close

अनलाइन स्क्याममा १६ लाख गुमेपछि आत्महत्या गरेका योगेशको सुसाइड नोटः ‘यी लुटेरालाई नछोड्नू’

टेकपाना टेकपाना

असोज ३०, २०८१ १७:३९

अनलाइन स्क्याममा १६ लाख गुमेपछि आत्महत्या गरेका योगेशको सुसाइड नोटः ‘यी लुटेरालाई नछोड्नू’

काठमाडौं । अनलाइन ठगीको शिकार भएका एक युवकले आत्महत्याको बाटो रोजेका छन् । चार दिनमा १३ लाख रुपैयाँ भन्दा बढी गुमाएपछि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय योगेश ठगुन्नाले यस्तो कदम लिएका हुन् ।

बुधवार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका योगेशको मृत्युले उनको परिवार गहिरो शोकमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार घटनास्थलमा फेला परेको सुसाइड नोटमा योगेशले आफू अनलाइन ठगीको शिकार भएको खुलासा गरेका छन् ।

मृतक योगेशका ठूलाबुवा कृष्णसिंह ठगुन्नाले टेकपानासँग भने, “अनलाइनमा पैसा दोब्बर आम्दानी हुने भन्दै लगानी गर्न लगाइएको रहेछ । त्यसैमा लगानी गर्दा गर्दै १६ लाख भन्दा बढी डुबेछ । तनाव झेल्न नसकेर आत्महत्या गरेको देखिन्छ ।” शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याइएको छ । उनको आजै अन्त्येष्टी गरिने परिवारले जानकारी दिएको छ । 

कसरी अनलाइनमा ठगिन पुगे योगेश ? 

योगेश ठगुन्ना घरका कान्छा छोरा हुन् । उनीभन्दा अगाडि दुई दाजु छन् । ल्याब असिस्टेन्टको पढाइ सकी दुई वर्षदेखि उनी काम गर्दै आएका थिए । पछिल्लो समय योगेश महेन्द्रनगरको ‘शर्मा प्याथोलोजी’मा काम गर्दै आएका थिए । उनी मासिक १३ हजार रुपैयाँ तलब पाउँथे ।

दशैंको दिन उनको ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट कल आयो । उक्त कलमा उनलाई अनलाइन कामको प्रलोभन देखाइएको थियो । सुरुमा कुनै रकमै लगानी नगर्दा उनको वालेटमा रकम आयो । त्यसपछि उनलाई पाँच हजार रुपैयाँ जम्मा गर्न भनियो । पहिले रकम आएको देखेका योगेशले भनेकै जति रकम उनीहरूले पठाएको खातामा हालिदिए । 

त्यस लगत्तै ह्वाट्सएपमा भेटिएका व्यक्तिले ५० हजार रुपैयाँ जम्मा गरे तीन गुणा रकम आउँछ भन्ने प्रलोभन देखाए । “त्यो पैसा वापस आउँछ भनेर भन्यो, तर फेरि तीन गुणा पैसा आउँछ भनेर ५० हजार रुपैयाँ जम्मा गर्न लगाए,” योगेशले सुसाइड नोटमा लेखेका छन् । 

उनले आफूसँग भएको उक्त रकम ती व्यक्तिले भनेको खातामा पठाइदिए । त्यसपछि तीन गुणा बढी रकम आउने आशमा बसेका थिए योगेश । तर, त्यस लगत्तै ती व्यक्तिले थप ५० हजार रुपैयाँ थप्नुपर्ने बताए । योगेशले उक्त रकम व्यवस्थापन गरिदिन आफ्नी प्रेमिकालाई अनुरोध गरे । प्रेमिकाले सो रकम योगेशलाई पठाइदिइन् । योगेशले उक्त पैसा ह्वाट्सएपमा भेटिएका व्यक्तिले भनेको खातामा जम्मा गरिदिए । 

यतिबेलासम्म उनको एक लाख पाँच हजार रुपैयाँ गइसकेको थियो । उनलाई त्यसभन्दा तीन गुणा बढी रकम पाउने आश्वासन दिइएको थियो । 

