सरकार उल्टो बाटो हिँड्यो, सामाजिक सञ्जाल प्रतिबन्ध गर्नु हुँदैन: गगन थापा
भदौ १९, २०८२ २०:३४
काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेपछि सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उक्त निर्णयको चर्को विरोध गरेका छन् । उनले सरकारको यो कदम गलत भएको र यसलाई तत्काल पुनर्विचार गर्नुपर्ने माग गरेका छन् ।
फेसबुकमा एक लामो पोस्ट लेख्दै थापाले सरकार ‘उल्टो बाटो’ मा हिँडेको टिप्पणी गरे । उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन हुने आपत्तिजनक सामग्रीको नियमन र दुरुपयोग नियन्त्रणका लागि कानुनी प्रबन्ध गर्न भनेको भए पनि त्यसको अर्थ निर्देशिकाका भरमा सामाजिक सञ्जाल बन्द गर्नु नभएको बताएका छन् । बरु, उनले आवश्यक कानुन छिटोभन्दा छिटो निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी कानुन विचाराधीन रहेको भन्दै त्यसमाथि तत्काल काम गरेर उपयुक्त कानुन बनाउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले आजको दिनमा सामाजिक सञ्जाल नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र सरकारलाई जवाफदेही बनाउनका लागि महत्त्वपूर्ण मञ्च बनेको उल्लेख गरेका छन् । “सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ,” उनले भनेका छन्, “सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ ।”
थापाले सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको भन्दै यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्न पनि सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ २१:३७
