पाकिस्तानी महिला क्रिकेट कप्तानले भारतीय क्रिकेटरलाई ढोगेको भन्दै एआई निर्मित तस्बिर भाइरल
असोज २२, २०८२ १९:३५
काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा पाकिस्तानी महिला क्रिकेटकी कप्तान फातिमा सानाले भारतीय महिला क्रिकेटर स्मृति मन्धनाको खुट्टा ढोगेको तस्बिर भाइरल छ । विशेष गरि भारतीय प्रयोगकर्ताहरूले क्रिकेट मैदानमा फातिमाले स्मृतिको खुट्टा ढोगेको तस्बिर राखेका छन् ।
उनीहरूले आईसीसी महिला विश्वकपमा भारत र पाकिस्तान बिचको खेलमा पाकिस्तानले हार व्यहोरेपछि फातिमाले आफ्नो आइडल स्मृतिको खुट्टा ढोगेको भन्दै उक्त फोटो भाइरल गराएका हुन् । तर टेकपाना तथ्यजाँचमा उक्त तस्बिर एआईबाट तयार पारेर सामाजिक सञ्जालमा राखिएको देखिएको छ ।
दाबी
सामाजिक सञ्जाल युट्युबमा ‘Sports Edge Cricket’ नामक युट्युब च्यानलले ६ अक्टोबरमा ९ मिनेट ३५ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेको छ । ‘देखिए, हार के बाद PAK कप्तान Fatima ने Smriti के छुए पैर तो भड़क उठे पाकिस्तानी दिग्गज दिए बड़े बयान’ शीर्षकमा सार्वजनिक उक्त भिडिओमा फातिमाले खेल हारेपछि स्मृतिले खुट्टा ढोगेको दाबी गरिएको छ । मुसलमान भएर भारतीय क्रिकेटरको खुट्टा ढोगेको भनेर फातिमाको आलोचना भएको उक्त भिडिओमा बताइएको छ । उक्त भिडिओमा यो सामग्री तयार पार्दा सम्म ४ लाख भन्दा धेरै भ्युज आइसकेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
स्पोर्ट्स एज क्रिकेट च्यानलले जस्तै सामाजिक सञ्जालमा फातिमाले स्मृतिले खुट्टा छोएको र फातिमाको शिरमा स्मृतिले हात राखेका कयौँ पोस्टहरू फैला परे । ‘Divya Singh’ नामक फेसबुक पेजले सोही सन्दर्भमा सार्वजनिक गरेका फरक फरक दुई वटा फेसबुक पोस्टहरू फेला परे ती पोस्टमा विश्वकपको खेलमा हार ब्यहोरेपछि पाकिस्तानी कप्तान फातिमा सानाले स्मृति मन्धनाको खुट्टा छोएको दाबी गरिएको छ । ६ अक्टोबर बिहान १:५३ मा सार्वजनिक उक्त पोस्टमा ५१ हजारभन्दा धेरैले रियाक्सन गरेका छन् भने १९ भन्दा धेरैले शेयर गरेका छन् । उक्त पोस्टमा राखिएको तस्बिरको क्याप्सनमा भने ‘AI PIC’ (एआईबाट तयार पारिएको) बताइएको छ ।
सोही फेसबुक पेजबाट ६ अक्टोबर बिहान ९:५३ मा फातिमाले स्मृतिको खुट्टा छोएको देखेर इन्डियन क्रिकेटका पूर्व कप्तान एमएस धोनी छक्क परेको समेत दाबी गरिएको छ ।
‘Sports Edge Cricket’, ‘Divya Singh’ जस्तै कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले खुट्टा ढोगेको तस्बिर राखेका छन् । ‘Smriti Mandhana Fans’ नामक फेसबुक पेजले सोही दाबी सहित पोस्ट सार्वजनिक गरेको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
स्मृतिको खुट्टा फातिमाले ढोगेको दाबी गरिएका केही पोस्टमा राखिएको तस्बिर एआईबाट तयार पारिएको उल्लेख गरिएको छ । तर धेरै जसो पोस्टमा भने एआईबाट तयार पारिएको कुरा खुलाइएको छैन । त्यसैले हामीले एआई निर्मित तस्बिरहरूको वास्तविकता पत्ता लगाउने विभिन्न एआई टुलहरूमा फातिमाले स्मृतिको खुट्टा ढोगेको तस्बीर राखेर हेर्यौँ ।
जसमा हाइभ मोडेरेसन टुलले उक्त तस्बिर ९९.९% एआई निर्मित रहेको देखायो । उक्त तस्बिर तयार पार्न जेमनाई एआई प्रयोग भएको देखायो ।
यस्तै साइट इन्जिन डटकमबाट पनि उक्त तस्बिर एआई निर्मित हो की होइन भनेर राख्दा ९९% एआई निर्मित रहेको देखायो । जहाँ ९९ प्रतिशत अनुहारमा परिवर्तन भएको देखायो ।
आईसीसी महिला विश्वकप अन्तर्गतको समूह चरणको खेलमा ५ अक्टोबरमा भारत र पाकिस्तान पहिलो पटक आमने सामने भएका थिए । श्रीलङ्काको ‘आर प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’मा भएको उक्त खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको पाकिस्तानले भारतीय महिला टोलीसँग ८८ रनको हार ब्यहोर्यो । उक्त खेलमा भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै पाकिस्तानलाई २४८ रनको लक्ष्य दिएको थियो । तर ४३ ओभरमा अलआउट भएको पाकिस्तानले १५९ रन मात्र बनाउन सक्यो ।
