नेपाल टेलिकमको नाफा साढे ३ अर्बले घट्यो, चौथो त्रैमासिकमा आम्दानी ३८ अर्ब ७३ करोडमा सीमित
साउन ३१, २०८२ ९:१
काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको खुद नाफा तीन अर्ब ५६ करोड रुपैयाँले घटेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार सो अवधिमा दुई अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ थियो । यसअनुसार टेलिकमको नाफा ५७.२१ प्रतिशतले घटेको छ ।
टेलिकमको कुल आय र कुल सञ्चालन आयमा पनि गिरावट देखिएको छ । टेलिकमको आम्दानी ८.०३ प्रतिशतले घटेको छ । गत आवको चौथो त्रैमासिकमा कम्पनीले ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकि कम्पनीले अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो । अर्थात् कम्पनीको आम्दानी तीन अर्ब ३८ करोड रुपैयाँले घटेको छ ।
गत आवको चौथो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड रुपैयाँ रहेकामा अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ३४ अर्ब ५६ करोड रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ छ ।
टेलिकमका अनुसार ओभर द टप (ओटीटी) एपहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेकाले व्यापारमा धक्का पुगेको छ । विदेशी कलमा संख्या घट्दा टेलिकमको अन्तरआबद्धता आय अघिल्लो आव २०८०/८१ को चौथो त्रैमासिकसम्मको तुलनामा ४१ करोड ९० लाख रुपैयाँले घटेको छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाबाट हुने आयमा नकारात्मक प्रभाव परिरहेको जनाएको छ ।
कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गरेको थियो । यस्तै, सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरूको निवृत्तिभरणको लागि अघिल्लो वर्ष २०८०/८१ मा चार अर्ब ९७ करोड रुपैयाँ र गत आवको तेस्रो त्रैमासिकसम्म १३ अर्ब १५ करोड रुपैयाँ छुटपछि लगानीमा कमी भएको टेलिकमले जनाएको छ ।
यसका साथै बैंक तथा वित्तीय संस्थाहरूले दिने ब्याज दर क्रमिक रूपमा घट्दा कम्पनीले ब्याजबाट गर्ने आय अघिल्लो आव २०८०/८१ को चौथो त्रैमासिकसम्मको तुलनामा तीन अर्ब सात करोड रुपैयाँले घटेको छ । यो ४५.२९ प्रतिशतको गिरावट हो ।
यसका साथै प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायकहरूले मोबिलिटी गरी वाई-फाई सेवा दिँदा मोबाइलको डेटा प्रयोगमा उल्लेखनीय कमी आएको आरोप टेलिकमको छ ।
त्यसैगरी, राज्यको लगानी भएको कम्पनी भएकाले बढी लागत तर कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको काम गर्नुपरेकाले खर्च बढिरहेको कम्पनीले जनाएको छ ।
सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती हुँदा राजश्वमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ ।
त्यसैगरी, कम्पनीले नेपाल सार्वजनिक क्षेत्र लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा गत आवम १३ अर्ब १५ करोड ‘Defined Benefit Assets’ मा थप रकम छुट्याएकाले सिर्जना भएको स्थगन करको प्रभाव वित्तीय स्वास्थ्यमा परेको जनाएको छ ।
नेपाल लेखामान १९ अनुसार कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित डिस्काउन्ट रेट हालको वित्तीय बजार स्थिति तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५% बाट ७% मा घटेकोले टेलिकमका कर्मचारीको निवृत्तिभरण रकम बढेको छ ।
टेलिकमले अघिल्लो आव २०८०/८१ सम्म ‘Contingent Liabilities’ मा देखाएको कर लगायतका केही मुद्दाहरू गत आवमा छिनोफानो भएपछि कम्पनीलाई परेको थप आर्थिक भार व्यवस्थापन गरेपछि वित्तीय विवरणमा प्रभाव पर्न गएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३१, २०८२ ९:२४
