‘राजालाई सत्ता सुम्पन सरकारलाई सेनापतिले चेतावनी दिए’ भन्दै भ्रामक रिल्स राख्ने युवकलाई साइबर अपराधको मुद्दा
भदौ १४, २०८२ १८:८
काठमाडौँ । प्रधान सेनापतिले ‘सत्ता राजालाई सुम्पिन सरकारलाई चेतावनी’ दिएको भन्दै भ्रामक सूचना फैलाउने युवक विरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले पर्सा घर भएका ४० वर्षीय सन्दीप गुप्ता विरुद्ध मुद्दा दायर गरेको हो ।
आरोपी गुप्ताले प्रधान सेनापति महारथी अशोकराज सिग्देलको तस्बिर दुरुपयोग गरी राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा आम जनमानसमा भ्रम र द्वेष फैलाएको अभियोगपत्रमा उल्लेख छ । नेपाली सेनाको सैनिक प्रहरी गण, जङ्गी अड्डाले दिएको जाहेरीका आधारमा अभियोग पत्र दायर भएको हो ।
अभियोगपत्र अनुसार गुप्ताले आफ्नो फेसबुक अकाउन्टबाट रिल्स भिडिओ पोस्ट गरेका थिए । उक्त रिल्समा प्रधान सेनापति सिग्देलको तस्बिरसँगै, “Breaking News नेपाली सेनाको सरकारलाई चेतावनी रक्तपात विहीन सत्ता राजालाई सुम्पिन अनुरोध, नत्र जे पनि हुन सक्छ…” भनी लेखिएको थियो ।
अभियोग पत्रमा गुप्ताको उक्त कार्यले नेपाली सेना र प्रधान सेनापतिको सार्वजनिक नैतिकता र शिष्टाचारमाथि गम्भीर असर पारेको, सेनाप्रति घृणा फैलाएको र आम मानिसमा भ्रम सिर्जना गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।
सरकारी वकिल कार्यालयले प्रतिवादी गुप्तालाई कानुन बमोजिम अधिकतम सजायको माग गरेको छ । उक्त दफाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
प्रतिवादी गुप्ता हाल फरार रहेको र उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्राचार गर्दा पनि फेला नपरेको अभियोग पत्रमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १८:८
