सन्दीप लामिछानेबारेको शो विवादित बनेपछि प्याराडाइम टिभीले माफी माग्यो, भिडिओ प्राइभेट
कात्तिक ६, २०८२ १०:५०
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबारे अतिथिले बोलेको विषय विवादित बनेपछि युट्युब च्यानल ‘प्याराडाइम टिभी’ (Paradygm TV) ले माफी माग्दै भिडिओ नदेखिने बनाएको छ ।
शोमा आएका महिला अतिथिहरूले सन्दीपको विगतका कानुनी मुद्दा र व्यक्तिगत जीवनलाई इंगित गर्दै टिप्पणी गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताको आरोप छ । सन्दीप आफैँले कडा आपत्ति जनाएपछि प्याराडाइम टिभीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको छ ।
सन्दीपले फेसबुकमा लेखेका छन्, “युट्युब च्यानलको कुर्सीमा बस्ने र कसैको जीवनमाथि व्यंग्य गर्ने, मजाक उडाउने- लाजमर्दो व्यवहार हो ।” उनले आफूविरुद्ध बनाइएको भिडियोलाई नियोजित आक्रमण भएको दाबी गरेका छन् । “प्याराडाइम टिभीले मेरो व्यक्तिगत जीवन, सम्मान र गोपनीयतामाथि षड्यन्त्रपूर्वक आक्रमण गरेको छ । यस्तो सामग्रीले मेरो मानसिक शान्ति र प्रतिष्ठामा हानि पुर्याउने उद्देश्य राखेको छ ।” उनले च्यानल र अतिथिहरूलाई सीमा ननाघ्न चेतावनी दिएका छन् ।
सन्दीपको पोस्टपछि भिडिओप्रति व्यापक विरोध सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्याराडाइम टिभीलाई रिपोर्ट, अनसब्सक्राइब र बहिष्कार गर्न आह्वान गर्दै सन्दीपप्रति समर्थन जनाएका छन् ।
चर्को आलोचनापछि प्याराडाइम टिभीले सामाजिक सञ्जालमार्फत माफी मागेको छ । उसले लेखेको छ, “हालैको भिडिओमा सन्दीप लामिछानेको नाम रमाइलो सन्दर्भमा प्रयोग गर्नु हाम्रो निर्णयमा कमजोरी थियो । त्यसले कसैलाई लक्षित गर्ने, व्यंग्य गर्ने वा अपमान गर्ने उद्देश्य राख्दैनथ्यो ।
प्याराडाइम टिभीले उक्त विषय गम्भीर रूपमा लिएको र पूर्ण जिम्मेवारी लिने जनाएको छ । साथै च्यानलले भिडिओ पुनः रिभ्यु भइरहेको र दर्शकहरूलाई यस विषयलाई घृणा फैलाउने माध्यम नबनाउन पनि आग्रह गरेको छ ।
“भिडिओ पुनः रिभ्यु भइरहेको छ र यसबाट सिक्दै भविष्यमा अझ जिम्मेवार सामग्री तयार गर्ने प्रयासमा छौं,” पोस्टमा भनिएको छ ।
'भाइटिका वा डेट' नामको सेगमेन्टमा महिला अतिथिहरूले विभिन्न व्यक्तिबारे आफ्ना धारणा राखेका छन् ।
क्रिकेटर लामिछाने विगतमा बलात्कार आरोपबाट निर्दोष ठहरिएका थिए । प्याराडाइमको शोले उनको मानसिक स्वास्थ्य र व्यक्तिगत जीवनमा असर पुर्याएको भन्दै धेरैले सामाजिक सञ्जालमा असन्तोष व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८२ १०:५०
