नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिसलाई विट्साको ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’
भदौ ४, २०८२ १३:१०
काठमाडौं । सूचना प्रविधि सम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इनोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) बाट ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट २०२५’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार सम्पन्न एक समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्याएको तथा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ । देशको डिजिटल रूपान्तरणमा ब्रोडवेले खेलेको महत्त्वपूर्ण भूमिकाको पनि अवार्डले प्रशंसा गरेको छ ।
ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका थिए ।
विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी संस्थाहरूको एक छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गरेको ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याउने महत्त्वपूर्ण मञ्च मानिने क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले बताए ।
‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा केन्द्रित यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको छ । ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौं कम्पनीहरूले मनोनयन दर्ता गराएका थिए ।
उक्त अवसरमा हालै जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति निर्माणमा क्यान महासंघले नेपाल सरकारलाई दिएको सुझावलगायतका विषयमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष एवं विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, क्यान महासंघका प्रबन्धक उदिप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायतको समेत सहभागिता रहेको थियो ।
पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १३:२७
