close

अनलाइनमा मौलाउँदै ‘जुमिया’को जालो, घरबार बिग्रिनेदेखि आत्महत्याको बाटो रोज्दै पीडित

हिक्मत आचार्य हिक्मत आचार्य

असार ३१, २०८१ १२:१

अनलाइनमा मौलाउँदै ‘जुमिया’को जालो, घरबार बिग्रिनेदेखि आत्महत्याको बाटो रोज्दै पीडित

काठमाडौं । २५ वर्षीया नवीना शर्मा (नाम परिवर्तन)ले हालै स्नातक तह चौथो वर्षको परीक्षा दिइन् । उनी बीपीएच अर्थात ब्याचलर इन पब्लिक हेल्थ विषयकी विद्यार्थी हुन् । दुई वर्षअघि उनको विवाह भयो । अहिले उनी २० महिनाकी छोरी र श्रीमान्‌सँग छिन् । श्रीमान् रोजगारीको सिलसिलामा उपत्यका बाहिर छन् । 

श्रीमान्‌ले पठाउने सबै रकम उनको खातामा आउँछ । चौथो वर्षको जाँच दिइसकेपछि उनी खाली भइन् । “ब्याचलर पनि सकियो,” उनी भन्छिन्, “अब त आफूले पनि कमाउनु पर्छ भन्ने सोचाइ आइरहेको थियो । घरमा सानी छोरी । छोडेर कतै जब गर्न सक्ने अवस्था पनि थिएन । त्यसैले अनलाइनबाट आम्दानी गर्न सकिने माध्यम खोजिरहेकी थिएँ ।”

यसो त उनका श्रीमान्‌ले काम गर्नैपर्छ भन्ने दबाब दिएका थिएनन् । आर्थिक रूपमा आफैं आत्मनिर्भर हुने र श्रीमान्‌लाई पनि आर्थिक सहायता दिने उद्देश्यले उनले काम खोजेकी थिइन् ।

ठ्याक्कै त्यही बेला उनले फेसबुकमा एउटा विज्ञापन देखिन् । विज्ञापनमा सजिलै अनलाइनबाट रकम कमाउन सकिने उल्लेख थियो । “भनेको जस्तै प्लेटफर्म भेटिएपछि दङ्ग भएँ । सुरुमा विचार मात्र गर्छु भनेर विज्ञापनमा क्लिक गरेँ,” उनले भनिन् ।

विज्ञापनमा क्लिक गरेपछि सोझै टेलिग्रामको पेज खुल्यो । अगाडि कहिल्यै टेलिग्राम नचलाएकी नवीनाले टेलिग्राम एप डाउनलोड गर्नुपर्ने भयो । उनले डाउनलोड गरेर अकाउन्ट बनाइन् । त्यसपछि पहिलेको एउटा लिङ्कबाट उनी ‘जुमिया’ प्लेटफर्मकी एजेन्टको सम्पर्कमा पुगिन् । 

उनलाई ती महिला एजेन्टले ‘जुमिया’ एक अनलाइन रोजगारको प्लेटफर्म भएको बताइन् । एजेन्टले उक्त कम्पनीको नाम जुमिया कोअपरेटिभ सर्भिसेस कम्पनी अन्तर्गत रहेको भन्दै विश्वास दिलाइन् ।

“त्यसमा बाहिरबाट प्रडक्ट किन्न आएको मान्छेलाई हामीले केही सहयोग गर्नुपर्ने रहेछ,” एजेन्टले भनेको कुरा सम्झिँदै नवीनाले भनिन्, “त्यो सहयोग गरेबापत हामीलाई कमिसन आउने रहेछ । त्यही बुझ्न म प्लेटफर्ममा सक्रिय हुन थालें ।”

नवीना जुमियामा आकर्षित हुने देखिएपछि एजेन्टले उनलाई एउटा अनलाइन गाइडबुक जस्तो उपलब्ध गराइन् । त्यसमा कसरी रकम लगानी गर्ने, कसरी अर्डर कन्फर्म गर्ने भन्ने सिकाइएको थियो । नवीना अङ्ग्रेजी राम्रै बुझ्ने भएकाले गाइडबुक सरसर्ती पढिन् । यसपछि उनलाई त्यसतर्फको रुचि झनै बढ्यो । अनि अकाउन्ट बनाइन् । र, उनलाई ‘रेबिका राई’ नामको बैंक अकाउन्टमा एक हजार रुपैयाँ पठाउन भनियो । 

