close

सामाजिक सञ्जालमा ‘प्री-आईपीओ’को विज्ञापन देख्नुभयो ? सावधान, ठगिनुहोला !

टेकपाना टेकपाना

भदौ ९, २०८२ १९:२९

सामाजिक सञ्जालमा ‘प्री-आईपीओ’को विज्ञापन देख्नुभयो ? सावधान, ठगिनुहोला !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘प्री-आईपीओ’ का नाममा सर्वसाधारणलाई शेयर बिक्री गर्ने कामलाई पूर्ण रूपमा गैरकानुनी ठहर गर्दै यस्ता गतिविधिमा संलग्न नहुन लगानीकर्तालाई सचेत गराएको छ । सोमबार एक सूचना जारी गर्दै बोर्डले सामाजिक सञ्जालमार्फत भविष्यमा आईपीओ जारी गर्ने प्रलोभन देखाई भइरहेको अनधिकृत रकम सङ्कलनबाट जोगिन लगानीकर्तालाई आग्रह गरेको हो ।

बोर्डका अनुसार सार्वजनिक निष्कासनमा नगएका विभिन्न कम्पनीले सामाजिक सञ्जालका ग्रुप (ह्वाट्सएप, भाइबर, फेसबुक), इमेल तथा एसएमएसमार्फत निकट भविष्यमा आईपीओ जारी गर्ने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम सङ्कलन गरिरहेको पाइएको छ । सर्वसाधारण ठगिएको गुनासो बढेपछि बोर्डले यस्तो गतिविधिबाट बच्न सूचना नै जारी गरेको हो ।

बोर्डले प्रचलित कानुनमा ‘प्री-आईपीओ’ सम्बन्धी कुनै व्यवस्था नै नभएको स्पष्ट पारेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ (१) अनुसार कुनै पनि संगठित संस्थाले एकैपटकमा पचास जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्दा त्यसलाई सार्वजनिक निष्कासन मानिन्छ र त्यसका लागि बोर्डको अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ ।

बोर्डको अनुमतिबिना यसरी सार्वजनिक रूपमा शेयर खरिद-बिक्री गर्नु कानुनविपरीत र दण्डनीय भएको बोर्डको सूचनामा उल्लेख छ । बोर्डले यस्ता क्रियाकलापमा संलग्न नहुन र कुनै पनि प्रलोभनमा नपरी लगानी गर्न सबैलाई सुझाव दिएको हो ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १९:५१