वर्ल्डलिंकले ल्यायो ‘नेटटिभी प्रिमियम’ सेवा, मासिक ५० रुपैयाँमा ४ हजार बढी फिल्म र सिरिज
भदौ ६, २०८२ १८:३१
काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष ओटिटी (ओभर-द-टप) सेवा ‘नेटटिभी प्रिमियम’ सुरु गरेको छ । एनआईटीभी स्ट्रिम्ज प्रालिले विकास गरेको नेटटिभीको यो प्रिमियम प्याकेजलाई वर्ल्डलिंकले आफ्ना ग्राहकमाझ विस्तार गरेको हो । यसअन्तर्गत मासिक मात्र ५० रुपैयाँको सुरुवाती शुल्कमा चार हजारभन्दा बढी चलचित्र तथा वेब सिरिज उपलब्ध हुने बताइएको छ ।
एनआईटीभी स्ट्रिम्जका अनुसार यो सेवा नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा एउटा ठुलो फड्को हो । यसमा एउटै प्लेटफर्ममा हजारौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्टेन्टहरू समावेश छन् । यो सेवा हाल वर्ल्डलिंकका नेटटिभी सेट-टप बक्स प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ ।
के-के पाइन्छ प्रिमियम प्याकेजमा ?
नेटटिभी प्रिमियम प्याकेजमा मनोरञ्जनको ‘विशाल भण्डार’ छ । यसमा निम्न कुरा समावेश छन्:
-
४०००+ हलिउड र बलिउड चलचित्र तथा वेब सिरिज: विभिन्न भाषा र विधाका हजारौँ चलचित्रहरू ।
-
१००+ नेपाली चलचित्र: हरेक हप्ता नयाँ नेपाली चलचित्रहरू थपिने
-
७०+ वेब सिरिज: चर्चित र नयाँ वेब सिरिजहरूको सङ्ग्रह ।
-
३००+ लाइभ टिभी च्यानल: एचडी र एसडी क्वालिटीमा देश-विदेशका च्यानलहरू ।
एनआईटीभी स्ट्रिम्जका प्रतिनिधिले टेकपानासँग भने, “हामीले अन्तर्राष्ट्रिय स्तरको कन्टेन्टलाई नेपाली दर्शकमाझ सस्तो र सहज रूपमा पुर्याउने लक्ष्य राखेका छौँ । यो नेपालमा पहिलो पटक हो, जहाँ लायन्सगेट जस्ता अन्तर्राष्ट्रिय एग्रीगेटरदेखि ओएसआर डिजिटल जस्ता नेपाली कन्टेन्ट क्रिएटरका सामग्री एउटै छातामुनि ल्याइएको छ ।”
शुल्क कति र कसरी ?
वर्ल्डलिंकले यो सेवालाई विभिन्न मूल्यमा प्रस्तुत गरेको छ ।
-
विशेष सुरुवाती अफर: हालको लागि यो सेवा मासिक मात्र ५० रुपैयाँ (भ्याट बाहेक) मा अपग्रेड गर्न सकिनेछ । यो अफर एक वर्षसम्म लागु हुनेछ ।
-
नियमित शुल्क: सुरुवाती अफरपछि यसको नियमित शुल्क मासिक ३०० रुपैयाँ हुनेछ ।
-
कम्बो प्याकका ग्राहकलाई फाइदा: इन्टरनेटसँगै नेटटिभीको कम्बो प्याकेज लिइरहेका ग्राहकले आफ्नो मासिक शुल्कमा ५० रुपैयाँ थपेर यो सेवा लिन सक्नेछन् ।
-
छुट्टै नेटटिभी प्रयोगकर्ता: जसले नेटटिभीको सेवा मात्रै छुट्टै लिइरहेका छन्, उनीहरूले भने अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
“अहिले एउटा चलचित्र हेर्नकै लागि २५०-३०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था भएकोमा अब मासिक ५० रुपैयाँमै हजारौँ कन्टेन्ट हेर्न पाइनेछ । जसले ग्राहकलाई ठुलो आर्थिक राहत दिन्छ," वर्ल्डलिंकका प्रतिनिधिले भने ।
मनोरञ्जन बजारमा नयाँ तरंग ल्याउने विश्वास
कम्पनीले यो सेवालाई नेपालको मनोरञ्जन बजारका लागि एक ऐतिहासिक कदमको रूपमा परिभाषित गरेको छ । हालसम्म नेपालमा यति ठुलो संख्यामा कन्टेन्ट एग्रीगेट गरेर कुनै पनि सेवा प्रदायकले ओटिटी सेवा दिएका थिएनन् । वर्ल्डलिंकका करिब साढे पाँच लाख सेट-टप बक्स प्रयोगकर्ताले तत्कालै यसको लाभ लिन सक्नेछन् ।
यो सेवाले नेटफ्लिक्स वा अमेजन प्राइम जस्तो मौलिक सामग्री (ओरिजिनल्स) निर्माण गर्ने नभई विभिन्न प्रोडक्सन हाउस र एग्रीगेटरहरूबाट सामग्री खरिद गरेर दर्शकलाई उपलब्ध गराउनेछ ।
हाल यो सेवा नेटटिभीको सेट-टप बक्समा मात्र उपलब्ध भए पनि अबको तीन देखि चार महिनाभित्र मोबाइल एपमा पनि ल्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ । यसले प्रयोगकर्तालाई जुनसुकै ठाउँबाट पनि आफ्नो मनपर्ने सामग्री हेर्ने सुविधा दिनेछ ।
युट्युब , टिकटकजस्ता प्लेटफर्ममा प्रयोगकर्ताको समय बितिरहेको अवस्थामा यो सेवाले गुणस्तरीय र व्यवस्थित मनोरञ्जनतर्फ दर्शकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १९:५२