उनले रकम पठाइसकेपछि उनको जुमिया अकाउन्टमा रकम लोड भयो । अब उनले एजेन्टले भने अनुसारको टास्क पूरा गर्नुपर्ने थियो । सबैभन्दा पहिले पाँच मिनेटको अन्तरालमा उनले दुई ओटा अर्डर कन्फर्म गर्नुपर्ने थियो ।

उनका अनुसार अर्डर आएपछि जुमिया अकाउन्टको रकम कट्यो । र, सुरुमा दिइएको दुई ओटा अर्डर लगभग हजार रुपैयाँको थियो । पहिलो टास्क कम्प्लिट गर्दा उनको पाँच सय रुपैयाँ कट्यो । दोस्रो टास्क कम्प्लिट गर्दा बाँकी भएको पाँच सय रुपैयाँ कट्यो । टास्क पूरा हुनासाथ उनको अकाउन्टमा २३०० रुपैयाँ बढी लोड भयो । 

रकम लोड भइसकेपछि एजेन्टले उनलाई उक्त रकम तत्कालै निकाल्न अनुरोध गरे । नवीना भन्छिन्, “रकम आउने रहेछ भन्ने विश्वास दिलाउन पनि होला, मलाई रकम विथड्र गर्नुस् भनियो । मैले विथड्र गर्ने बैंक अकाउन्ट पठाएँ । रकम मेरो अकाउन्टमा आइपुग्यो ।”

लगभग पाँच मिनेटमा दुई ओटा अर्डर पूरा गर्दा उनलाई केही प्रतिशत कर काटेर थप ११०० रुपैयाँ फाइदा भयो । 

केही समय काम गर्दा त्यतिका रकम आएको देखेपछि नवीनालाई शंका लाग्यो । अब पैसाको लोभमा नपरुँ भनेर एक मनले सोच्यो । तर मस्तिष्कले त्यही पैसाको लोभ देखिरहेको थियो । उनले लगानी गर्ने सङ्केत नदेखिएपछि एजेन्ट उनलाई फकाउनतर्फ लागिन् । उनलाई तपाईंले लगानी गर्नुभयो भने राम्रै हुन्छ भनियो । 

नवीनाले आफू अरू काममा व्यस्त भएकाले तत्कालै लगानी नगर्ने सुनाइन् । तर, एजेन्टले उनलाई लगानी गर्न बारम्बार प्रेरित गरिरहिन् ।

“त्यति दबाब पनि थिएन,” नवीना सम्झिन्छिन्, “तर, बिहान गुडमर्निङदेखि राति गुड नाइटसम्मको मेसेज लगातार आइरहन थाल्यो । उहाँहरूले आफ्नो कार्यालय समय बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म हुने भनेको भएर पनि विश्वास जाग्यो ।” 

समय लिनुहोस् अनि आफूलाई पायक पर्ने समयमा टास्क कम्प्लिट गर्नुहोस् भन्दै मीठो भाषामा सम्झाएपछि नवीना बहकिइन् । 

उनलाई पनि यो पैसा कमाउने गज्जबको मौका हो जस्तो लाग्यो । अनि एजेन्टले भने अनुसार सबैभन्दा पहिले दुई हजार रुपैयाँ राखिन् ।

दोस्रो चरणमा सात ओटा टास्क आउने बताइएको थियो । उनले गाइडबुक पढ्दा पनि त्यो कुरा थाहा पाएकी थिइन् । एउटा टास्कमा कति ओटा अर्डर आउँछ भन्ने यकिन थिएन । सबैभन्दा पहिले नै उनलाई दुई हजार रुपैयाँको अर्डर कन्फर्म गर्नुपर्ने भयो । उनले उक्त अर्डर कन्फर्म गरिन् ।

त्यसपछि नयाँ अर्डर  कन्फर्म गर्नुपर्ने भयो । त्यसका लागि उनको अकाउन्टमा पर्याप्त ब्यालेन्स थिएन । उक्त अर्डर आठ हजार रुपैयाँको थियो । उनले त्यसका लागि थप आठ हजार पठाइन् । र, अर्डर कन्फर्म गरिन् । त्यसपछि टुप्लुक्क १६ हजार रुपैयाँको अर्डर आइपुग्यो । 

उनी फेरि रकम पठाउँदै टास्क कम्प्लिट गर्नतर्फ लागिन् । त्यसका लागि उनलाई थप रकम पठाउनु पर्ने थियो ।

