close

जेन-जी विद्रोहपछि बढ्न थाल्यो अनलाइन इन्भेस्टमेन्ट तथा जबको नाममा हुने ठगी

टेकपाना टेकपाना

असोज ६, २०८२ १०:७

जेन-जी विद्रोहपछि बढ्न थाल्यो अनलाइन इन्भेस्टमेन्ट तथा जबको नाममा हुने ठगी

 

काठमाडौँ । लगानी गरेकै भरमा अनलाइनबाट घरमै बसी लाखौँ कमाउन सकिने भन्दै ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । हालैको ‘जेन-जी विद्रोह’ पछि कानुन कार्यान्वयन गर्ने निकायमा भएका तोडफोड र क्षतिका कारण सिर्जना भएको विषम परिस्थितिको फाइदा उठाउँदै यस्ता समूहले आफ्नो ठगी धन्दालाई तीव्र पारेका हुन् । 

घरमै बसेर दिनको हजारौँ कमाउन सकिने आकर्षक विज्ञापनमार्फत सर्वसाधारणलाई लोभ्याएर रकम ठग्ने काम भइरहेको छ । यस्ता ठगले सामाजिक सञ्जालमा नेपाल सरकार र विभिन्न बैँकको आधिकारिक लोगो प्रयोग गरेर विज्ञापन गर्छन्, जसले गर्दा मानिसलाई झुक्याउन सजिलो हुन्छ । 

केही विज्ञापनमा अमेजन र जुमियाजस्ता अन्तर्राष्ट्रिय अनलाइन शपिङ प्लेटफर्मको नाम पनि जोडिएको हुन्छ । यी सबैको मुख्य उद्देश्य एउटै हुन्छ - घरमै बसीबसी अनलाइनबाट पैसा कमाउने प्रलोभन देखाउने र ठग्ने । 

विज्ञापनमा ‘५-१० मिनेट समय दिएर २० हजारसम्म कमाउन सकिने’ जस्ता अफर राखिएका छन्, जसले गर्दा धेरै जना सजिलै आकर्षित हुन्छन् । यो ठगीको प्रक्रिया निकै योजनाबद्ध देखिन्छ । विज्ञापनमा क्लिक गरेपछि प्रयोगकर्तालाई ह्वाट्सएप वा टेलिग्राममा सम्पर्क गर्न लगाइन्छ । अहिले फेसबुकमा यस्ता बग्रेल्ती विज्ञापनहरू आइरहेका छन् । जसमा आएका कमेन्टहरूबाट पनि मानिसहरू सजिलै अनलाइन ठगहरूको झुक्यानमा परेको अन्दाज लगाउन सकिन्छ ।

सम्पर्कमा आएका व्यक्तिलाई सुरुमा केही फेसबुक पेज वा इन्स्टाग्राम अकाउन्ट ‘लाइक’ गर्न लगाएर तुरुन्तै उनीहरूको बैँक खाता वा वालेटमा हजार रुपैयाँसम्म पठाइ पनि दिन्छन् । सजिलै पैसा आएपछि मानिसलाई विश्वास जाग्छ र उनीहरू थप काम गर्न तयार हुन्छन् । दुई-तीन दिनसम्म यही प्रक्रिया चल्छ र हरेक पटक अलि बढी रकम दिइन्छ । 

तर, चौथो दिनदेखि उनीहरूलाई ‘टास्क’ पूरा गर्न भन्दै लगानी गर्न प्रेरित गरिन्छ । एक पटक लगानीको चक्रमा फसेपछि विभिन्न बहानामा थप पैसा माग्दै लाखौँ-करोडौँ रुपैयाँसम्म तिर्न बाध्य पारिन्छ । जब पीडितले थप रकम तिर्न नसक्ने अवस्थामा पुग्छन्, तब ठगहरू सम्पर्क विहीन हुन्छन् । यसरी फस्दा कयौँको घरबार बिग्रेको छ भने केहीले आत्महत्या समेत गरेका छन् ।

यस्ता ठगीमा प्रयोग हुने बैँक खाताहरू पनि नेपालीकै हुन्छन् । वित्तीय साक्षरता कम भएका व्यक्तिलाई केही सय वा हजार रुपैयाँको लोभ देखाएर उनीहरूको बैँक खाता प्रयोग गर्न गरिन्छ र त्यही खातामार्फत ठगीको रकम सङ्कलन गरिन्छ ।

