close

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु, यी काम अब विद्युतीय प्रणालीमार्फत

टेकपाना टेकपाना

असोज १०, २०८२ ११:५९

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु, यी काम अब विद्युतीय प्रणालीमार्फत

काठमाडौँ । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य रूपमा लागु गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीमार्फत फाइल स्वीकृत गर्दै यसको औपचारिक आरम्भ गरेका हुन् ।

सरकारी निकायका कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले यो प्रणाली विकास गरेको हो । अबदेखि अर्थ मन्त्रालयका सम्पूर्ण कार्य पेपरलेस (कागजरहित) रूपमा सञ्चालन हुनेछन् ।

जीआईओएमएस मार्फत तोक आदेश र टिप्पणी–निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरसहित सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यस प्रणाली कार्यान्वयनपछि निर्णय प्रक्रियामा तीव्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १२:१६