भन्छिन्, “१४ ओटा टास्क आउँदासम्म एउटा अर्डर एक लाख रुपैयाँसम्मको हुन्थ्यो । १५ औं अर्डर दुई लाखसम्मको आउला भन्ने आश थियो । तर, एक्कासि पाँच लाखको अर्डर आयो ।”

यतिबेलासम्म उनले सात लाख रुपैयाँ जम्मा गरेकी थिइन् । अर्डर पूरा गर्न पाँच लाख रुपैयाँ पनि पठाइन् । त्यसपछि उनले रकम मागिन् । तर, कर तिर्नुपर्ने भनियो । यतिबेलासम्म उनको आम्दानी १५ लाख रुपैयाँ भएको भन्दै जुमिया वालेटमा उक्त रकम देखाइएको थियो । उनले कर वापतको थप रकम जम्मा नगरे १५ लाख रुपैयाँ गुम्ने बताइएको थियो ।

“यो कर तिर्ने भनेको अकाउन्ट भेरिफिकेसनका लागि मात्र हो, पछि सबै फिर्ता आउँछ भनेको थियो,” उनले सुनाइन् । 

तर, यतिका कुरा गरिसक्दा नवीनालाई अब कमिसन सहितको रकम आउँछ भन्नेभन्दा पनि आफ्नै रकम फिर्ता आउने कुरामा शंका लाग्यो । र, त्यतिबेलासम्म लगानी गरेको रकम फिर्ता गरिदिन अनुरोध गरिन् । तर, उनलाई रकम तिर्नै पर्छ भनियो । १५ जुलाईसम्म रकम फिर्ता नगरे अकाउन्ट बन्द हुने भन्दै ब्ल्याकमेल गर्न थालियो । 

रकम नआउने देखेपछि उनले आफूले गरेको कामको बारेमा आफ्ना घरका बुवालाई सुनाइन् । तर, छोटो समयमा झन्डै १२ लाख गुमाउने कुरा चानचुने थिएन । त्यसमा पनि उनले कसैको सल्लाह लिएकी थिइनन् ।

रिसको झोकमा नवीनाका बुवाले ‘तैले गल्ती गरिस् यसको सजाय पनि तैले नै भोग्नुपर्छ’ भनिदिए । यतिबेलासम्म उनलाई यो कुरा श्रीमान्‌लाई भन्ने आँट थिएन । उता समर्थन गर्ने बुवाले नै त्यसो भनिदिएपछि नवीनालाई असह्य पीडा हुन थाल्यो ।

अन्तिममा आँट गरेरै भए पनि उनले रकम गुमाएको कुरा श्रीमान्‌लाई सुनाइन् । फोनमा सबै कुरा सुनेका श्रीमान्‌ले फोन काटिदिए । त्यसपछि शर्मा र उनका श्रीमान्‌को फोन सम्पर्क अहिलेसम्म भएकै छैन । 

श्रीमान्‌ रिसाएपछि उनलाई आफूले गरेको कामको पश्चताप हुन थाल्यो । “कुरा गर्दा तिम्रो र मेरो अब डिभोर्स नै हुन्छ भन्नुहुन्थ्यो,” मलिन अनुहार बनाउँदै शर्मा भन्छिन्, “उहाँलाई पनि चोट पुगेको छ । एक वचन नसोधी त्यतिका रकम गुमाउँदा कसको चित्त दुख्दैन होला र ?”

श्रीमान्‌सँग सम्बन्ध बिग्रिंदै गएपछि उनी आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगिन् । आत्महत्या गर्ने सोचसम्म बनाइन् । “अब पैसा आउँदैन भन्ने लागेपछि आत्महत्याको सोच आयो,” रुँदै उनी भन्छिन्, “२० महिनाकी नानीको मुख हेरेर आत्महत्याको सोचले हार मान्यो ।  जिन्दगी भयो भने पैसा त कमाउन सकिन्छ भन्ने लाग्यो ।”

पछि उनका बुबाले सुझाव दिएपछि उनी उजुरी दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगिन् । 

पाँच वर्ष पढाएर जम्मा गरेको पाँच दिनमै गुमाएका शिक्षक 

काठमाडौंका ३१ वर्षीय राकेश क्षेत्री (नाम परिवर्तन) विगत पाँच वर्षदेखि शिक्षण पेसामा आवद्ध छन् । स्नातक गरेका उनी कक्षा आठसम्म गणित पढाउँछन् । 

