आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा हराएका लाइसेन्स-ब्लुबुक पुनःप्राप्तिका लागि अनलाइनबाट आवेदन दिन सकिने
असोज २७, २०८२ १५:२८
काठमाडौँ । जेन-जी आन्दोलनको आडमा विभिन्न ट्राफिक कार्यालयमा आगजनी हुँदा हराएका तथा नष्ट भएका सवारीसाधनका कागजात पुनः प्राप्तिका लागि सिफारिस लिन अनलाइनबाट आवेदन दिन मिल्ने भएको छ । आइतबारदेखि अनलाइन फाराम भर्ने सुविधा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “हराएका कागजातका लागि अनलाइन आवेदन दिने सुविधा पहिले पनि थियो । तर आन्दोलनमा ट्राफिक कार्यालयहरूमा आगजनी हुँदा बिचमा रोकिएको थियो । अहिले त्यसलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।”
आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा रहेका विभिन्न व्यक्तिको लाइसेन्स, ब्लुबुक लगायतका कागजातहरू जलेका थिए । जुनसुकै ट्राफिक कार्यालयबाट कागजात हराएको भएपनि उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा गएर फारम भर्न सकिने प्रहरी उपरीक्षक सुवेदीले बताए ।
यसका लागि ‘हराएको कागजात सम्बन्धी आवेदन’ अप्सनमा क्लिक गर्नुहोस् । वा सिधै यहाँ क्लिक गर्नुहोस् ।
त्यसपछि लाइसेन्स, ब्लुबुक, रोड पर्मिटमध्ये कुन कागजात हराएको हो, त्यसमा क्लिक गरेर उक्त कागजातको जानकारी भर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ माग गरिएको विवरण भरेर पहिचान खुल्ने कागजातको फोटो समेत अप्लोड गरेर सब्मिट गर्नुपर्छ । सब्मिट गर्दा एप्लिकेन्ट नम्बर प्राप्त हुन्छ ।
उक्त आवेदनको जाँच गरेर ट्राफिक प्रहरीले अनलाइनबाट नै सिफारिस दिने प्रहरी उपरीक्षक सुवेदीले बताए । सो सिफारिस ‘हराएको कागजात सम्बन्धी आवेदन’ मा क्लिक गरेर दायाँ माथिल्लोपट्टि रहेको ‘Check Application’ मा क्लिक गरेर हेर्न सकिन्छ । यसका लागि आवेदन सब्मिट गर्दा पाएको आईडी राख्नुपर्ने हुन्छ ।
ट्राफिक कार्यालयले कागजात बनाउनका लागि दिएको क्यूआर कोड सहितको सिफारिस पत्र लिएर सम्बन्धित यातायात कार्यालयमा गएर कागजात बनाउन सकिने उनले जानकारी दिए ।
यता ट्राफिक कार्यालयमा व्यक्तिका कति कागजात हराए तथा जलेर नष्ट भए भन्नेबारे हालसम्म यकिन विवरण भने नरहेको उनले बताए । प्रहरी उपरीक्षक सुवेदीले भने, “एउटा समिति बनाएर आन्दोलनमा कति कागजात जले कति बाँकी छन् भनेर अध्ययन गरिरहेका छौँ ।”
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १५:२८