त्यसपछि पैसा आउनेमा योगेश विश्वस्त थिए । तर, उनलाई थप ९८ हजार रुपैयाँ जम्मा गर्न भनियो । योगेशले कतैबाट ९८ हजार रुपैयाँ पनि व्यवस्थापन गरे । र, पहिले जस्तै गरी रकम ट्रान्सफर गरे । 

अब त ढुक्क रकम आउँछ भन्ने आशमा थिए योगेश । तर, उनलाई फेरि थप दुई लाख ५० हजार रुपैयाँ पठाउन लगाइयो । “दुई लाख ५० हजार रुपैयाँ मागेपछि म डराएँ,” उनले लेखेका छन्, “त्यसपछि मैले यो कुरा मेरी प्यारी र दाइलाई बताए ।” योगेशले यसबारे दाइलाई बुझाउँदा उनका दाइले यसरी रकम पठाउँदा डुब्छ भन्दै रकम जम्मा नगर्न सुझाव दिए । 

“तैंले जे जति पैसा जम्मा गरिस् छोड्दे, अब कसैसँग पैसा नमाग्, म तँलाई रकम हालिदिन्छु भनेर उसको दिल्लीमा भएको दाइले भनेको रहेछ,” योगेशका ठूलो दाइको कुरा उध्दृत गर्दै उनका ठूलोबुवाले भने । 

तर, योगेशलाई गएको रकम फिर्ता आउँछ कि भन्ने आश थियो । त्यसैले अरू पैसा नआए पनि आफ्नो गएको रकम फिर्ता आए पुग्छ भन्ने मनस्थितिमा उनी पुगे । त्यसपछि उनले आफ्नो घरमा बस्ने भाइ आशिषसँग दुई दिनमै फिर्ता गर्ने भन्दै साढे दुई लाख रुपैयाँ मागे । आशिषसँग उनकी आमाको खाता थियो । र, उक्त खातामा पैसा थियो । आशिषले पनि योगेशलाई विश्वास गर्दै रकम पठाइदिए । योगेशले साढे दुई लाख रुपैयाँ पनि पहिले जसरी नै खातामा जम्मा गरे । 

जति जति रकम पठाउँदै गए, त्यति नै आफूले जम्मा गरेको रकम फिर्ता आउँछ भन्ने आशामा थिए योगेश । पैसाको लहरोले आशालाई पनि साथ दिइरहेको थियो । जति लामो पैसाको लहरो हुन्थ्यो त्योभन्दा दोब्बर पाउने आशाको लहरो बगिरहेको थियो । तर कहिलेकाहीँ लहरो किनारमा आइपुगेर बिलाउँछ, त्यस्तै आशा पनि कहिलेकाहीं वास्तविकतासँग टक्कर खाएर हराउँछ ।

अब एकैछिनमा सबै पैसा तेब्बर बढी भएर फिर्ता आउँछ भनेका ती व्यक्तिले योगेशकै गल्ती देखाएर थप साढे पाँच लाख रुपैयाँ जम्मा गर्नुपर्ने बताए । “म फसिसकेको थिएँ । जतिजति निक्लिन खोजेको थिएँ त्यति नै फसिरहें,” योगेशले लेखेका छन् । 

जति पैसा फेसेको छ त्यो फिर्ता पाउनका लागि भए पनि उनले साढे पाँच लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो । उनले फेरि आशिषलाई साढे पाँच लाख रुपैयाँ व्यवस्थापन गर्न अनुरोध गरे । आशिषले पनि साढे पाँच लाख रुपैयाँ उपलब्ध गराए । यो रकम पहिले जस्तै योगेशले उनीहरूले भनेको खातामा पठाइदिए । 

यति गर्दा पनि उनीहरूले योगेशलाई सताउन छोडेनन् । र, फेरि साढे पाँच लाख रुपैयाँ जम्मा गर्न भने । यता पैसा कहाँ माग्ने कोसँग माग्ने भन्नेमा योगेश दोधारमा परे । उत्तिकै तनाव थपिएको थियो । उनलाई ‘अब यो अन्तिम पटक हो । साढे पाँच लाख जम्मा गरेपछि तैंले पैसा पाउँछस्’ भनेपछि उनी अन्तिम आशा बोकेर पैसा खोज्न भौतारिए । 

