काठमाडौं । युट्युबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ प्रयोगात्मक सुविधा ‘युट्युब ल्याब्स’ सुरु गरेको छ । यस अन्तर्गत ‘बियोन्ड द बिट’ नामक एआई होस्ट युट्युब म्युजिकमा उपलब्ध हुनेछ ।
यो एआई होस्टले मिक्स गीत वा रेडियो स्टेसन सुन्दै गर्दा रेडियो उद्घोषक जस्तै प्रयोगकर्ताको संगीत रुचिसँग सम्बन्धित कथा, सामान्य ज्ञान र कमेन्ट्रीहरू प्रस्तुत गर्नेछ । युट्युबका अनुसार यसले गीत सुन्ने अनुभवलाई अझ रमाइलो र आकर्षक बनाउनेछ ।
तर, यो जेनरेटिभ एआई भएकाले कहिलेकाहीँ गलत जानकारी वा गुणस्तरहीन सामग्री दिने सम्भावना रहेको युट्युबले स्वीकार गरेको छ । अहिले यो सुविधा अमेरिकामा रहेका सीमित प्रयोगकर्तालाई परीक्षणका लागि मात्र उपलब्ध गराइएको छ ।
कसरी प्रयोग गर्ने ?
यदि तपाईंलाई यो सुविधा उपलब्ध छ भने युट्युब ल्याब्सको वेबसाइटमार्फत परीक्षणमा सामेल हुन सक्नुहुन्छ । सहभागी भएपछि युट्युब म्युजिक एपको ‘Now Playing’ सेक्सनमा ‘Gemini’ लोगो भएको बटन देखिनेछ । उक्त बटन थिचेर एआई होस्टको कमेन्ट्री अन गर्न सकिनेछ ।
एआई होस्टले तपाईं सुन्दै गरेको गीतका आधारमा तपाईंको संगीत रुचि के हो, तपाईं कुन प्रकारका गीत बढी सुन्नुहुन्छ भन्ने कुरा विश्लेषण गरी सम्बन्धित जानकारी दिनेछ ।
तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो सेवा सुरु भएपछि स्थायी रूपमा बन्द गर्ने विकल्प छैन । प्रयोगकर्ताले चाहँदा एक घण्टा वा एक दिनका लागि मात्र ‘Snooze’ अर्थात् अस्थायी रूपमा रोक्न सक्ने सुविधा उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज १३, २०८२ १६:५२
