close

खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका मेयरलाई फोनमा धम्क्याएको आरोपमा टिकटकर पक्राउ

टेकपाना टेकपाना

भदौ १४, २०८२ २३:३५

खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका मेयरलाई फोनमा धम्क्याएको आरोपमा टिकटकर पक्राउ

काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा वीरगञ्जकी टिकटकर किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री यादवका स्वकीय सचिव र मेयर सिंहको उजुरीका आधारमा विद्युतीय अपराधअन्तर्गत अनुसन्धानका लागि शनिबार वीरगञ्जबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार केही दिनअघि मन्त्री यादव र मेयर सिंह दुवैलाई फोन गरी धम्की दिएर टेलिफोन वार्तालाप सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

शुक्रबारदेखि सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र किरण साहबिचको कुराकानीको अडियो भाइरल भएको छ । अडियोमा साहले मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे कडा शब्दमा प्रश्न गरेको सुनिन्छ । 

फोन रिसिभ भएपछि साहले मन्त्री यादवलाई पटकपटक गर्दा पनि फोन किन नउठाएको भन्दै प्रश्न गरेकी थिइन् । अडियोमा साहले वीरगञ्जमा हैजाका कारण धेरैको मृत्यु भएको र अस्पतालमा धेरै मानिस भर्ना भएको भन्दै उनले पानी वितरण गर्नुअघि परीक्षण नगरिएको आरोप लगाएकी छिन् ।

आफ्नै घरका चार जना सदस्य हैजाका कारण उपचाररत रहेको र आईसीयूमा भर्ना भएका परिवारको स्तरीय उपचार नभएको भन्दै उनले मन्त्रीलाई ‘तपाईंलाई छोड्दिनँ, मलाई डर लाग्दैन’ भन्दै चुनौती दिएको अडियोमा सुनिन्छ ।

यस विषयलाई लिएर शनिबार साँझसम्म सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ २३:५४