close

रास्वपा नेता अरनिको पाँडे साइबर अपराधको आरोपमा पक्राउ

टेकपाना टेकपाना

भदौ ११, २०८२ २२:२६

रास्वपा नेता अरनिको पाँडे साइबर अपराधको आरोपमा पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई साइबर अपराध सम्बन्धी उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलाले ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको र चरित्रहत्या गरेको भन्दै जाहेरी दिएपछि पाँडेलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीले टेकपानालाई जानकारी दिए ।

बुधबार अपराह्न ४ बजेतिर उनी आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए । जाहेरी दर्ता भई अदालतबाट पक्राउ अनुमति लिइसकेकाले ब्युरोमा उपस्थित भएसँगै उनलाई हिरासतमा लिइएको अवस्थीले बताए ।

उनका अनुसार बुधबार अबेर गरी उपस्थित भएका कारण पाँडेलाई म्याद थपका लागि अदालतमा पेस गर्न सम्भव भएन । अब उनलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ ।

वातावरणविद्को परिचय बनाएका डा. पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । २०७९ सालमा रास्वपा प्रवेश गरेका उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

यसैबिच, सोही प्रकृतिको साइबर अपराध मुद्दामा पक्राउ परेका नेकपा एमाले केन्द्रीय सदस्य ऐन महर भने बुधबार केही घण्टामै रिहा भएका छन् ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ २२:२६