सामाजिक सञ्जाल प्रतिबन्धको चर्चाबिच साइबर ब्युरोको चेतावनी- जथाभावी भीपीएन प्रयोग नगर्नू
भदौ १८, २०८२ १९:३१
काठमाडौँ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चर्चा चलिरहेको बेला साइबर ब्युरोले जथाभावी भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्दा हुनसक्ने जोखिमबारे सचेत गराएको छ । बुधबार एक सूचना जारी गर्दै ब्युरोले असुरक्षित भीपीएनको प्रयोगले व्यक्तिगत विवरण चोरीदेखि बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने चेतावनी दिएको हो ।
सरकारले दर्ता नहुने प्लेटफर्मलाई प्रतिबन्ध लगाउने तयारी गरेपछि प्रयोगकर्ताले भीपीएनमार्फत त्यसलाई चलाउने विकल्पबारे चर्चा गरिरहेका छन् । यही पृष्ठभूमिमा ब्युरोले सम्भावित खतरालाई लिएर समयमै सचेत गराएको हो ।
ब्युरोले आफ्नो सूचनामा जथाभावी भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको युजरनेम, पासवर्ड लगायतका व्यक्तिगत विवरण चुहावट हुन सक्ने खतरा औंल्याएको छ । यस्तै असुरक्षित भीपीएनमार्फत बैंकिङ एप ह्याक भई आर्थिक क्षति हुन सक्ने र मोबाइल वा कम्प्युटरमा मालवेयर/भाइरस प्रवेश गरी थप जोखिम निम्त्याउन सक्ने उल्लेख गरेको छ ।
ब्युरोले ‘भीपीएन प्रदायकको सुरक्षा र विश्वसनीयता जत्तिकै राम्रो हुन्छन्’ भन्ने भनाइ उद्धृत गर्दै सबै भीपीएन एकैनासका नहुने र प्रदायकको विश्वासनीयतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ । खासगरी निःशुल्क उपलब्ध हुने भीपीएनहरूमा यस्तो जोखिम बढी हुने विज्ञ बताउँछन् ।
ब्युरोको यो सूचनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । केहीले सरकारको कदमको आलोचना गरेका छन् भने केहीले सम्भावित जोखिमबारे सचेत गराएकोमा ब्युरोको प्रशंसा गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ १९:३१
