काठमाडौँ । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ । डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यका साथ नागरिक एपमा पनि यो सेवा प्रारम्भ गर्न लागिएको हो ।
यस सेवामार्फत नागरिकहरूले आफ्नो पायक पर्ने जिल्ला निर्वाचन कार्यालय छनोट गरी प्रि-इनरोलमेन्ट फारम भर्न सक्ने नागरिक एपले जनाएको छ ।
यसअघि नै मतदाता नामावलीमा नाम दर्ता गरिसकेका व्यक्तिहरूले पुनः नाम दर्ता गर्नु पर्नेछैन । यो सेवा प्रयोग गर्नका लागि नागरिक एपको नयाँ संस्करण (v2.0.84) अपडेट गर्नुपर्नेछ ।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन जारी राखेको छ । यसकै प्रयोजनका लागि आयोगले आफ्नो वेबसाइटबाट समेत प्रि-इनरोलमेन्ट सेवा सुरु गरिसकेको छ ।
अनलाइन आवेदन भरेपछि आफ्नो फोटो खिचाउने र बायोमेट्रिक दिने मिति र स्थानबारे जानकारी लिई आवेदक तोकिएको समयमा सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थिति हुनुपर्ने छ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १४:५५
