close

अमेरिकाबाट नेपाल पैसा पठाउन सहज बनाउँदै हाम्रोपात्रो, १,००० डलर बढी ट्रान्सफरमा शून्य शुल्क

टेकपाना टेकपाना

असोज १२, २०८२ १४:२९

अमेरिकाबाट नेपाल पैसा पठाउन सहज बनाउँदै हाम्रोपात्रो, १,००० डलर बढी ट्रान्सफरमा शून्य शुल्क

काठमाडौँ । अमेरिकामा ‘हाम्रो पात्रो रेमिट’ सेवा पुनः सञ्चालनमा आएको छ । मोबाइल एप हाम्रो पात्रोमार्फत अमेरिका निवासी नेपालीहरूले अब नेपालमा रहेका आफ्ना आफन्तलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्ने भएका छन् ।

नेपालीहरूको चाड बडादशैँलाई लक्षित गरी पुनः सुरु गरिएको यस सेवामा प्रयोगकर्ताहरूका लागि विशेष अफरहरू उपलब्ध गराइएको छ । दशैँ अवधिमा १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, पहिलो ५,००० नयाँ प्रयोगकर्ताले पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विनिमय दर पाउनेछन् ।

हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले पारदर्शी शुल्क, भरपर्दो डेलिभरी प्रणाली र छिटो सेवाका कारण प्रयोगकर्ताले पठाएको रकम प्रभावकारी रूपमा परिवारसम्म पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो ।”

यस सेवामार्फत पठाइएको रकम नेपालका प्रमुख बैंकमा सिधै जम्मा हुने र नियमित बैंकिङ समयभित्रै सम्पादन हुने व्यवस्था गरिएको छ । प्रयोगकर्ताले पैसा पठाउनुअघि नै प्राप्तकर्ताले पाउने रकम देख्न सक्ने भएकाले सेवा पूर्ण रूपमा पारदर्शी हुने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय तथा राज्य सरकारको नियमअनुसार अनुमोदित साझेदारमार्फत सञ्चालन हुने र प्रयोगकर्ताको जानकारी तथा रकम सुरक्षाका लागि केवाईसी प्रक्रिया, अवैध क्रियाकलाप रोकथाम (एएमएल) र गोपनीयता प्रविधि (इन्ड-टु-इन्ड इनक्रिप्सन) प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

निकट भविष्यमा यस सेवाबाट अमेरिकाबाटै नेपालमा बिजुली, इन्टरनेट, पानी लगायतका बिल तिर्ने सुविधा, डिजिटल वालेटमार्फत छिटो पैसा पठाउने सुविधा र अमेरिकी क्लाइन्टबाट नेपाली फ्रिलान्सर तथा साना व्यवसायीले सजिलै भुक्तानी लिन सक्ने सुविधा थपिने हाम्रो पात्रो टिमले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १४:२९