सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेसँगै हेर्ने कथाको नयाँ भाग युट्युबमा नआउने
भदौ २१, २०८२ १२:७
काठमाडौँ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका कारण ‘हेर्ने कथा’ को नयाँ श्रृङ्खला युट्युबमा प्रसारण नहुने भएको छ । बिहीबारदेखि लागु भएको २६ सामाजिक सञ्जालमाथिको निष्क्रियतासँगै नियमित रूपमा प्रसारण हुँदै आएको ‘हेर्ने कथा’ प्रभावित भएको हो ।
‘हेर्ने कथा’ की सह-संस्थापक विद्या चापागाईंले शनिबार एक फेसबुक पोस्टमार्फत भिडिओ प्रसारण नहुने जानकारी दिएकी हुन् । “नेपाल सरकारले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा अवरोध गरेका कारण आज बेलुकी ७ बजे हेर्ने कथाको युट्युब च्यालनमा प्रसारण गर्न तय भएको ‘टुसाको कथा’ हाल प्रसारण गर्न नसकिने जानकारी गराउँदछौं,” उनले लेखेकी छिन् । हेर्ने कथाको युट्युब च्यानलमा १६ लाख बढी सब्स्क्राइबर रहेका छन् । सो च्यानलबाट हरेक शनिबार बेलुका ७ बजे नयाँ श्रृङ्खला प्रसारण हुँदै आएको थियो ।
सामाजिक सञ्जालमाथिको सरकारी हस्तक्षेपले कन्टेन्ट क्रियटरमा पारेको यो पछिल्लो प्रभाव हो । मनोरञ्जनात्मक कार्यक्रम कमेडी दरबार पनि सामाजिक सञ्जाल प्रतिबन्धको चपेटामा परेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २१, २०८२ १२:७