पढाउने समय त छँदै छ, त्यसको अलावा अनलाइनबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा उनी बेलावखत सर्च गरिरहेका हुन्थे । त्यसैको नतिजा उनको फेसबुक फिडमा एउटा विज्ञापन देखियो । जसमा घरमै बसेर लाखौं रकम कमाउन सकिने बताइएको थियो । 

“घरमै बसेर रकम कमाउन चाहनुहुन्छ भने तपाईंका लागि यो उपयुक्त प्लेटफर्म हो भनिएको एउटा विज्ञापन देखियो,” क्षेत्री भन्छन्, “मलाई पनि त्यस्तै प्लेटफर्म चाहिएको थियो । के रहेछ बुझौँ भनेर लिङ्क क्लिक गरें ।”

लिङ्कमा क्लिक गरेपछि उनी पनि टेलिग्राम अकाउन्टमा पुगे । कुरा गर्दै गएपछि उनलाई त्यस प्लेटफर्ममा कसरी आम्दानी गर्न सकिन्छ भन्ने सिकाइयो ।

एजेन्टले भने अनुसार नै उनले उपलब्ध गराइएको लिङ्कबाट अकाउन्ट बनाए । अनि एक हजार रुपैयाँ जम्मा गरे । त्यसबाट टास्क कम्प्लिट गर्दा उनलाई ९९५ रुपैयाँ फाइदा भयो । रकम जम्मा गरेको पाँच मिनेटमै ९९.५ प्रतिशत बढी रकम पाएपछि उनी दङ्ग भए । त्यसमा अझ रकम आफ्नै खातामा आएपछि खुसीको सीमै थिएन ।

“पाँच मिनेटमै रकम आएपछि ओहो पैसा त आउने रहेछ भन्ने लाग्यो,” उनी अगाडि भन्छन्, “यो त गर्नुपर्ने काम रहेछ भनेर लागें म ।”

दोस्रो चरणमा उनलाई टास्क छान्न भनियो । उनले आठ ओटा टास्ट छाने । र, भने अनुसार रकम जम्मा गर्दै अर्डर कन्फर्म गरिदिन थाले । त्यसमा रकम राखिरहँदा उनलाई त्यो प्लेटफर्म बैंक अकाउन्ट ह्याक गर्ने प्लेटफर्म त होइन भन्ने शंका लागिरह्यो । त्यसैले उनले रकम जम्मा नभएको र कम प्रयोग हुने बैंक अकाउन्टमा जम्मा गरी रकम पठाइदिंदै गए । 

उनले सात ओटा टास्क पूरा गर्दासम्म ११ लाख रुपैया पठाइसकेका थिए । अब पालो अन्तिम टास्कको थियो । अन्तिम टास्क सकेपछि उनी पाँच दिनमै झन्डै आठ लाख बढी पाइने आशामा बसेका थिए । “मैले पाँच वर्ष पढाएर सात आठ लाख रुपैयाँ जम्मा गरेको थिएँ,” उनी अगाडि भन्छन्, “त्यही रकम उनीहरूले भनेको अकाउन्टमा पठाउँदै गएँ ।”

उनलाई अन्तिम आठौं टास्कमा महँगा अर्डरहरू आउन थाले । सबै पूरा गर्नुपर्ने अवस्था थियो । पूरा नगरे अगाडि जम्मा गरेको रकम पनि सबै डुब्छ भन्ने पहिले नै गाइडबुकमा लेखेको थियो ।

उनलाई आठौं टास्कको पहिलो अर्डर नै ५० हजारको आयो । उक्त अर्डर रकम बढ्दै बढ्दै चार लाखसम्म पुग्यो । “मैले आठौं टास्कको नौं नम्बर अर्डरमा पुग्दा आफूलाई किन महँगो महँगो अर्डर आइरहेको छ भनेर सोधें,” क्षेत्री अगाडि भन्छन्, “तपाईं त लक्की हो । यस्तो अर्डर कमै मान्छेलाई आउँछ । तपाईंले बढी रकम कमिसन पाउनु हुन्छ भनियो ।”

बढी रकमको लोभ देखाएपछि उनलाई अरू अर्डर लिन कुनै सङ्कोच नै भएन । जम्मा गरेको जति रकम सबै सकियो । अर्डर पूरा नगरे सबै रकम जान्छ भन्ने उनलाई पहिले नै बुझाइएको थियो । त्यसपछि उनले विदेश भएका आफ्ना भाइलाई रकम पठाइदिन अनुरोध गरे । उनले आफ्नो सबै कुरा भाइलाई सुनाएका थिए । उनका भाइ पनि पैसा पठाइदिन तयार भए । र, छ लाख ९० हजार रुपैयाँ लिएर अर्डर पूरा गरे ।

