रोबोटिक्स विकासकर्ताहरूका लागि नयाँ लाइब्रेरी र पूर्वाधार सफ्टवेयरको पनि घोषणा गरेको छ ।
ड्याली र फिडलर दुवैले उद्योग अझै केही वर्ष टाढा रहेको बताएका छन्, जब ह्युमनोइड (मानव जस्तै) रोबोटहरू घरमा उपलब्ध हुनेछन् । फिडलरले यसलाई स्वचालित सवारी साधनको प्रचार र समय रेखासँग तुलना गरेकी छिन् ।
ड्याली एआईले रोबोटका लागि ठुलो प्रगति सम्भव देखाएको बताउँछन् । विशेष गरी रोबोटिक कन्सेप्टका लागि भिजुअल एआई र कार्य तथा गति योजनाका लागि जेनेरेटिभ एआई ।
एनभिडियाको अनुसन्धान प्रयोगशालाको विस्तार र एआई तथा रोबोटिक्समा यसको निरन्तर लगानीले भविष्यको प्रविधि निर्माणमा यसको भूमिका अझै महत्त्वपूर्ण हुने सङ्केत गर्छ ।
-द टेकक्रन्च
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १९:५६
