अब हाम्रोपात्रोमै गर्न सकिन्छ च्याट र भिडिओ कल, एआई असिस्टेन्टसहित ‘यति’ फिचर सार्वजनिक
कात्तिक ५, २०८२ १८:०
काठमाडौँ । नेपाली एप हाम्रोपात्रोले ‘यति’ नामक नयाँ च्याट फिचर सार्वजनिक गरेको छ । हाल बेटा भर्सनमा उपलब्ध यो फिचरमार्फत प्रयोगकर्ताले आपसमा कुराकानीका साथै एआई असिस्टेन्टको सुविधासमेत लिन सक्नेछन् ।
कम्पनीका अनुसार हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि बेटा भर्सनमा उपलब्ध यो फिचर प्रयोग गर्न एपको बेटा भर्सन इन्स्टल गर्नुपर्नेछ । वा, app.hamropatro.com मा गई यो फिचर परीक्षण गर्न सकिन्छ ।
बेटा भर्सन इन्स्टल भइसकेोछि एपको बटम बारमा रहेको कल आइकनमा ट्याप गरेपछि खुल्ने इन्टरफेसमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेर अकाउन्ट सक्रिय गर्न सकिन्छ ।
अकाउन्ट खुलेसँगै प्रयोगकर्ताले अन्य ‘यति’ प्रयोगकर्तासँग च्याट, अडियो कल, भिडिओ कलका साथै फोटो, भिडिओ र स्टिकर पठाउन सक्नेछन् ।
यसमा नयाँ वर्ष, चाडपर्व र अन्य विभिन्न विषयसँग सम्बन्धित नेपाली स्टिकर पनि उपलब्ध गराइएको छ ।
यस फिचरको अर्को मुख्य विशेषता ‘यति एआई’ नामक च्याटबट हो । हाम्रोपात्रोका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीका अनुसार यो एआई असिस्टेन्टमार्फत प्रयोगकर्ताले विभिन्न तिथि-मिति र पञ्चाङ्ग, विदेशी मुद्राको विनिमय दर, सुन-चाँदीको भाउ र त्यसको विश्लेषण, राशिफल र ज्योतिष, समाचार, मोबाइल रिचार्ज, हाम्रो रेमिट तथा स्वास्थ्य परामर्श सम्बन्धी जानकारी लिन सक्नेछन् । साथै हाम्रो पे प्रयोगकर्ताहरूले यसै फिचरमार्फत रकम पठाउन र माग्न पनि सक्नेछन् ।
कम्पनीले निकट भविष्यमै अडियो मेसेज पठाउने सुविधा र ग्रुप च्याटको फिचरमा पनि काम गरिरहेको जनाएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि हाम्रोपात्रो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको थियो । त्यसपछि कम्पनीले यो च्याट फिचरमा काम गरिरहेको थियो । हाल बेटा भर्सनमा रहेको यो फिचर सबै प्रयोगकर्ताका लागि कहिले पूर्ण रूपमा उपलब्ध हुन्छ भन्नेबारे भने कम्पनीले जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १८:०
