close

बजारमै नआएको आईफोन १७ बेच्ने भन्दै नेपालमा फेसबुकमार्फत ठगी धन्दा, यसरी फस्छन् सोझा मान्छे

टेकपाना टेकपाना

भदौ १०, २०८२ १७:२२

बजारमै नआएको आईफोन १७ बेच्ने भन्दै नेपालमा फेसबुकमार्फत ठगी धन्दा, यसरी फस्छन् सोझा मान्छे

काठमाडौँ । बजारमा सार्वजनिक नै नभएको एप्पलको 'आईफोन १७' सस्तो मूल्यमा बिक्रीमा राखेर नेपाली प्रयोगकर्तालाई ठग्ने नयाँ शैलीको पर्दाफास भएको छ । सामाजिक सञ्जाल फेसबुकको मार्केटप्लेसमा 'राज थापा' नामक नक्कली अकाउन्ट प्रयोग गरी एक व्यक्तिले ग्राहकलाई विश्वासमा पार्न नक्कली तस्बिर र कागजपत्रसमेत पठाएर ठगी गरिरहेको पाइएको हो ।

सोमबार टेकपानाले यस विषयमा समाचार प्रकाशन गरेको थियो । यसै सिलसिलामा टेकपानाले ग्राहक बनेर स्क्यामरलाई सम्पर्क गर्‍यो । ती प्रयोगकर्ताले अन्य आईफोन र कुर्ताको विज्ञापन राखेको शैली आफैँमा शङ्कास्पद थियो । कुनै पनि समस्या नभएको भन्दै फोन निकै सस्तो मूल्यमा राखिएका थिए । त्यसका साथै आकर्षक देखिने कुर्ताहरू पनि त्यस्तै सस्तोमा थिए ।

ती प्रयोगकर्ताको अकाउन्ट नयाँ थियो । त्यसमाथि, सामान जनकपुरबाट बिक्रीमा राखिएको देखाइए पनि प्रोफाइलको लोकेसन भने जापान उल्लेख थियो । उनको टाइमलाइन पनि रित्तो थियो । यी विभिन्न पक्षलाई आधार मान्दा यो ठगीकै नियतले सञ्चालन गरिएको पुष्टि हुन्छ ।

यो ठगीको शैली बुझ्न टेकपानाले ग्राहकका रूपमा बिक्रेतासँग गरेको कुराकानीः​

स्क्यामरले ‘आईफोन १७’ भन्दै विज्ञापनमा राखेको फोटोलाई ‘रिभर्स इमेज सर्च’ गर्दा उक्त तस्बिर ‘टेकड्रोइड’ (TechDroider) नामक फेसबुक पेजले १८ जुन, २०२३ मा ‘आईफोन १७ प्रो म्याक्स (कन्सेप्ट)’ क्याप्सनसहित पोस्ट गरेको भेटियो । विज्ञापनको फोटोमा टेकड्रोइडको वाटरमार्क पनि स्पष्ट देखिन्छ ।

स्क्यामरसँग थप फोटो माग्दा उसले आईफोन १७ हातमा लिएर खिचेको फोटो नै पठाएको छ । त्यसबाहेक विश्वस्त बनाउन नागरिकता, पसलको प्रमाणपत्र (नबुझिने र नाम पनि मेटाइएको) लगायतका विवरण पनि स्क्यामरले पठाएको छ । यतिसम्म कि यो फोन अन्य प्रयोगकर्ताले खरिद गरिसकेको र राम्रो रिभ्यु आएको भन्दै स्क्रिनशट पनि पठाएको छ ।

स्क्यामरको यो शैली नौलो भने होइन । सामान किन्न हतार गर्न लगाएर (creating urgency) मानिसहरूबाट रकम असुल्ने र सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दो छ । भुक्तानीका लागि प्रयोग भएका वालेट वा बैंक अकाउन्ट भाडामा लिएको वा नक्कली बनाएको देखिन्छ ।

नक्कली सिम बनाउनेदेखि नक्कली बैंक अकाउन्ट खोल्नेसम्मका गतिविधि भइरहेका छन् । कतिपय अवस्थामा, मासिक केही सयदेखि हजार रुपैयाँसम्म दिने प्रलोभन देखाएर अरूको बैंक अकाउन्ट भाडामा लिने र त्यसलाई अनलाइन ठगी, सट्टेबाजी र लगानीसम्बन्धी स्क्याममा दुरुपयोग गर्ने गरेको पाइन्छ ।

 


 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १९:११