च्याटजीपीटीको मोबाइल एपले कमायो २ खर्ब ८० अर्ब रुपैयाँ, प्रति डाउनलोड ४०० रुपैयाँ
साउन ३१, २०८२ १४:१२
काठमाडौँ । अहिलेको लोकप्रिय एआई च्याटबट च्याटजीपीटीको मोबाइल एपले विश्वव्यापी रूपमा प्रयोगकर्ता खर्च (global consumer spending) मा दुई अर्ब डलर (करिब दुई खर्ब ८० अर्ब नेपाली रुपैयाँ) को आँकडा पार गरेको छ । एप इन्टेलिजेन्स प्रदायक एपफिगर्सको नयाँ विश्लेषणले सन् २०२३ को मे महिनामा सुरु भएदेखि नै च्याटजीपीटीको एपले आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा प्रतिस्पर्धीहरू क्लाउड (Claude), कोपाइलट र ग्रोकको संयुक्त आम्दानीभन्दा करिब ३० गुणा बढी आर्जन गरेको देखाएको छ ।
यो वर्षको जनवरीदेखि जुलाईसम्ममा मात्र च्याटजीपीटीको मोबाइल एपले १.३५ अर्ब डलर आम्दानी गरेको छ । यो गत वर्ष (सन् २०२४) को सोही अवधिको १७ करोड ४० लाख डलरको तुलनामा ६७३ प्रतिशतको वृद्धि हो ।
औसतमा यो एपले प्रति महिना करिब १९ करोड ३० लाख डलर कमाइरहेको छ । जुन गत वर्षको दुई करोड ५० लाख डलर प्रति महिनाको तुलनामा उल्लेख्य बढी हो ।
च्याटजीपीटीको निकटतम मोबाइल प्रतिस्पर्धी ग्रोकले सन् २०२५ को हालसम्म करिब दुई करोड ५६ लाख डलर आम्दानी गरेको छ । जुन च्याटजीपीटीको तुलनामा करिब ५३ गुणा कम हो । ग्रोकको औसत मासिक प्रयोगकर्ता (उपभोक्ता) खर्च ३६ लाख डलर अनुमान गरिएको छ, जुन च्याटजीपीटीको १.९ प्रतिशत मात्र हो ।
प्रति डाउनलोड आम्दानीमा पनि च्याटजीपीटी अगाडि रहेको छ । एपफिगर्सको तथ्याङ्कअनुसार च्याटजीपीटीको समग्र प्रति डाउनलोड आम्दानी २.९१ डलर (४०० रुपैयाँ बढी) रहेको छ । जबकि क्लाउडको २.५५ डलर, ग्रोकको ०.७५ डलर र कोपाइलटको ०.२८ डलर रहेको छ ।

डाउनलोडका हिसाबले पनि च्याटजीपीटीको प्रभुत्व स्पष्ट देखिन्छ । यस एपलाई विश्वव्यापी रूपमा करिब ६९ करोड पटक इन्स्टल गरिएको छ । जबकि ग्रोकको डाउनलोड तीन करोड ९५ लाख मात्र छ ।
सन् २०२५ मा मात्र च्याटजीपीटीको एप ३१ करोड ८० लाख पटक डाउनलोड भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८ गुणा बढी हो । समग्र डाउनलोडमा भारत १३.७ प्रतिशत हिस्सासहित शीर्ष स्थानमा छ । त्यसपछि अमेरिका १०.३ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ ।
पछिल्लो अध्यावधिक: साउन ३१, २०८२ १४:४२