जेन-जी आन्दोलनका क्रममा भएका घटनाले गर्दा हाल प्रहरीको अनुसन्धान क्षमता कमजोर बनेको छ । जसले गर्दा यस्ता घटनाको अनुसन्धानमा चुनौती थपिएको देखिन्छ । अनलाइन अपराध अनुसन्धान गर्ने देशकै मुख्य निकायमध्येको एक, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको भौतिक संरचनामा पुगेको क्षतिले अनुसन्धान कार्यमा गम्भीर असर परेको छ । 

यस विषयमा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “हामीसँग पहिल्यै पनि कम्प्युटर लगायतका उपकरण अभाव थिए । प्रदर्शनपछि हाम्रो कार्यालयका एउटा पनि कम्प्युटर सही सलामत छैनन् । केही जले, केही चोरिए, केही तोडफोड भए ।” 

यस्तै जिल्ला प्रहरी कार्यालयहरूमा क्षति पुगेपछि सबैतिरका अनलाइन ठगीका उजुरी साइबर ब्युरोमा थुप्रिएका छन् । जसले गर्दा ब्युरोमाथि पनि अत्यधिक चाप बढेको छ । ब्युरोका प्रवक्ता दीपकराज अवस्थी भन्छन्, “अधिकांश जिल्ला प्रहरी कार्यालयहरू तोडफोड भएका छन् । यस्तोमा ब्युरोमा यस्ता घटनाको चाङ लागेको छ । हामीसँग पनि जनशक्ति अभावले गर्दा अन्य कार्यालयमा पठाउने गरिएको थियो, तर अहिले त्यो पनि सम्भव छैन ।”

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ‘अनलाइन जब स्क्याम’ (अनलाइन इन्भेस्टमेन्ट स्क्याम) मा ६० जना पीडित थिए भने २०८१/८२ को चैतसम्ममा यो सङ्ख्या बढेर ४५७ पुगेको थियो  । यसले अनलाइन माध्यमबाट हुने ठगी कति तीव्र गतिमा बढिरहेको छ भन्ने देखाउँछ । करिब दुई वर्षदेखि यस्ता अनलाइन लगानीका नाममा हुने ठगी विभिन्न नाममा सञ्चालन भइरहे पनि प्रहरी मुख्य योजनाकारसम्म पुग्न सकेको छैन । 

२०७९ तिर यही प्रकृतिको ‘अनलाइन इन्भेस्टमेन्ट स्क्याम’ व्यापक फैलिएको थियो । तत्कालीन एसएसपी (हालका एआईजीपी) डा. मनोजकुमार केसीको नेतृत्वमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ‘अपरेसन चार्ली’ सञ्चालन गरेको थियो । 

त्यस क्रममा नौ जना चिनियाँ र १० जना नेपाली नागरिक पक्राउ परेका थिए । त्यसयता अनलाइन इन्भेस्टमेन्टका नाममा ठगी गर्ने गिरोह फेला परेको छैन । यसमा लगानी गर्नेहरू र केही हजार रुपैयाँका लागि बैँक तथा डिजिटल वालेट भाडामा दिनेहरू फस्ने गरेका छन् । मुख्य सञ्चालकसम्म पुग्न नसकेपछि प्रहरीले बैँक अकाउन्ट भाडामा दिनेहरूलाई नै अभियुक्त बनाउँदै मुद्दा अगाडि बढाउँदै आएको थियो । 

हालको विषम परिस्थितिमा प्रहरी संयन्त्र कमजोर हुँदा ठगहरूको मनोबल थप बढेको छ । विध्वंसले कतिपयको जागिर गुमेको छ । अभाव र समस्यामा रहेका मानिसहरूलाई नै ठगहरूले मुख्य निशाना बनाइरहेका हुन्छन् । त्यसैले  यो समयमा आम नागरिक आफै सचेत हुनुको विकल्प छैन । सजिलै पैसा कमाइने लोभले अन्ततः ठुलो क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता गतिविधिबाट टाढै रहनु बुद्धिमानी हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १०:१८