पास्किस्तानी खुफिया एजेन्सी आईएसआईलाई भारतीय सिमकार्ड दिएको आरोपमा एक नेपाली पक्राउ
भदौ २५, २०८२ १७:२९
सांकेतिक तस्बिर
काठमाडौँ । भारतीय सिमकार्ड पास्किस्तानी खुफिया एजेन्सी इन्टर सर्भिसेज इन्टिलिजेन्स (आईएसआई)लाई आपूर्ति गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले वीरगञ्जका ४३ वर्षीय प्रभात कुमार चौरासियाले आईएसआईलाईलाई भारतीय सिमकार्ड उपलब्ध गराएको आरोपमा पक्राउ परेको समाचार छापेको हो ।
दिल्ली प्रहरीका अनुसार ती सिम कार्ड लिएपछि भारतीय सुरक्षाकर्मीसँग अन्तरदेशीय सम्पर्कका लागि प्रयोग गरिएको आरोप छ । सँगै ती सिमकार्ड नम्बरबाट खोलिएका ह्वाट्सएप एकाउन्टमार्फत जासुसी भइरहेको आरोप भारतीय प्रहरीको छ ।
चौरासिया दिल्लीको लक्ष्मीनगरमा रहेको विजय ब्लकबाट २८ अगस्टमा पक्राउ परेका थिए ।
उनले आधारकार्डको प्रयोग गरेर १६ वटा सिमकार्ड बिहार र महाराष्ट्रबाट किनेको प्रहरीसँग बयानका क्रममा भनेका छन् । उनको आधारकार्ड महाराष्ट्रको लाटुरबाट जारी भएको छ ।
प्रहरीका डेपुटी कमिसनर अमित कौसिकले ती सिमकार्डको नम्बर ह्वाट्सएपमा पाकिस्तानको लाहोरको बहवालपुर र अन्य क्षेत्रका आईएसआईका जासुसले चलाइरहेको बताए ।
उनकाअनुसार आईएसआईसँग चौरासियाको नेपाली व्यक्तिमार्फत नै सन् २०२४ देखि सम्पर्क बनेको छ । चौरासियालाई भारतीय सिमकार्ड दिलाएबापत अमेरिकाको भिसा र विदेशमै पत्रकारिताको अवसर दिलाइदिने आश्वासन दिइएको भारतीय प्रहरीको दाबी छ ।
प्रहरीले ती सिमकार्ड भारतबाट काठमाडौँ ल्याएर आईएसआईका एजेन्टलाई बुझाइएको आरोप लगाएको छ । त्यसपछि आईएसआईका अधिकारीले भारतीय सेनामार्फत संवेदनशील जानकारी लिँदै जासुसी गर्न खोजेको आरोप प्रहरीको छ ।
चौरासियाले सूचना प्रविधि विषय लिएर विज्ञान संकायमा स्नातक गरेका छन् । उनले कम्प्युटर हार्डवेयर र नेटवर्किङमा डिप्लोमा गरेका छन् । उनले यसअघि पुने, लातुर, सोलापुर र दिल्लीमा फर्मास्युटिकल्स क्षेत्रमा काम गरेका थिए । सन् २०१७ मा लजिस्टिक कम्पनी खोलेका उनी वित्तीय घाटा थेग्न नसकेपछि डुबेका थिए । त्यसपछि उनी आईएसआईको सम्पर्कमा पुगेको आरोप भारतीय प्रहरीको छ ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १७:५६