उनले पहिले रकम मागेका युवक आशिषकी आमाको खातामा साढे दुई लाख रुपैयाँ बाँकी थियो । अब उनलाई बाँकी साढे तीन लाख रुपैयाँ जम्मा गर्नुपर्ने भयो । उनले आफू काम गर्ने फार्मेसीका सञ्चालकसँग विभिन्न बहानामा उक्त रकम मागे । सञ्चालकले पनि रकम उपलब्ध गराइदिए । सबै रकम लिएर बैंकबाट उक्त खातामा पठाइदिए । यतिबेलासम्म उनले कूल १६ लाख तीन हजार रुपैयाँ उपलब्ध गराइसकेका थिए ।  

अब सबै काम सकियो । रकम आउन मात्र बाँकी थियो । योगेश रकम पाउने अन्तिम आश बोकेर बसेका थिए । तर, फेरि उनलाई छ लाख रुपैयाँ तिर्न भनियो । यति भएपछि योगेशले आफू नराम्रोसँग ठगिएको थाहा पाए । “म कहाँबाट ल्याउँ त्यति पैसा । मसँग एक रुपैयाँ पनि छैन । घरमा पनि कसैलाई थाहा छैन । त्यसैले म मर्न गइरहेको छु,” उनले सुसाइड नोटमा लेखेका छन् । 

“योगेशलाई पठाउँदा उसको बुवालाई ऋण लागेको थियो । बैतडीबाट कञ्चनपुर बस्न आएको अरू पनि ऋण थियो । त्यसैमाथि यो ऋण थपिंदा योगेशलाई धेरै तनाव भयो । केही नशालु पदार्थ सेवन गर्ने वा कुनै कुलतमा परेको थिएन । तनाव झेल्न नसक्ने भएपछि आत्महत्याको सोच बनाएको रहेछ,” उनका ठूलोबुवाले भने । 

बुधबार बिहान ७ बजे योगेश कोठाबाट बाहिर निस्किए । फ्रेस भएर योगा गरे । “अब नास्ता खाने भनेर उसको आमा नास्ता बनाउन थालिन्,” बिहानको स्थिति सम्झिंदै उनका ठूलोबुवाले भने, “योगेश कोठामा गयो । उसको भतिज (दाइको छोरा)ले अङ्कल केही लेख्दै हुनुहुन्छ अहिले खान आउनु हुन्छ भन्यो ।

उनका बुवा र आमाले पनि योगेश आफ्नै काम वा पढाइसँग सम्बन्धित केही लेख्दै छन् होला भन्ने अड्कल काटे । तर, आधा घण्टासम्म पनि उनी निस्किएनन् । त्यस लगत्तै उनका बुवा कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको थाहा भयो । “झ्यालबाट हेर्नेबेला पङ्खामा पासो लगाएको देखियो,” उनका ठूलोबुवाले सुनाए ।

 

योगेशले सुसाइड नोटमार्फत सरकारलाई गरेको अनुरोध

अब नेपाल सरकारलाई यत्ति भन्न चाहन्छु, कृपया यिनीहरूलाई नछोड्नु होला । यिनीहरूको कारण म आज यो अवस्थामा छु ।  म यो आग्रह गर्न चाहन्छु कि फ्रड गर्नेहरूलाई जसरी पनि पक्राउ गर्नुहोला । म जस्तो जतिलाई लुटेका छन् सबैको पैसा फिर्ता गराइदिनु होला ।

यी लुटेराहरूलाई जसरी पनि पक्राउ गरिदिनु होला । जसरी यिनीहरूले मलाई फसाए त्यसरी कतिऔं मान्छेलाई फसाएका छन् । यी अपराधीहरूलाई जसरी पनि पक्राउ गरिदिनु होला । यिनीहरूको कारणले गर्दा म यो गर्न गइरहेको छु । मेरो मोबाइल फोनमा जति पैसा पठाएँ, जोलाई पठाएँ सबैको  फोटो छ, हेर्नु होला । म मर्न गइरहेको छु । तर, नेपाल सरकार र यहाँको कानूनमा विश्वास छ यि लुटेराहरूलाई नछोड्नुहोला । आग्रह गर्न चाहन्छु ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८१ १७:५२