यतिबेलासम्म उनले १७ लाख रुपैयाँ बढी रकम पठाइसकेका थिए । यति गरेवापत उनी २२ लाख रुपैयाँ पाउनेवाला थियो ।

२२ लाख रुपैयाँ जुमियाको अकाउन्टमा देखिएको थियो । अब त्यो रकम कसरी निकाल्ने भनेर क्षेत्रीले एजेन्टसँग बुझ्न खोजे । तर, एजेन्टले बैंक भेरिफिकेसनका लागि भन्दै थप पाँच लाख रुपैयाँ पठाउन अनुरोध गरे ।

यो रकम पछि २२ लाखमै थप भएर आउँछ भनिएकाले क्षेत्रीलाई अझै पनि रकम पाइन्छ भन्ने विश्वास थियो । तर, आफूसँग भएको पैसा रित्ताएर ऋण समेत लिएको पैसा सकिएपछि उनलाई कता कता ठगिएको महसुस भयो ।

उनले युट्युब र अन्य प्लेटफर्ममा यसबारे बुझ्न खोजे । त्यसमा ठ्याक्कै जुमियासँग मिल्ने अरू प्लेटफर्मले कसरी ठगेका छन् भन्ने भिडिओ भेटिए । भिडिओ हेरेपछि आफू शतप्रतिशत ठगिएको भन्नेमा विश्वस्त भए र उजुरी दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे । 

उनी भन्छन्, “कमिसन पाउने लोभमा वर्षौदेखि जम्मा गरेको रकम गुमाए । भाइबाट लिएको ऋण पनि थपियो । अब पढाएर कहिले कमाउनु यतिका पैसा । डुबियो हजुर ।”

क्षेत्रीले अगाडि रकम जम्मा गर्दा एक जना दाइ पर्नेलाई सोधेका थिए । “ती दाइले जम्मा नगर् डुबिन्छ भनेको कुरा अहिले झलझली सम्झिरहेको छु,” उनी भन्छन्, “पढेको मान्छे । पैसा आइसकेको भएर विश्वास पनि थियो । आफ्नै मनमा लागेको कुरा गर्दा दुःख पाउँदैछु ‍। अब कति दुःख पाइने हो थाहा छैन ।”

जानाजान ठगिएका इन्जिनियर 

३३ वर्षीय इन्जिनियर जयदेव थारु (नाम परिवर्तन) एउटा प्रोजेक्ट सकेर बसेका थिए । प्रोजेक्ट सकिएको दुई महिना बितिसक्दा पनि चाहेको जस्तो नयाँ प्रोजेक्ट पाइरहेका थिएनन् । “म सामाजिक सञ्जालमा इन्स्टाग्राम मात्र चलाउँछु,” जयदेव भन्छन्, “मलाई अनलाइनबाट आम्दानी गर्न सकिन्छ भन्ने पनि विश्वास थिएन ।”

एक दिन इन्स्टाग्राम प्रयोग गरिरहँदा उनको फिडमा पनि थोरै लगानी गरेर राम्रै आम्दानी गर्न सकिने प्रलोभन देखाइएको पोस्ट आयो । “मलाई एक रत्ति पनि विश्वास लाग्दैनथ्यो, अनलाइनबाट पैसा कमाउन सकिन्छ भन्ने । धेरै समयअघि पनि एउटा गोलपोस्ट भन्ने अनलाइन प्लेटफर्मले ठगेको थियो,” उनी भन्छन् । 

विश्वास नहुँदा नहुँदै पनि जुवा खेलेको सम्झिएर उनले त्यसमा कसरी कमाइ हुन्छ भन्छन् त्यो बुझ्छु भनेर लागे । उनी पनि एउटा टेलिग्राम च्यानलमा पुगे । उनी अगाडि भन्छन्, “खाली दिमाग सैतानका घर भन्छन् । विचार गरी हेर्छु नि त भनेर लागें ।”

