काठमाडौँ । विश्वभर इन्टरनेट विस्तार गर्ने महत्त्वाकांक्षी योजनाअन्तर्गत एलन मस्कको कम्पनी स्पेसएक्सले थप २४ ओटा स्टारलिंक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । आइतबार क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट फाल्कन ९ रकेट प्रक्षेपण गरी यी स्याटलाइट अर्बिटमा पुर्याइएको छ ।
उडान भरेको ९ मिनेटमा स्याटलाइट अन्तरिक्षमा पुगेको बताइएको छ । योसँगै स्पेसएक्सको सक्रिय स्टारलिंक स्याटलाइटको संख्या आठ हजार एक सय नाघेको छ । सन् २०१८ यता स्टारलिंले नौ हजार ४ सय स्याटलाइट लञ्च गरिसकेको छ ।
यस मिसनसँगै स्पेसएक्सको सन् २०२५ मा ९८औँ र सन् २०१० मा पहिलो पटक प्रयोग भएदेखि ५१६औँ फाल्कन ९ उडान सम्पन्न भएको छ । कम्पनीले अहिलेसम्म ४५२ पटक बुस्टर पुनः प्रयोग गरेको र ४८७ पटक बुस्टर अवतरण सफलतापूर्वक गरेको जनाएको छ ।
बढ्दो नेटवर्क र कभरेजसँगै स्टारलिंकले विश्वभर कम मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ । १३० हाराहारी देशहरूमा स्टारलिंकको सेवा उपलब्ध छ । स्टारलिंकले अन्तरिक्षमा १२ हजार स्याटलाइट पुर्याउने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ ८:५७