खेलको पहिलो इनिङको ८.६ ओभरमा पाकिस्तानी कप्तान फातिमा सानाले भारतीय महिला क्रिकेटर स्मृति मन्धनाको विकेट लिएकी थिइन् । खेलमा स्मृतिको विकेट लिँदा फातिमाले सेलिब्रेट गरेका भिडिओहरू सामाजिक सञ्जालमा हामीले फेला पार्यौँ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले पनि फातिमाले लिएको विकेटको हाइलाइटलाई आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ, जहाँ उनी विकेट लिएर खुसी मनाइरहेकी छिन् । हेर्नुहोस्, भिडिओ ।
आईसीसीको साइटबाट हामीले उक्त खेलका पहिलो र दोस्रो दुवै इनिङका भिडिओहरू पनि नियाल्यौँ । त्यसमा पनि कतै यस किसिमको दृश्य देखिएन ।
विभिन्न पोस्टहरूमा दाबी गरिएजस्तो फातिमाले स्मृतिको खुट्टा छोएको अन्य फोटो तथा भिडिओ फेला परेनन् । यदि उक्त दाबी सत्य भएमा रङ्गशालामा भएका पत्रकार र दर्शकहरूले त्यस्तो दुर्लभ दृश्य खिचेर सामाजिक सञ्जालमा राख्न सक्थे, तर त्यस्तो गरेको पाइएन । फातिमाले स्मृतिलाई ढोगेका भिडिओहरू पनि कतै फेला परेनन् ।
भारत र पाकिस्तान क्रिकेट जगतको सबैभन्दा ठुला प्रतिद्वन्द्वीको रूपमा समेत परिचित छन् । पाकिस्तानी क्रिकेट कप्तानले भारतीय क्रिकेटरलाई सम्मानस्वरूप खुट्टा ढोगेको भए त्यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय खेलकुद जगदमा पनि चर्चाको विषय हुनुपर्ने थियो ।
हामीले विभिन्न किवर्डहरू राखेर उक्त विषयमा सार्वजनिक भएका समाचार खोज्ने प्रयास गर्यौँ । ‘फातिमा सना स्मृति मंधाना पैर’, ‘फातिमा सना स्मृति मंधाना वीडियो’, ‘विश्व कप के बाद फातिमा सना का रिएक्शन’ ‘Fatima Sana Smriti Mandhana respect gesture’, ‘Fatima Sana touches Smriti Mandhana feet’ लगायतका किवर्ड राखेर सर्च गर्दा फातिमाले खुट्टा छोएको कुनैपनि समाचार फेला परेन । अर्थात् तर कुनै पनि विश्वसनीय सञ्चारमाध्यमले त्यस बारे कभरेज गरेको पाइएन । त्यसैले सामाजिक सञ्जालमा गरिएको दाबीमा सत्यता नरहेको निष्कर्षमा पुगियो ।
दाबी
पाकिस्तानी महिला क्रिकेट कप्तान फातिमा सानाले भारतकी क्रिकेटर स्मृति मन्धनाको खुट्टा ढोगिन् ।
दाबीकर्ता
‘Sports Edge Cricket’, ‘Divya Singh’, ‘Smriti Mandhana Fans’ लगायत विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
-
भाइरल तस्बिर र दाबीहरू वास्तविक होइनन् । ती फोटो एआईद्वारा बनाइएका हुन् ।
-
हाइभ मोडेरेसन टुलले तस्बिरलाई ९९.९% एआई निर्मित देखायो ।
-
साइटइन्जिन डटकमबाट परीक्षण गर्दा पनि तस्बिर ९९% एआई जनरेटेड भएको पुष्टि भयो ।
-
आईसीसीका आधिकारिक भिडिओमा फातिमाले खेलका क्रममा स्मृतिको विकेट लिँदा सेलिब्रेट गरेको दृश्य मात्र देखिन्छ, खुट्टा ढोगेको कुनै दृश्य छैन ।
-
खेलपछि यस्तो घटना भएको कुनै पनि विश्वसनीय समाचार स्रोत वा प्रमाण फेला परेन ।
निष्कर्ष
५ अगस्टमा आईसीसी महिला विश्वकपअन्तर्गत समूह चरणको खेलमा भारत र पाकिस्तानको खेल भएको थियो । उक्त खेलमा पाकिस्तान भारतसँग ८८ रनले पराजित भयो । सो पछि सामाजिक सञ्जालमा पाकिस्तानी महिला क्रिकेट कप्तान फातिमा सानाले सम्मानस्वरूप भारतकी क्रिकेटर स्मृति मन्धनाको खुट्टा ढोगेको दाबी सहितको तस्बिर र पोस्टहरू भाइरल भइरहेका छन् । तर, उक्त तस्बिर एआईबाट तयार पारेको पाइएको छ भने खुट्टा ढोगेको घटनाको बारेमा पनि विश्वसनीय समाचार तथा स्रोत फेला परेन । त्यसैले उक्त दाबी झुटो हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १९:३५
