सामाजिक सञ्जालको रूपमा सूचीकृत हुन बाध्य पारेर सरकारले हटायो हाम्रोपात्रो माथिको प्रतिबन्ध
भदौ २२, २०८२ १७:२
काठमाडौँ । नेपाली एप हाम्रो पात्रो माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । सामाजिक सञ्जालको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएपछि पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो ।
प्राधिकरणले आइतबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन भनेको छ । "नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि लेखी पठाइएकोमा श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/२० को पत्र मार्फत स्मार्ट आइडिया प्रालि सम्बद्ध हाम्रो पात्रो इंक सिफल ७ काठमाडौँ ...मन्त्रालयमा सूचीकरण भएको हुँदा सो सामाजिक सञ्जाल प्लेटफर्म हाम्रो पात्रोलाई पुनः सक्रिय गराइदिनु हुन निर्णय अनुसार जानकारी गराइएको छ," प्राधिकरणको पत्रमा भनिएको छ ।
हाम्रो पात्रो सामाजिक सञ्जाल अन्तर्गत नपर्ने भएपनि मन्त्रालयका कर्मचारी अलमलमा परेपछि उक्त एपलाई पनि प्रतिबन्धमा समेटिएको थियो । कम्पनीले प्रतिबन्धबाट हट्नकै लागि हतार हतार मन्त्रालयमा आवश्यक कागजात बुझाएको थियो । विद्यमान फिचरको आधारमा हाम्रो पात्रो कुनै पनि हिसाबले सामाजिक सञ्जालमा पर्दैन ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १७:२