कुरा गर्दै जाँदा यो एउटा जागिर हो भनेर उनलाई बुझाइयो । उनले आफ्नो सीभी पठाए । “हामी अमेजनबाट हौं । तपाईंले लगानी गरेर अर्डर कन्फर्म गर्‍यो भने पैसा आउँछ भने उनीहरूले,” उनी थप्छन् । त्यसपछि उनले पनि एजेन्टले भने जस्तै गरी अकाउन्ट बनाए । उनीहरूले भनेकै अकाउन्टमा हजार रुपैयाँ जम्मा गरिदिए । त्यसमा दुई ओटा अर्डर कन्फर्म गर्दा उनलाई ९५० रुपैयाँ फाइदा भयो । 

जसरी लोभ्याए पनि यो सबै झुक्याउने दाउ बाहेक अरू केही होइन भन्ने विचार जयदेवको मनमा आएको थियो । तर, उनलाई फेरि मेसेज आएर दोस्रो टास्क गर्ने वा नगर्ने भनी सोधियो । त्यसमा बढी रकम आउने देखेपछि उनी त्यता आकर्षित भए । 

त्यसपछि उनलाई दोस्रो चरणमा लगियो । दोस्रो चरणका लागि उनले दुई हजार रुपैयाँ जम्मा गर्न भनियो । ९५० रुपैयाँ आइसकेको छ बाँकी हजार रुपैयाँ त जान्छ भन्ने सोचेर उनले दुई हजार रुपैयाँ पठाइदिए । त्यसपछि उनी टास्क पूरा गर्नतर्फ लागे । अर्डरको रकम बढ्दै जाँदा उनले १० हजारसम्म लगानी गरेर पूरै रकम निकालीहाल्ने योजना बनाएका थिए । तर, थप १० हजार राख्दा उनलाई ३६ हजारको अर्डर आयो । द्विविधै द्विविधामा रकम जम्मा गरेका उनलाई यो ‘लोभको जालोमा पार्दै ठग्ने नियत’ हो भन्ने लाग्यो । र उनले अब चौकी जान्छु भन्दै मेसेज पठाए । 

“मलाई पहिले नै ठग हुन् उनीहरू भन्ने थाहा भइसकेको थियो,” उनी थप्छन्, “त्यही पनि जुवा खेलें भनेर जोखिम नै लिएर त्यति राखेको हुँ । के रहेछ भन्ने अनुभव लिन खोज्दा मेरो रकम गएको हो ।”

सजिलो तरिकाले रकम आउँछ भनेर कसैले प्रलोभन देखायो भने त्यसमा नपर्न उनको सुझाव छ । भन्छन्, “जानेकै मान्छे पनि फस्ने सम्भावना हुने रहेछ । त्यसैले सबै सजग हुनुपर्छ ।”

के हो जुमिया ? अनि कसरी फस्दैछन् नेपाली ?

वास्तवमा जुमिया नाइजेरियाको ईकमर्स प्लेटफर्म हो । त्यही प्लेटफर्मको नाम राखेर फरक फरक डोमेनबाट नयाँ ठगीको धन्दा मौलाइरहेको छ । यो ठगी धन्दा नेपालभन्दा पहिले भारतमा मौलाएको थियो ।

यस घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार सबैभन्दा पहिले घरमै बसी बसी राम्रै आम्दानी हुने दाबी गरिएका विज्ञापन सामाजिक सञ्जालमा देखिन्छन् । त्यस विज्ञापनलाई विश्वास गरी लिङ्क क्लिक गर्ने व्यक्ति टेलिग्राम च्यानलमा पुग्छन् । त्यहाँ उक्त व्यक्तिले आफूलाई जुमियाको मेनेजर भन्दै प्लेटफर्मका बारेमा जानकारी दिन्छन् ।

अधिकांश समय अङ्ग्रेजीमा कुरा गर्न खोजिरहेका हुन्छन् । तर, कसैले अङ्ग्रेजी बुझिनँ भनेको खण्डमा भाषा अनुवाद गरेरै भए पनि नेपालीमा कुरा गर्न खोज्छन् । 

त्यसपछि सर्वसाधारणलाई एउटा लिङ्क पठाएर अकाउन्ट बनाउन लगाइन्छ । अकाउन्ट बनाइसकेपछि केही बोनस आउँछ । सबैभन्दा पहिले प्रयोगकर्तालाई एउटा बैंक अकाउन्ट दिएर त्यसमा हजार रुपैयाँ जम्मा गर्न लगाइन्छ । 

बैंकमा रकम जम्मा गरेपछि प्रयोगकर्ताको जुमिया वालेटमा उक्त रकम जम्मा भएको देखिन्छ । अनि टास्क आउँछ । पहिलो टास्कमा उनीहरूले दुई ओटा अर्डर कन्फर्म गर्नुपर्ने हुन्छ ।

