झुक्किएर बढी रकम पठाउने क्रम बढेपछि आशिकाको आग्रह: ‘डोनेसन गर्नुअघि राम्ररी चेक गर्नुहोला’
कात्तिक ११, २०८२ १२:३२
काठमाडौँ । अभियन्ता तथा क्लिन एन्ड ग्रिन आशिका फाउन्डेसनकी संस्थापक आशिका तामाङले आफ्ना सहयोगी दातालाई रकम पठाउनुअघि राम्रोसँग जाँच गरेर मात्र दान गर्न आग्रह गरेकी छिन् । न्यूनतम रकम दान गर्न खोज्दा झुक्किएर ठुलो रकम पठाउने र पछि फिर्ता माग्ने प्रवृत्ति बढेपछि तामाङले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन् ।
तामाङले हालै ‘जाडोमा न्यानो कपडा’ अभियानका लागि सहयोग जुटाउन आह्वान गरेकी थिइन् । यो अभियान अन्तर्गत फाउन्डेसनले विकट जिल्लाका विद्यालयमा न्यानो कपडा वितरण गर्ने लक्ष्य राखेको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सहयोगीलाई जानकारी दिएकी थिइन्, “अर्को महिनाबाट हामी ‘जाडोमा न्यानो कपडा’ अभियान बोकेर विकट जिल्लाका विद्यालयहरूमा आउँदै छौँ । तपाईंहरू शिक्षक/शिक्षिका ज्यूहरूले आफ्नो विद्यालयको नाम/विद्यार्थी सङ्ख्या हाम्रो फाउन्डेसनको ईमेल [email protected] मा पठाउन सक्नु हुनेछ भने हामीलाई सहयोग गर्न चाहनु हुनेले ashikafoundation.org हाम्रो वेबसाइटमा गएर सहयोग पुराउन सक्नु हुनेछ ।” उनले फाउन्डेसनको पारदर्शिता कायम गर्न सम्पूर्ण जानकारी वेबसाइटबाटै हेर्न मिल्ने व्यवस्था मिलाउँदै गरेको समेत बताएकी थिइन् ।
सहयोगको आह्वानपछि दाताहरूले रकम पठाउन थाले । सोमबार तामाङले न्यूनतम १ रुपैयाँ पनि फाउन्डेसनलाई दान गर्न सकिने भएकाले सहयोग गर्न सकिने भन्दै अर्को पोस्ट राखेकी थिइन् । त्यसलगत्तै दाताबाट रकम पठाउँदा त्रुटि हुन थाल्यो ।
पहिलो घटनामा एक व्यक्तिले सात रुपैयाँ दान गर्न खोज्दा झुक्किएर सात हजार रुपैयाँ ट्रान्सफर गरे । उक्त रकम पछि ती व्यक्तिले फिर्ता माग्न थालेपछि तामाङले संस्थागत नियमबारे स्पष्टीकरण दिइन् । उनले लेखेकी थिइन्, “एक जनाले ७ रुपैयाँ डोनेसन गर्न खोज्दा ७ हजार रुपैयाँ झुक्किएर ट्रान्सफर भएछ, उहाँले रकम फिर्ता माग्नु भएको रहेछ । सबैलाई विनम्र अनुरोध गर्न के गर्न चाहन्छु भने यो संस्था हो, यसमा आएको रकम मैले स्वेच्छाले चलाउन मिल्दैन र फिर्ता गर्न सबै प्रकिया पुर्याएर मात्र हुन्छ !”
तामाङले संस्थाको रकम निकाल्ने प्रक्रिया जटिल हुने बताएकी छिन् । उनका अनुसार मोबाइल बैंकिङबाट रकम चलाउन मिल्दैन, जम्मा रकम केवल हेर्न मात्र मिल्छ । खाताबाट रकम निकाल्न कोषको प्रयोजनका लागि सात जना संस्थाका सदस्यसँग सल्लाह र सहमति आवश्यक पर्छ । त्यसपछि कोषाध्यक्ष र अध्यक्षको दुई जनाको हस्ताक्षर भएको चेकको माध्यमबाट मात्र उक्त रकम निकाल्न मिल्ने हुँदा उनले रकम पठाउँदा ध्यान दिन आग्रह गरेकी थिइन् । उनले थप लेखेकी थिइन्, “कृपया तपाईंहरूले डोनेसन ट्रान्सफर गर्नुअघि राम्ररी चेक गरेर मात्र गर्नुहोला धन्यवाद ।”
तर यो आग्रह गरेलगत्तै अर्का एक व्यक्तिले पनि झुक्किएर ठुलो रकम पठाए । उनले ५५ हजार ५०० रुपैयाँ पठाएपछि र रक्त रकम फिर्ता गरिदिन आग्रह गरेपछि तामाङले फेरि सामाजिक सञ्जालमा पोस्ट गरिन् । उनले पछिल्लो पोस्टमा लेखेकी छिन्, “आज फेरि एक जनाले झुक्किएर ५५,५०० रुपैयाँ पठाउनु भएछ, अनि अहिले रिफन्ड गरिदिनु पर्यो भनेर मेसेज आको छ ! मैले बैंकमा निवेदन दिइसकेको छु फिर्ता गरिदिनुस् भनेर आज दिन भरमा हिजोको ७,००० रुपैयाँ र आजको ५५,५०० फिर्ता हुने कुरा बैंकबाट जानकारी पाको छु !”
तामाङले सहयोगी दातालाई संयमित हुन र रकम पठाउँदा विशेष ध्यान दिन आग्रह गर्दै भनिन्, “कृपया एक छिन ढिलो भएर केही हुँदैन, राम्रो सँग खाता नम्बर चेक गरेर मात्र डोनेसन गर्नु होला !”
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १२:३२
