काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (B.Tech. in AI) कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालको बढ्दो डिजिटल आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई सम्बोधन गर्न यो कार्यक्रम सुरु गरिएको कलेजले जनाएको छ ।
यो शैक्षिक कार्यक्रमले विद्यार्थीहरूलाई एआईको गहिरो सैद्धान्तिक ज्ञान, अनुसन्धानका सीप र व्यावहारिक दक्षता प्रदान गर्ने कलेजको विज्ञप्तिमा उल्लेख छ । “यसको मुख्य उद्देश्य नेपालको डिजिटल अर्थतन्त्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नु र कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता विभिन्न क्षेत्रमा एआईमा आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्नु रहेको छ,” कलेजले भनेको छ ।
यस कार्यक्रमको पाठ्यक्रममा मसिन लर्निङ, डिप लर्निङ, डेटा साइन्स, बिग डेटा एनालिटिक्स, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स जस्ता अत्याधुनिक विषयहरू समावेश छन् । प्रत्येक सेमेस्टरमा उद्योग परियोजना वा अनुसन्धान परियोजना सञ्चालन गरिने कलेजले जनाएको छ ।
कलेजले परियोजनामा आधारित सिकाइ, अनुसन्धान तथा उद्योग सहकार्य र प्रयोगशालामा केन्द्रित सिकाइ विधिलाई प्राथमिकता दिएको छ । विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारमा सहभागी हुने अवसर पनि प्रदान गरिने भएको छ ।
हालै, केसीसीले बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक प्रा. डा. मोइनुल इस्लाम जाबेरको उपस्थितिमा बी.टेक. इन एआईको मार्गचित्र सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा एआईको शैक्षिक दायरा, अनुसन्धान सम्भावना र नेपालको सामाजिक–आर्थिक विकासमा यसको भूमिकाबारे विस्तृत छलफल भएको थियो ।
कलेजका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि एआई प्रविधि अपरिहार्य छ । यसले स्वास्थ्यमा टेलिमेडिसिन, कृषिमा स्मार्ट फार्मिङ, वित्तमा फिनटेक र शिक्षामा ई-लर्निङ प्रणालीलाई सुदृढ पार्नेछ । यस कार्यक्रमले नेपाली युवाहरूलाई स्वदेशमै उच्चस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरी विदेश पलायन हुनबाट रोक्ने विश्वास गरिएको छ ।
शैक्षिक सत्र २०२५ का लागि यस कार्यक्रममा भर्ना खुला भइसकेको छ । विज्ञान विषयमा प्लस टु वा वा सो सरहको योग्यता भएका विद्यार्थीहरूले पूर्वाञ्चल विश्वविद्यालयको प्रवेश परीक्षा वेबसाइट entrance.puexam.edu.np मार्फत आवेदन दिन सक्नेछन् ।
कान्तिपुर सिटी कलेज विगत २५ वर्षदेखि सूचना प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन र आमसञ्चार तथा पत्रकारिता लगायतका क्षेत्रमा अध्यापन गराउँदै आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १६:२७
