close

गोप्य फोन कलकै कारण अन्तत: थाइल्याण्डकी प्रधानमन्त्री पदमुक्त

टेकपाना टेकपाना

भदौ १३, २०८२ १७:४३

गोप्य फोन कलकै कारण अन्तत: थाइल्याण्डकी प्रधानमन्त्री पदमुक्त

काठमाडौँ । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको गोप्य टेलिफोन संवाद बाहिरिएपछि निलम्बित रहेकी थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई त्यहाँको संवैधानिक अदालतले पदबाट पदमुक्त गरेको छ । शुक्रबार फैसला सार्वजनिक भएसँगै ३९ वर्षीया शिनावात्रा पदच्युत भएकी हुन् ।

नौ सदस्यीय संवैधानिक अदालतले कम्बोडियासँग सीमा विवाद चर्किएको संवेदनशील समयमा हुन सेनसँग भएको संवादमार्फत शिनावात्राले राष्ट्रको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको निष्कर्ष निकालेको हो ।

सार्वजनिक अडियोमा शिनावात्राले हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गर्दै आफ्नै एक वरिष्ठ थाई सैन्य अधिकारीलाई ‘विरोधी’ भनेकी थिइन् । सो संवादपछि दुई देशबिचको सीमा विवाद चर्कँदा दर्जनौँको मृत्यु भएको र हजारौँ विस्थापित भएको तथ्य अदालतसमक्ष प्रस्तुत गरिएको थियो ।

फैसलापछि पत्रकारहरूसँग कुरा गर्दै शिनावात्राले देशको हितका लागि काम गरेको दाबी गर्दै राजनीतिक एकताको आह्वान गरेकी छन् । “मेरो नियत देशको भलाइका लागि थियो । व्यक्तिगत लाभका लागि थिएन । बरु नागरिक र सेनासहित जनताको जीवनका लागि थियो,” उनले भनिन्, “यस्तो समयमा सबैले राष्ट्रको स्थिरतामा योगदान दिन एकजुट हुनुपर्छ ।”

यो फैसलाले शिनावात्रा परिवारमाथि थप दबाब सिर्जना गरेको छ । गत वर्ष श्रेथा थाभिसिन पनि नैतिक उल्लंघनकै आरोपमा प्रधानमन्त्रीबाट बर्खास्त भएका थिए । यसअघि उनका पिता पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा भ्रष्टाचार मुद्दामा १६ वर्ष लामो निर्वासनपछि थाइल्याण्ड फर्किएका थिए ।

के थियो घटना ?

१५ जुनमा भएको उक्त फोन संवादमा पेटोङटार्न शिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गरेको सुनिन्छ । साथै, सीमा झडपका कारण एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि उनले आफ्नै सेनाको आलोचना गरेकी थिइन् ।

शिनावात्राले हुन सेनसँग आफूमाथि देशभित्र बाटै दबाब रहेको र विपक्षी (जसबाट उनले थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रका एक थाई सेना कमाण्डरलाई संकेत गरेकी थिइन्) को कुरा नसुन्न आग्रह गरेको सुनिन्छ । साथै उनले वार्तामा उनले ‘केही चाहिन्छ भने मलाई भन्नुस्, म मिलाउँछु’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

थाइल्याण्ड र क्याम्बोडियाबिच ८१७ किलोमिटर लामो सीमा छ । इतिहासदेखि नै सीमा विवाद र सैनिक झडपले यी दुई देशबिचको सम्बन्ध तनावपूर्ण बन्ने गरेको छ । अहिलेको विवाद पनि यही सन्दर्भसँग जोडिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १८:३