पहिलो टास्क भएकाले एक हजार रुपैयाँमा दुई ओटा अर्डर कन्फर्म गर्न सकिने बनाइएको हुन्छ । अर्डर कन्फर्म भइसकेपछि त्यहाँ कमिसन सहितको रकम देखाइन्छ । उक्त रकम जम्मा गरेको भन्दा ९० देखि ११० प्रतिशत बढीसम्म हुन्छ । प्रयोगकर्ताले आफूले चाहेको बैंक अकाउन्ट दिएपछि उक्त रकम बैंक अकाउन्टमा पठाइन्छ र जुमियाको खातामा रकम नभएको देखाइन्छ । 

यति गरेपछि उनीहरूलाई थप काम गर्ने वा नगर्ने भनेर सोधिन्छ । पहिलो पटक रकम बैंकमै आइसकेपछि प्रयोगकर्ता काम गर्न उत्साहित हुन्छन् र गर्छु भन्छन् । त्यसपछि एउटा सूची पठाएर त्यसमध्ये कुनै एउटा काम छान्न भनिन्छ । जति बढी टास्क लियो, कमिसन रकम त्यति नै बढी हुन्छ । त्यही लोभमा परेर प्रयोगकर्ता बढी टास्क लिन्छन् । 

प्रयोगकर्तालाई गाइडबुक उपलब्ध गराउँदा काम बीचमा छोडेर अगाडि जम्मा गरेको सबै रकम गुम्छ भनेर बुझाइएको हुन्छ । एउटा टास्कमा कति ओटा अर्डर हुन्छ भन्ने खुलाइएको हुँदैन । प्रयोगकर्ता काम गर्छु भन्ने अवस्थामा पुगेर रकम जम्मा गर्न थालेपछि थोरै अर्डरको मूल्य बढाउँदै बढाउँदै लगिन्छ । एक सय रुपैयाँदेखि सुरु हुने अर्डर सात आठ लाख रुपैयाँसम्म पुग्छ । 

बीचमा छोडेर पनि जान नमिल्ने, अनि अगाडि रकम पनि थप गर्न नसक्ने अवस्थामा प्रयोगकर्ता पुग्छन् । यतिबेला उनीहरूलाई कमिसनभन्दा पनि आफ्नै रकम आइदेओस् भन्ने लाग्छ ।

ऋण गरेर अन्तिम अर्डर पूरा गरेपछि रकम निकाल्नका लागि कर तिर्नुपर्ने भनेर थप रकम मागिन्छ । उक्त रकम पछि फिर्ता आउने भनिएको हुन्छ । त्यसपछि प्रयोगकर्ता थप रकम पनि पठाउँछन् । उक्त रकम पठाइसकेपछि फेरि बैंक भेरिफिकेसनका लागि भन्दै रकम पठाउन लगाउँछन् । यसरी विभिन्न बहानामा रकम माग्दै थोरै दिनमा लाखौं रकम ठग्छन् ।  

अनुसन्धान गर्दै प्रहरी 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्ला १५ दिनमा ४० जना बढीले जुमियामार्फत ठगिएको भन्दै निवेदन दिएका छन् । टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “१५ दिनको अवधिमा ४० जनाबाट दुई करोड बढीको ठगी भएको देखिन्छ । सबै ठगिने प्रकृति एउटै किसिमको छैन ।”

ठगीमा पर्ने अधिकांश पीडित अरुकै लहलहैमा लागे‍को देखिएको छ । प्रायः सबै सामाजिक सञ्जालका माध्यममा देखिने विज्ञापनमा भर परेर त्यस जुमिया प्लेटफर्मको सम्पर्कमा पुग्ने गरेको प्रहरी उपरीक्षक आचार्य सुनाउँछन् । सुरुमै थोरै रकम लगानी गर्दा राम्रै आम्दानी हुने देखेपछि पीडितहरू लाखौं रकम तिर्न तयार रहने गरेको उनी बताउँछन् ।

“पैसा आउँछ भन्ने मानसिकताको विकास गरिसकेपछि पीडितलाई सहजै जालोमा पर्ने गरेको देखिएको छ,” उनी भन्छन्, “एउटै व्यक्तिले २५ लाख रुपैयाँसम्म गुमाउनु भएको छ । यसमा कति सर्वसाधारण फसेका छन् त्यसको तथ्याङ्क नै छैन ।”

