close

भोटेकोशी पावर कम्पनीले भन्योः जेनजीलाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने समाचार झुटो हो

टेकपाना टेकपाना

असोज २९, २०८२ १३:४८

भोटेकोशी पावर कम्पनीले भन्योः जेनजीलाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने समाचार झुटो हो

काठमाडौँ । भोटेकोशी पावर कम्पनीले जेन-जीलाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्दै प्रकाशित समाचार प्रति ध्यानाकर्षण जनाएको छ । कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो ।

"भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक कम्पनीबिच निःशुल्क शेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहन्छौँ," विज्ञप्तिमा भनिएको छ । जसअनुसार जेन जी कम्पनीले जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई सेयरधनी बनाउनेछ ।

"त्यसपछि पावर कम्पनीबाट प्रति शेयर बराबर अङ्कित मूल्य १०० रुपैयाँ रहेको १० प्रतिशत शेयर उल्लिखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लिखित शेयर खरिद गर्नको लागि चाहिने ऋण बैँकबाट लिने र सो ऋणको लागि पावर कम्पनीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहन्छौँ," विज्ञप्तिमा भनिएको छ ।

निर्माण सम्पन्न भइसकेको आयोजना भएकोले पावर कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको बताइएको छ । सोही कुरालाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै पावर कम्पनीले भ्रममा नपर्न अनुरोध गरेको हो ।

 

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १३:४८