close

दर्शकको गोपनीयता र फिल्मको सुरक्षा लागि ‘आईएनआई सिनेमाज’ मा भिडिओ खिच्न प्रतिबन्ध

टेकपाना टेकपाना

भदौ १२, २०८२ १४:५९

दर्शकको गोपनीयता र फिल्मको सुरक्षा लागि ‘आईएनआई सिनेमाज’ मा भिडिओ खिच्न प्रतिबन्ध

काठमाडौँ । आईएनआई सिनेमाजले आफ्ना सिनेमा हलमा भिडिओ क्यामेराको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत आईएनआई सिनेमाजका सञ्चालक दीपकराज गिरीले यो जानकारी दिएका हुन् ।

कलाकार/निर्माता समेत रहेका गिरीले व्यावसायिक प्रदर्शन भइरहेका बेला दर्शकले कुनै अवरोधबिना चलचित्र हेर्न पाउने अधिकार सुनिश्चित गर्न र फिल्मको व्यावसायिक सुरक्षा कायम राख्ने उद्देश्यले यो निर्णय गरिएको बताए ।

टेकपानासँगको कुराकानीमा उनले यो नियम विशेषगरी फिल्म हलभित्रै दर्शकको प्रतिक्रिया, भावना वा हाँसो-रोएको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रसारण गर्ने युट्युबर र अनलाइन पत्रकारलाई लक्षित गरी ल्याइएको सुनाए ।

“दर्शकले आफ्नो निजी पलमा फिल्म हेर्न पाउनुपर्छ । कसैले रोएको वा हाँसेको बेला भिडिओ खिच्दा उनीहरूको गोपनीयता भङ्ग हुन्छ । त्यसैले हामीले यो कदम चालेका हौँ,” गिरीले भने ।

उनका अनुसार यो प्रतिबन्ध हलभित्र मात्र लागु हुनेछ । हल बाहिर भने पत्रकार वा दर्शकले फिल्मको समीक्षा वा प्रतिक्रिया दिन सक्नेछन् । फिल्म सकिएपछि दर्शकले मास्क लगाएर वा कलाकारसँगै बसेर पनि प्रतिक्रिया दिनसक्ने व्यवस्था रहने उनले बताए ।

यो कदम अन्य नेपाली सिनेमा हलका लागि पनि एउटा उदाहरण बन्ने उनले विश्वास व्यक्त गरे । “हामीले आईएनआईबाट सुरु गरेका छौँ, मलाई लाग्छ अरू हलहरूले पनि यसलाई पछ्याउनेछन्,” गिरीले भने ।

आईएनआई सिनेमाज अन्तर्गत हाल काठमाडौँ, बुटवल र सिमरामा गरी चार हल सञ्चालन भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १५:२८