यसरी छोटो समयमा लाखौं रकम गुमाउँदा पीडित डिप्रेसनमा जाने, घरबार बिग्रिने जस्ता समस्या देखिएको उनी बताउँछन् । "परिवारको सल्लाह बिनै रकम आफ्नै मनोमानी लगानी गर्न खोज्दा यस्तो अवस्था सिर्जना भएको छ," उनी भन्छन् ।

प्रहरी उपरीक्षक आचार्यका अनुसार यस प्लेटफर्ममा प्रयोग भएका सबै बैंक अकाउन्टहरूलाई ट्रुयाक गरी मुख्य व्यक्ति पहिचान गर्न अनुसन्धान भइरहेको छ । यस प्लेटफर्ममा जसरी सर्वसाधारणको रकम डुबिरहेको छ त्यसलाई प्रारम्भिक विश्लेषण गर्दा भारतबाटै कुनै नेपालीले सञ्चालन गरेको जस्तो देखिएको उनी बताउँछन् । 

कार्यालयका अनुसन्धान अधिकारी एवं प्रहरी निरीक्षक निर्मल थापाका अनुसार यो प्लेटफर्म थोरै समयमा धेरैलाई ठग्ने भन्दा पनि थोरै व्यक्तिबाट धेरै रकम ठग्नका लागि सञ्चालन भइरहेको छ । “जसरी उनीहरूले पीडितलाई प्रलोभनमा पार्न बारम्बार टेक्स्ट पठाइरहेका हुन्छन्,” प्रहरी निरीक्षक थापा भन्छन्, “त्यसबाट के अनुमान लगाउन सकिन्छ भने यो नेटवर्क शैलीभन्दा पनि विज्ञापन शैलीबाट अगाडि बढिरहेको देखिन्छ ।” 

यसको नाम जुमिया भनिए पनि फरक फरक डोमेनबाट यसलाई सञ्चालन गरिएको छ । त्यसैले यति ओटै डोमेनबाट यो वेबसाइट सञ्चालित छ भन्न नसकिने प्रहरी निरीक्षक थापाको भनाइ छ । “पीडितहरू सबैलाई एउटै लिङ्क पठाएर एउटै एजेन्टले कुरा गरेको छैन,” प्रहरी निरीक्षक थापा भन्छन्, “हरेक पीडितका लागि फरक फरक लिङ्क र फरक टेलिग्राम अकाउन्ट प्रयोग भएको छ । त्यसैले यसको जालो निकै ठूलो भएको विश्लेषण गर्न सकिन्छ ।”

उनका अनुसार सामाजिक सञ्जालमा सजिलै रकम कमाउन सकिने भन्दै जति पनि विज्ञापन देखिएका हुन्छन् । त्यसमध्ये अधिकांश सर्वसाधारणलाई झुक्याउने किसिमका हुन्छन् । “जुमिया एक त नेपाली प्लेटफर्म नै होइन । यो शब्द सुन्यो कि झुक्याउने प्लेटफर्म हो भनेर सबैले बुझ्नुपर्‍यो । यसमा लगइन हुनुहुन्छ भने पनि अकाउन्ट बन्द गरेर बस्नुस् । कसैले प्रयोग गर्दैछ भन्ने थाहा भयो भने पनि सचेत बनाउनु पर्छ,” उनी थप्छन् । 

कमिसनको लोभमा प्रयोग हुँदैछन् सर्वसाधारणका बैंक अकाउन्ट !

यस घटनामा सर्वसाधारणकै बैंक अकाउन्ट प्रयोग भइरहेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । “बैंक अकाउन्ट प्रयोग गर्न दिए कमिसन दिने वा मासिक रूपमा तलब पाउने भन्दै अन्य सर्वसाधारणको बैंक अकाउन्ट यसमा प्रयोग भएको देखिन्छ,” आचार्य भन्छन्, “त्यसैले यसको जालो कहाँसम्म फैलिएको छ अनुसन्धान सम्पन्न सम्पन्न भएपछि मात्र भन्न सकिन्छ ।”

प्रहरी उपरीक्षक आचार्यले कसैले प्रलोभनमा पारेको खण्डमा बैंक अकाउन्ट प्रयोग गर्न वा कागजात उपलब्ध नगराउन समेत अनुरोध गरेका छन् । घर परिवारका सदस्य, छिमेकी र अन्य व्यक्तिलाई पनि यस्ता किसिमका ठगीबाट जोगाउन सचेत बनाउनुपर्ने उनी सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८१ १२:५६