‘जेन-जी प्रदर्शनमा’ भन्दै ५ दिन पुरानो भोडिओ राखेर भ्रम फैलाउँदै हर्क सामपाङ
भदौ २८, २०८२ ९:४२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘जेन-जी’ प्रदर्शनको पाँच दिन पुरानो भिडिओ शेयर गरेर भ्रम फैलाइरहेको पाइएको छ । ८ सेप्टेम्बरमा ‘मनु पिथा’ नामको पेजबाट राखिएको प्रदर्शनको भिडिओ हर्कले १३ सेप्टेम्बरमा शेयर गरेका हुन् ।
मनु पिथा नामको पेजबाट राखिएको भिडिओमा माथिपट्टि ‘नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको छ’ लेखिएको छ भने तलपट्टि ‘जेन-जीहरू आक्रोशमा’ लेखिएको छ । त्यसबाहेक, भिडिओको क्याप्सनमा ‘काठमाडौँमा कर्फ्यु’ लेखिएको छ । (हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ)
हर्क साम्पाङले त्यही भिडिओ पाँच दिनपछि कुनै पनि सन्दर्भ नखुलाई १३ सेप्टेम्बर २०२३ बिहान ८:४२ मा शेयर गरेका छन् ।
उनको पोस्टमा कमेन्ट गर्दै अधिकांशले पुरानो भिडिओ राखेर ‘भड्काउने’ र ‘पड्काउने’ काम नगर्नुस् भन्दै सचेत गराएका छन् । केहीले भने, “चार दिन अगाडिको भिडिओ राखेर के गर्न खोजेको दाइ ?” भन्दै प्रश्न सोधेका छन् । मोबाइलमा हेर्दा रिल्स कहिले पोस्ट भएको थियो भन्ने थाहा नहुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भ्रममा परेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २८, २०८२ ९:४५
